२७ जेठ २०८३, बुधबार
प्रहरीमा छैन जनशक्ति

काठमाडौं परिसरमा जनशक्तिको चरम अभाव : २० लाख जनतालाई सेवा दिन ३ हजार प्रहरी

साउन २८, २०८२
काठमाडौं
काठमाडौं परिसरमा जनशक्तिको चरम अभाव : २० लाख जनतालाई सेवा दिन ३ हजार प्रहरी

पछिल्लो जनगणना २०७८ अनुसार काठमाडौंको जनसंख्या २० लाख १७ हजार पाँच सय ३२ छ । तर, यो जनसंख्यालाई शान्ति सुरक्षाको प्रत्याभूति गर्ने प्रहरीको संख्या जम्मा तीन हजार दुई सय ३९ मात्रै रहेको छ ।

औसतमा एक प्रहरीले ६ सय २२ जना सर्वसाधारणलाई सुरक्षा दिँदै आएका छन् । १० वर्षअघि परिसर (वृत्त, प्रभाग र बिट समेत)को कूल दरबन्दी तीन हजार एक रहेकोमा कार्यरत संख्या तीन हजार ५२ थियो ।

२०८२ सम्म आइपुग्दा दरबन्दी एक हजार १५ ले बढे पनि कार्यरत संख्या भने तीन हजार दुई सय ३९ मात्र रहेको छ । १० वर्षअघि र हाललाई तुलना गर्दा जम्मा दुई सय ३८ जना मात्रै बढी प्रहरी जनशक्तिले काम गरिरहेका छन् ।

१० वर्षअघि काठमाडौंको जनसंख्या, भौगोलिक बनावट, शहरीकरणको अवस्थालाई तुलना गर्दा अहिले स्थिति धेरै भयावह देखिन्छ ।

विशेषगरी, आर्थिक र विद्युतीय अपराध बढेको प्रहरी तथ्यांकले नै देखाउँछ ।

आर्थिक वर्ष २०८१/०८२ मा मात्रै प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी नायब निरीक्षक (सई)सम्मका दुई हजार चार सय ७८ जनाले राजीनामा दिएका थिए ।

त्यस्तै, इन्सपेक्टरसहित १८ जनाले अनिवार्य अवकाश पाइसकेका छन् । यो दरबन्दी समेत हालसम्म पूर्ति हुन सकेको छैन ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी विश्व अधिकारीले बुधबार वार्षिक कार्यप्रगति सार्वजनिक गर्दै परिसरको दरबन्दी चार हजार १६ रहेको बताए । तर, कार्यरत जनशक्ति भने जम्मा तीन हजार दुई सय ३९ मात्रै छन् । यसमा पनि झण्डै ४० प्रतिशत जनशक्ति आन्तरिक प्रशासन, मुद्दा अभियोजनलगायत काममा खटिन्छन् । फिल्डमा जम्मा ६० प्रतिशत मात्रै खटिने हुन् ।

null

अचम्मको कुरा त, महानगरीय अवधारणाअनुसार परिसर स्थापना हुँदा ४६ वटा कन्ट्रोल रुम भेइकल (सीआरभी) सञ्चालनमा थिए ।

अहिले सीआरभी घटेर ३८ वटा मात्रै सञ्चालनमा छन् । अधिकारीका अनुसार हाल अनुगमन, पिकेट, प्रहरी चेकिङ, पैदल गस्ती, मोटरसाइकल गस्ती र मोबाइल/सीआरभी गरी ६ सय ५६ पटक सुरक्षाकर्मी ड्युटीमा खटिएका छन् । यसमा एक हजार तीन सय ६ जना सुरक्षाकर्मी परिचालित हुन्छन् ।

प्रहरी केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले काठमाडौं प्रहरी परिसरको दरबन्दी कम भएको बताए ।

उनले भने, ‘अहिलेको जनघनत्व र बढ्दो शहरीकरणसँगै नयाँ–नयाँ अपराधका घटना भइरहेका बेला काठमाडौं प्रहरीको दरबन्दी धेरै नै अपुग हो, तर हामीले रिजर्भ फोर्समा रहेका गण र गुल्मलाई समेत आवश्यक परेका बेला खटाउँदै आएका छौं ।’

एकीकृत सुरक्षा रणनीतिअनुसार ठूला विपदसँगै अन्य घटनामा एक युनिटका प्रहरी अर्को युनिटमा लगेर भएपनि खटाउँदै आएको जानकारी घिमिरेले दिए ।  

‘अहिले समग्र प्रहरी संगठनमा ५ हजार बढी दरबन्दी खाली छ । त्यो पूर्तिका लागि गृहमा प्रस्ताव गरिसकेका छौं,’ घिमिरेले भने, ‘सीमित स्रोतसाधनका बावजुद प्रहरीले काम गर्नुपरेको यथार्थ हो ।’

१०० मा चार लाख २८ हजार कल

आर्थिक वर्ष २०८१/०८२ मा प्रहरीको १०० नम्बरमा कुल चार लाख २८ हजार ९६ वटा कल आएका थिए । सबैभन्दा बढी २९ हजार १४८ कल झै–झगडालाई लिएर आएको थियो । त्यसपछि आपसी विवादलाई लिएर २७ हजार ९६८, सवारी दुर्घटनालाई लिएर १३ हजार ६६८, चोरीसम्बन्धी ६ हजार ६५८, कुटपिटसम्बन्धी ५ हजार १११, घरेलु हिंसालाई लिएर चार हजार ५४५, मादक पदार्थ खाएर हो हल्ला गरेको विषयलाई लिएर चार हजार ३४४, आगलागीलाई लिएर दुई हजार ७२२, मानिस हराएकासम्बन्धी एक हजार ६५९, यौनजन्य दुर्व्यवहारलाई लिएर एक हजार ४२१, जुवातासलाई लिएर एक हजार २१६ र लागुऔषधलाई लिएर एक हजार १९२ वटा कल आएको एसएसपी विश्व अधिकारीले बताए । यी मुख्य–मुख्य घटनाका कलहरू मात्रै उल्लेख गरिएको जानकारी उनले दिए । औसतमा दिनमा १०० मा एक हजार १७२ वटा कल आउने गरेको देखिन्छ । यी स्थानमा प्रहरी खटाउन समेत हम्मेहम्मेको स्थिति रहेको परिसरले जनाएको छ ।

धर्ना, विरोध प्रदर्शन र र्‍यालीमै प्रहरी बढी खर्च

आर्थिक वर्ष २०८१/०८२ मा काठमाडौंमा धर्ना, विरोध र्‍याली, विरोध प्रदर्शन, तालाबन्दी र अन्य प्रदर्शन गरी एक हजार १८ वटा कार्यक्रम भएका थिए ।

यी कार्यक्रममा मात्रै पटक–पटक गरी सुरक्षाकर्मी खटिएको संख्या (दोहोरिएको गणना गर्दा पनि) तीन लाख ८६ हजार ९४० रहेको जानकारी एसएसपी अधिकारीले दिए ।

‘हरेक प्रदर्शनमा प्रहरीको उपस्थिति अनिवार्यजस्तै हो । शान्ति सुरक्षा दिनैपर्‍यो,’ अधिकारीले भने, ‘तर, अपुग जनशक्तिका कारण धेरै सुरक्षाकर्मी विरोध प्रदर्शनमै खटाउनुपर्ने बाध्यता छ ।’

salt training

कमेन्ट गर्नुहोस्