
नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवका अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुभकामना जारी गर्दै नेपाल ऊर्जा निर्यातको युगमा प्रवेश गरेको बताएका छन् ।
एक समय दैनिक १८ घण्टासम्मको लोडसेडिङको मारमा परेको नेपालले ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को मारेको र स्थापनाको ४०औं वर्षगाँठ मनाइरहँदा नेपाल विद्युत प्राधिकरण लोडसेडिङको अन्धकार युगलाई पूर्णविराम लगाउँदै देशलाई खुद विद्युत निर्यातकर्ताको रूपमा स्थापित गर्न सफल भएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले भारततर्फ साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत निर्यात गरेको छ भने यही वर्षदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात सुरु गरी सीमापार व्यापारमा नयाँ अध्याय थपेको छ ।
प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा जारी प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा नेपालले भारततर्फ २ हजार ३८० गिगावाट घण्टा विद्युत निर्यात गर्दा १ हजार ७१२ गिगावाट घण्टा मात्रै आयात गरेको छ ।
यससँगै नेपालले ६६८ गिगावाट घण्टा खुद विद्युत निर्यात गरी ऊर्जामा आत्मनिर्भरताको यात्रामा महत्त्वपूर्ण कोशेढुंगा पार गरेको छ । विद्युत निर्यातबाट मात्रै प्राधिकरणले १७ अर्ब ४७ करोड आम्दानी गरेको छ, जसले देशको व्यापार घाटा न्यूनीकरणमा समेत मद्दत पुगेको छ ।
वित्तीय अवस्थामा सुधार,तर नाफामा संकुचन
विगत केही वर्षदेखि लगातार नाफामा गइरहेको प्राधिकरणले गत आर्थिक वर्षमा पनि नाफाको यात्रालाई निरन्तरता दिएको छ ।
विद्युत बिक्री र अन्य स्रोतबाट गरी प्राधिकरणले कुल १ खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको छ । कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड कटाउँदा प्राधिकरणले करअघि ९ अर्ब ६ करोड ७० लाख नाफा आर्जन गरेको छ ।
यद्यपि, यो नाफा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३७ दशमलव ३२ प्रतिशतले कम हो । सञ्चालन खर्चमा भएको वृद्धि र अन्य कारणले नाफामा केही संकुचन देखिए पनि समग्रमा संस्थाको वित्तीय स्वास्थ्य सन्तोषजनक रहेको देखिन्छ ।
बढ्यो जडित क्षमता र आन्तरिक खपत
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा नेपालको कुल विद्युत जडित क्षमता ३ हजार ५९१ मेगावाट पुगेको छ । यसमा प्राधिकरण तथा यसका सहायक कम्पनीको ३४ प्रतिशत, निजी क्षेत्रका स्वतन्त्र ऊर्जा उत्पादकहरूको ५५ प्रतिशत र बाँकी ११ प्रतिशत भारतबाट आयात गरिएको विद्युतको योगदान छ ।
निजी क्षेत्रको बढ्दो संलग्नताले ऊर्जा उत्पादनमा ठूलो सहयोग पुगेको छ । हालसम्म २०४ वटा निजी आयोजनाबाट २ हजार ९२९ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।
आन्तरिक विद्युत खपत पनि १० दशमलव ७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ । प्रतिव्यक्ति वार्षिक विद्युत खपत ४२० युनिटबाट बढेर ४६५ युनिट पुगेको छ, जसले नेपालीको जीवनस्तर र आर्थिक गतिविधिमा ऊर्जाको पहुँच बढेको संकेत गर्दछ ।
२०८२ असार १८ गते प्रणालीमा हालसम्मकै उच्च २ हजार ९०१ मेगावाट विद्युत माग रेकर्ड भएको थियो, जसको व्यवस्थापन गर्न प्राधिकरण सफल भयो । राष्ट्रिय ग्रिडको पहुँच करिब ९८ प्रतिशत पुग्नु अर्को महत्त्वपूर्ण उपलब्धि हो ।
पूर्वाधार विस्तारमा फड्को
विद्युत प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउन प्राधिकरणले प्रसारण तथा वितरण पूर्वाधारमा उल्लेख्य लगानी गरेको छ ।
गत वर्ष मात्रै २५३ सर्किट किलोमिटर प्रसारण लाइन थपिएसँगै कुल प्रसारण लाइनको लम्बाइ ६ हजार ७६० सर्किट कि.मि. पुगेको छ ।
खिम्ती-बाह्रबिसे ४०० केभी, चिलिमे-त्रिशूली २२० के.भी. जस्ता रणनीतिक महत्त्वका प्रसारण लाइन सम्पन्न भएका छन् । यसैगरी, १ हजार ०७३ एमभिए क्षमताका सबस्टेसन थपिएका छन् । वितरण प्रणालीतर्फ पनि ९ हजार ३३६ सर्किट किलोमिटर लाइन र ३ हजार १५१ वटा ट्रान्सफर्मर थप गरी सेवा सुदृढ गरिएको शाक्यले जनाएका छन् ।
भविष्यको महत्त्वाकांक्षी योजना
प्राधिकरणले आगामी दिनका लागि झनै महत्त्वाकांक्षी योजनाहरू अघि सारेको छ । दूधकोशी (६७० मेवा), उत्तरगंगा (८२८ मेवा), माथिल्लो अरुण (१०६३ मे.वा.) र कर्णाली चिसापानी (१० हजार ८०० मेवा) जस्ता जलाशययुक्त र अर्ध-जलाशययुक्त आयोजना निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
सीमापार विद्युत व्यापारलाई नयाँ उचाइमा पुर्याउन भारततर्फ इनरुवा-न्यूपूर्णिया र चीनतर्फ चिलिमे-रसुवागढी-केरुङ ४०० केभी प्रसारण लाइन निर्माण अघि बढाइनेछ ।
यी पूर्वाधारले २०३५ सम्म १५ हजार ००० मेगावाट विद्युत निर्यात गर्ने राष्ट्रिय लक्ष्य र भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापार गर्ने प्रतिबद्धता पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।
कार्यकारी निर्देशक शाक्यका अनुसार संस्था अब देशभर पूर्ण विद्युतीकरण, स्मार्ट मिटरिङको विस्तार र चार्जिङ स्टेसन जस्ता पूर्वाधार निर्माणमार्फत आन्तरिक खपत बढाउन केन्द्रित हुनेछ ।