०२ साउन २०८३, शनिबार
विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव

ऊर्जा निर्यातको युगमा नेपाल, वार्षिक साढे १७ अर्बको बिजुली बिक्री– कार्यकारी निर्देशक शाक्य

भदौ १, २०८२
काठमाडौं
ऊर्जा निर्यातको युगमा नेपाल, वार्षिक साढे १७ अर्बको बिजुली बिक्री– कार्यकारी निर्देशक शाक्य

नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवका अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुभकामना जारी गर्दै नेपाल ऊर्जा निर्यातको युगमा प्रवेश गरेको बताएका छन् ।

एक समय दैनिक १८ घण्टासम्मको लोडसेडिङको मारमा परेको नेपालले ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को मारेको र स्थापनाको ४०औं वर्षगाँठ मनाइरहँदा नेपाल विद्युत प्राधिकरण लोडसेडिङको अन्धकार युगलाई पूर्णविराम लगाउँदै देशलाई खुद विद्युत निर्यातकर्ताको रूपमा स्थापित गर्न सफल भएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले भारततर्फ साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत निर्यात गरेको छ भने यही वर्षदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात सुरु गरी सीमापार व्यापारमा नयाँ अध्याय थपेको छ ।

प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा जारी प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा नेपालले भारततर्फ २ हजार ३८० गिगावाट घण्टा विद्युत निर्यात गर्दा १ हजार ७१२ गिगावाट घण्टा मात्रै आयात गरेको छ ।

यससँगै नेपालले ६६८ गिगावाट घण्टा खुद विद्युत निर्यात गरी ऊर्जामा आत्मनिर्भरताको यात्रामा महत्त्वपूर्ण कोशेढुंगा पार गरेको छ । विद्युत निर्यातबाट मात्रै प्राधिकरणले १७ अर्ब ४७ करोड आम्दानी गरेको छ, जसले देशको व्यापार घाटा न्यूनीकरणमा समेत मद्दत पुगेको छ ।

वित्तीय अवस्थामा सुधार,तर नाफामा संकुचन

विगत केही वर्षदेखि लगातार नाफामा गइरहेको प्राधिकरणले गत आर्थिक वर्षमा पनि नाफाको यात्रालाई निरन्तरता दिएको छ ।

विद्युत बिक्री र अन्य स्रोतबाट गरी प्राधिकरणले कुल १ खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको छ । कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड कटाउँदा प्राधिकरणले करअघि ९ अर्ब ६ करोड ७० लाख नाफा आर्जन गरेको छ ।

यद्यपि, यो नाफा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३७ दशमलव ३२ प्रतिशतले कम हो । सञ्चालन खर्चमा भएको वृद्धि र अन्य कारणले नाफामा केही संकुचन देखिए पनि समग्रमा संस्थाको वित्तीय स्वास्थ्य सन्तोषजनक रहेको देखिन्छ ।

बढ्यो जडित क्षमता र आन्तरिक खपत

आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा नेपालको कुल विद्युत जडित क्षमता ३ हजार ५९१ मेगावाट पुगेको छ । यसमा प्राधिकरण तथा यसका सहायक कम्पनीको ३४ प्रतिशत, निजी क्षेत्रका स्वतन्त्र ऊर्जा उत्पादकहरूको ५५ प्रतिशत र बाँकी ११ प्रतिशत भारतबाट आयात गरिएको विद्युतको योगदान छ ।

निजी क्षेत्रको बढ्दो संलग्नताले ऊर्जा उत्पादनमा ठूलो सहयोग पुगेको छ । हालसम्म २०४ वटा निजी आयोजनाबाट २ हजार ९२९ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

आन्तरिक विद्युत खपत पनि १० दशमलव ७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ । प्रतिव्यक्ति वार्षिक विद्युत खपत ४२० युनिटबाट बढेर ४६५ युनिट पुगेको छ, जसले नेपालीको जीवनस्तर र आर्थिक गतिविधिमा ऊर्जाको पहुँच बढेको संकेत गर्दछ ।

२०८२ असार १८ गते प्रणालीमा हालसम्मकै उच्च २ हजार ९०१ मेगावाट विद्युत माग रेकर्ड भएको थियो, जसको व्यवस्थापन गर्न प्राधिकरण सफल भयो । राष्ट्रिय ग्रिडको पहुँच करिब ९८ प्रतिशत पुग्नु अर्को महत्त्वपूर्ण उपलब्धि हो ।

पूर्वाधार विस्तारमा फड्को

विद्युत प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउन प्राधिकरणले प्रसारण तथा वितरण पूर्वाधारमा उल्लेख्य लगानी गरेको छ ।

गत वर्ष मात्रै २५३ सर्किट किलोमिटर प्रसारण लाइन थपिएसँगै कुल प्रसारण लाइनको लम्बाइ ६ हजार ७६० सर्किट कि.मि. पुगेको छ ।

खिम्ती-बाह्रबिसे ४०० केभी, चिलिमे-त्रिशूली २२० के.भी. जस्ता रणनीतिक महत्त्वका प्रसारण लाइन सम्पन्न भएका छन् । यसैगरी, १ हजार ०७३ एमभिए क्षमताका सबस्टेसन थपिएका छन् । वितरण प्रणालीतर्फ पनि ९ हजार ३३६ सर्किट किलोमिटर लाइन र ३ हजार १५१ वटा ट्रान्सफर्मर थप गरी सेवा सुदृढ गरिएको शाक्यले जनाएका छन् ।

भविष्यको महत्त्वाकांक्षी योजना

प्राधिकरणले आगामी दिनका लागि झनै महत्त्वाकांक्षी योजनाहरू अघि सारेको छ । दूधकोशी (६७० मेवा), उत्तरगंगा (८२८ मेवा), माथिल्लो अरुण (१०६३ मे.वा.) र कर्णाली चिसापानी (१० हजार ८०० मेवा) जस्ता जलाशययुक्त र अर्ध-जलाशययुक्त आयोजना निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

सीमापार विद्युत व्यापारलाई नयाँ उचाइमा पुर्‍याउन भारततर्फ इनरुवा-न्यूपूर्णिया र चीनतर्फ चिलिमे-रसुवागढी-केरुङ ४०० केभी प्रसारण लाइन निर्माण अघि बढाइनेछ ।

यी पूर्वाधारले २०३५ सम्म १५ हजार ००० मेगावाट विद्युत निर्यात गर्ने राष्ट्रिय लक्ष्य र भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापार गर्ने प्रतिबद्धता पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।

कार्यकारी निर्देशक शाक्यका अनुसार संस्था अब देशभर पूर्ण विद्युतीकरण, स्मार्ट मिटरिङको विस्तार र चार्जिङ स्टेसन जस्ता पूर्वाधार निर्माणमार्फत आन्तरिक खपत बढाउन केन्द्रित हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्