
समय परिवर्तनशील छ । समाजले आफू अनुकूल बनाएका मानक पनि । अनूकूलतको मानकमा स्वार्थ लुक्छन् । त्यसैले त परापूर्वकालदेखि समाजको स्वार्थ लुकेका केही मानक, चलन र मानसिकता सयौं शताब्दी बितिसक्दा पनि उस्तै छन् । पृथ्वीको भूगोल परिवर्तन भएर सुपरकन्टिनेन्टको युग पर्मियन, जुरासिक, क्रेटासियस हुँदै हालको अवस्थासम्म आइपुग्यो । समाजले महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भयो । तर,परिवर्तन द्वैध चरित्रमा अल्झिरहेछ ।
समाज मान्छेको झुण्डले बनायो । जसलाई अगाडि बढ्ने बाटो समय र सोचले दिन्छ । प्रगातिशील विचारधारा बोकेर समाज अगाडि हिँडेको पनि छ । तर, अझैपनि नयाँ सोच उहीँ पूरातन सोचको आधारस्तम्भमा ठड्याइन्छ । यसले जति नयाँपन ल्याउन खोजेपछि धरातललाई बिर्सनु हुन्न भन्ने भनाइ अनुशरण गर्दै महिला र पुरुषलाई फरक मानकमा चरित्रीकरण गरिरहन्छ अझै पनि ।
मानव सभ्यताको शुरूआतमा के थियो, कस्तो थियो कुन्नि ? सायद अभावमा भेदभाव थिएन ।
खाना, बास, कपास, भाषा, सबै कुराको अभाव र विकास हुँदै गरेको त्यो ढुंगे युगदेखि मानवसभ्यताको शुरूआत हुँदै गर्दा समाज पनि सायद कोक्रोको दुधे बालकझैं थियो, द्वैध चरित्र पक्कै थिएन ।
आदिकालमा समाज मातृसत्तात्मक रहेको मानिन्छ र त्यस समयमा महिलालाई पूजनीय मानिएको दृष्टान्तहरू उल्लेख्य पाइन्छन् । प्राचीन समयमा धार्मिक र सांस्कृतिक दृष्टिले महिलाहरूलाई सम्मानित भूमिकामा राखिएको भेटिन्छ ।
मध्यकालपछि महिलाको अवस्था खस्किँदै सामाजिक परम्परा र रूढिवाद, बाल विवाह, सती प्रथा जस्ता प्रथाहरूका कारण महिलाको अधिकार सीमित भएको पाइन्छ ।
प्राचीन इतिहासको समयक्रम हेर्दा ३००० बिसीपछि ब्रन्ज एज र आइरन एज हुँदै (८००–२००) बिसीको एक्जिएर एज आइपुग्दा फरक–फरक ठाउँमा फरक किसिमका परिवर्तनकारी दार्शनिक र धार्मिक धारणा एवं सिद्धान्तहरूको पनि उदय भइसकेको थियो । यसको अर्थ यस बेलासम्म समाजको चेतनास्तरको विकास भइसकेको थियो । यही समयताका बौद्ध, जैन, कन्फ्युसियस लगायतका चिन्तनको प्रदिपादन भएका थिए।
पछिल्लो समय सबैभन्दा उन्नत र समयानुकूल देखिएको साथै लैंगिक असमानता प्रष्ट रूपमा बाहिर नदेखिएको धर्म पनि यही होला सायद । तर दुर्भाग्य, कर्म सिद्धान्तमा आधारित बौद्ध दर्शनका प्रतिपादक सिद्धार्थ गौतम सुत्केरीलाई घरमा छाडेर राति घरबाट सटुक्क भागेको कथन पनि सुनी आएकै हो ।
एकजना भारतीय लेखकले कतै लेखेका थिए, महिला सधैं किन सीता हुन्छन् किन बुद्ध हुँदैनन् ? प्रश्न सोध्ने पनि पुरुष नै हुन् । त्यसैले उनले सोधे किनकि उनले महसुस गरेकै छैनन् स्त्री/महिला हुन कति सकस छ समाजमा ।
यदि बुद्ध एक पुरुष नभएर महिला भएको भए, एक मध्यरातमा आफ्नो श्रीमान् र सानो बच्चालाई सुतिरहेको अवस्थामा घर छोडेर हिँडेकी भए वर्षौंपछि उनको बुद्धत्वलाई स्वीकार्नु त अर्को कुरा त्यो रातपछिको बिहानै समाजले उनलाई दोषी घोषित गरिसक्थ्यो ।
प्रेमिसँग भागेको फैसला सुनाउँथ्यो समाज । कसैले मान्दैनथियो कि ऊ आफैंलाई खोज्न हिँडेकी थिई । बुद्ध बन्न हिँडेकी महिला वर्षौंपछि बुद्धत्व प्राप्त गरेर फर्किएपछि पनि ऊ महामानव बुद्ध बन्दिन सीता नै बन्छे । किनकि समाजले उसको चरित्रमा औंला उठाउँछ, अग्निपरीक्षा दिन लगाउँछ । यो समाजको यथार्थ हो ।
हाम्रा पुराण र धार्मिक ग्रन्थमा महिलाको चरित्रलाई चिरफार गरेर क्षमतालाई नजरअन्दाज गर्ने जुन सामाजिक वस्तुस्थिति झल्किन्छ त्यो अहिलेसम्म पनि कायम नै छ । समय परिवर्तनशील छ । तर, समाजको अड्डि छ घडीको सुइ समातेर उहीँ पितृसत्तामक समयमा बस्ने अडान कसेको छ । पुरुषलाई दिने जति ‘बेनिफिट अफ डाउट’ महिलालाई दिन सिकेको नै छैन ।
समाजमा प्रतिष्ठित कहलिएका पुरुषको चरित्र छताछुल्ल भएपनि ‘प्रमाण देऊ’ भनिन्छ । प्रतिष्ठा कमाएका व्यक्तिप्रति मेरो भ्रम थियो । उसले समाज बुझेको छ । पितृसत्ताभन्दा माथि उठेको छ । मलाई नमीठो लाग्यो, यो भ्रम तोडियो । तर, राम्रो भयो । खै, अझैपनि झसङ्ग भने हुन्छु, प्रतिष्ठित कहलिएकाको पर्दापछाडिको मुखुण्डो छताछुल्लो हुँदा । फेरि सोच्छु- त्यो पुरुष यही समाजको उत्पादन हो । जसले सोच्छ महिला केवल पुरुषका लागि भोग्या वस्तु हो । खै किन हो तर, प्रतिष्ठित व्यक्तिलाई समाज र लोकप्रियता आड दिन्छ क्या ! ऊ भित्रभित्रै स्त्रीद्वेषी मानसिकता बोकेर हिँडेको हुन्छ । पछिल्ला वर्षमा बाहिरिएका घटनाले यसलाई प्रस्ट पारेको छ ।
सामाजिक सञ्जाल समय समयमा तातिरहन्छ । कोही पीडित आफैंसँग हजारौं युद्ध जितेर आफैंलाई उठाएर बोल्छ । समाज प्रमाणमा अड्किन्छ । आरोप आरोपमै सीमित रहन्छन्, हल्ला मात्रै मानिन्छन् । महिलालाई त अरे हो रे, सामान्य चिया गफका आधारमा चरित्रहीन ठोकुवा गरिन्छ ।
समाजले अझै पनि महिलाको काम र क्षमता हेर्दैन । वा, पुरुषको अभिमानले महिलाको प्रगति हेर्न सक्दैन । पहिलो नम्बरमा उसको चरित्र हेरिन्छ । दोस्रोमा उसको परिवार हेरिन्छ, श्रीमान्ले के गर्छन् सोधिन्छ । कहीँ कतै केही अपवादबाहेक हाम्रो समाजको यथार्थ यही हो, समाजको चरित्र यही हो ।
महिला र पुरुषबीचको समानताका विषयमा अध्ययन गर्दा हाम्रो समाजको इतिहास र संस्कृतिलाई गहिरिएर हेर्दा हाम्रा धार्मिक ग्रन्थहरू र समाजका परम्पराहरूले धेरै हदसम्म महिलाका विषयमा द्वैध चरित्र देखाएको पाइन्छ । रामायणमा सीतालाई पवित्रताको प्रतीक मानिन्छ, तर उनी माथि सन्देह गरेर अग्निपरीक्षा दिन बाध्य पारिन्छ ।
सीताको बलिदान, त्याग र समर्पणलाई उच्च स्थान दिएता पनि उनको स्वाभिमान र स्वतन्त्रताका विषयमा कहिल्यै मनन् गरिएन । त्यस्तै, महाभारतमा द्रौपदीलाई बहुविवाह, चीरहरण र अपमानको सामना गर्नुपरेता पनि उनको न्याय खोज्ने साहसलाई सधैँ उपेक्षा गरिएको, अहिल्यालाई पतिव्रता महिलाको प्रतिमूर्ति भनिएता पनि समाजले उनलाई पत्थर बन्ने श्राप दिएर अलग गरेको उदाहरणहरूले देखाउँछन् कि हाम्रा पुरातन कथा र परम्पराहरूले महिलाको न्यायपूर्ण मूल्यांकन गर्ने भन्दा दोषारोपण गर्ने परिपाटी निर्माण गरेका छन् ।
पुराण र धार्मिक ग्रन्थहरूका धेरैजसो कथाहरूमा महिलालाई संस्कार, त्याग र पवित्रताको प्रतिमूर्ति बनाइएको देखिन्छ । तर, त्यही कथामा महिलाका निर्णय, स्वतन्त्रता र क्षमतालाई सधैं प्रश्नचिह्नको घेरामा राखिएको देखिन्छ । महिलालाई उनीहरूको व्यक्तिगत इच्छाभन्दा समाजले तोकेको भूमिकामा कैद गरिएको पाइन्छ ।
समाजको विकासक्रमको यति लामो समयसम्म पनि किन महिलाप्रति समाजको यो द्वैध चरित्र परिवर्तन हुन सकेको छैन ? हाम्रो परम्पराले नै पितृसत्ता बलियो बनाएको छ । पितृसत्तात्मक सोचलाई निरन्तरता दिएको छ । जसले महिलालाई सधैं अनुशासनमा राख्ने प्रयास गर्छ । पुरुषका गल्तीलाई सामान्यकरण गरिन्छ । महिलाको गल्तीलाई निन्दा गरिन्छ। महिला र पुरुष अधिकारका बारेमा पर्याप्त शिक्षा र चेतनाको अभावले अझै पनि महिला ‘पवित्रता’ र ‘कर्तव्य’को परिभाषामा मात्रै बाँधिदै आएका छन् ।
त्यस्तै, कानून र सामाजिक न्यायमा महिलाप्रति अघोषित पक्षपात पनि समानताको यात्रामा बाधक कारकका रूपमा देखिन्छन् । महिला हिंसाका मुद्दा, भेदभाव र अन्यायको सामना गर्दा न्याय पाउन महिलाले पुरुषभन्दा धेरै ठूलो संघर्ष गर्नुपर्ने, समाजले उनीहरूका आरोपलाई गम्भीरतापूर्वक नलिने गरेको तथ्य सर्वविविदै रहेको छ । महिलाका निर्णयलाई स्वतन्त्रताको रूपमा हेर्नेभन्दा पनि विद्रोहको रूपमा देखिन्छ । महिलाका क्षमतालाई अवमूल्यन गर्दै उनीहरूको भूमिकालाई सानो बनाइन्छ ।
यद्यपि, समय परिवर्तन भइरहेको छ । तर, परिवर्तनको गति सुस्त छ । अहिलेको समाजले पनि महिला र पुरुषलाई समान दृष्टिकोणले पूर्ण रूपमा हेर्न सिकेको छैन । महिला अधिकार र समानताका लागि गरिएको पहलले केही सकारात्मक प्रभाव पारे पनि गहिरो रूपमा गाडिएको पितृसत्तात्मक सोचलाई उन्मूलन गर्न धेरै काम गर्न बाँकी छ ।
समकालीन नेपाली समाज महिला समानताको दिशातिर उन्मुख हुँदैछ । सकरात्मक पहल भइरहेका छन् । संविधानले राजनीतिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । शिक्षा र रोजगारीमा महिला सहभागिता बढिरहेको छ । हिंसा र विभेदका सन्दर्भमा कानूनी सुधार भइरहेका छन् तर अझै चुनौती छन् ।
महिला समानताको विषय कुनै एउटा युगको मात्र मुद्दा नभइ यो समाजको विकास र न्यायको मापन गर्ने तरिका पनि हो । परापूर्वकालदेखि हालसम्म महिलाहरूले धेरै परिवर्तन देखेका छन् । तर, पूर्ण समानताको लक्ष्य प्राप्तिको यात्रालाई अन्तिम लक्ष्यसम्म पुर्याउन अझै लामो दूरी तय गर्नै बाँकी छ । परिवर्तनका लागि समय लाग्ला, तर यो सम्भव छ त्यसका लागि चर्चा र चिन्तनबाहेक व्यावहारिक सुधार आवश्यक हुन्छ ।
महिलाको स्वायत्तता स्वीकार गर्ने सोचको विकास गर्दै महिलाले आफ्नो जीवनका निर्णय स्वतन्त्र रूपमा गर्न सकून् भन्ने मान्यता स्थापित गर्दै जानुपर्छ । पितृसत्तात्मक सोच हटाउन बालबालिकाबाट शुरूआत गर्न सकिन्छ, उनीहरूमाझ समानता र न्यायको बीउ रोपेर हुर्काउन जरुरी हुन्छ ।
हाम्रो समाज धार्मिक मान्यतालाई आलोचनात्मक चेतबाट विश्लेषण गरेर समानताका नयाँ दृष्टान्त बनाउने, महिला नेतृत्वलाई सशक्त बनाउने, आर्थिक परनिर्भरता हटाउने लगायतका वर्तमान चुनौती छिचोल्दै अगाडि बढ्नुपर्ने छ ।