
स्थानीय तहको आ-आफ्नो छुट्टै कवाडी कर व्यवस्थाले व्यवसायीमात्रै नभएर सर्वसाधारण समेत समस्यामा पर्न थालेका छन् । दोहोरो करको प्रावधान हटाइए पनि आफूहरू दोहोरो तेहरो करको चपेटामा परेको उनीहरूको भनाइ छ ।
स्थानीय सरकारले अर्को प्रदेश अथवा संघद्वारा बनाइएको कानूनसँग नबाझिने गरी कानून बनाउनुपर्ने उल्लेख छ । तर, अहिले हरेक स्थानीय तहले आ-आफ्नो छुट्टाछुट्टै करको व्यवस्था गरेका छन् ।
जसले गर्दा एउटै वस्तुको कर व्यवसायी तथा सर्वसाधारणहरूले पटक-पटक फरक-फरक स्थानमा तिर्नु परिरहेको छ ।
***
गत असार २९ गते काठमाडौंको शंखमूलमा बस्दै आएका सिराज पन्त आफ्नो कोठा सारेर कीर्तिपुरतर्फ लागे । कीर्तिपुरतर्फ लाग्दै गर्दा उनलाई सीता पेट्रोल पम्प अगाडि कवाडी कर सङ्कलन गर्नेहरूले रोके । उनलाई कर तिर्नका लागि भनियो । घरको सामान सार्नका लागि पनि किन र कसरी कर तिर्नुपर्छ भन्दै चर्काचर्की भयो । जसरी पनि कर तिर्नुपर्ने भएपछि पन्तले प्रहरीमा जाने तर कर नतिर्ने अडान लिए । अन्ततः ३ सय रुपैयाँ तिरेर उनी त्यहाँबाट आफ्नो गन्तव्यतर्फ लागे ।
उनले आफ्नो दु:ख सामाजिक सञ्जालमा समेत पोखे । तर कुनै पनि निकायबाट केही नभएको उनी बताउँछन् । ‘कवाडी सामानको कर भनेर मेरो सम्पत्तिको कर लिन मिल्दैन । मैले त्यही अडान लिएर झगडा समेत गरेँ । त्यसमा पनि जबरजस्ती नै गर्न खोजिरहेका थिए,' पन्तले सुनाए, ‘७०० रुपैयाँ तिर्नुपर्छ भन्दै थिए । तर अन्तिममा ३०० तिर्न लगाएर जान दिए । यसरी कर लिन मिल्छ?’
***
काठमाडौंको सिनामंगलमा आइसक्रिम बिक्री गर्दै आइरहेको ‘आर्टिक इन्टरनेशनल नेपाल प्रालि’ले भारतबाट आइसक्रिम ल्याउने गर्छ । भारतबाट आइसक्रिम ल्याउनका लागि कम्पनीले प्लास्टिक क्यारेटहरू प्रयोग गर्ने गर्दछ । आर्टिकले भारतबाट आइसक्रिम ल्याउनका लागि नेपालबाटै प्लास्टिक क्यारेट पुन: प्रयोग गर्दै आएको छ ।
पुन: प्रयोगका लागि लगिने क्यारेटहरूको हरेक स्थानीय तहमा कर तिर्दा-तिर्दा हैरान भइसकेको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार काठमाडौंदेखि भन्सार कार्यालयसम्म पुन: प्रयोग गरिने क्यारेटहरूका लागि बाटो बाटोमा कवाडी कर असुलिँदै आएको छ ।
क्यारेटहरू कम्पनीको सम्पत्ति भए पनि आफ्नो कम्पनीको सम्पत्तिलाई कवाडी हो भनेर आर एन्ड आर मालेभर ट्रेड कम्पनीले कानूनविपरीत कर असुली गरेको कम्पनीले जनाएको छ ।
यस विषयमा कम्पनीले धादिङको धुनिवेशी नगरपालिकालाई पटक-पटक पत्राचार गरेको छ । तर त्यसको कुनै निचोड निस्किन सकेको छैन ।
***
काठमाडौंको पेप्सीकोलास्थित वरुण बेभरेज नेपालले पनि आफ्ना रिसाइकल गर्ने बोतलहरूमा पनि कवाडी कर तिर्दै आइरहेको छ । पेय पदार्थका लागि वरुण बेभरेजले प्रयोग गर्ने बोतल र क्यारेटहरूमा पनि विभिन्न स्थानीय तहमा कवाडी कर लगाएर दु:ख दिइँदै आएको कम्पनीको भनाइ छ ।
वरुणले आफ्नो प्रोडक्टहरूमा प्रयोग गर्ने बोतलहरू भारतबाट नै ल्याउने गरेको छ । यसका साथै नेपालबाट पनि खाली बोतल र क्यारेट भारत पठाउने गरेको छ । 'भन्सारमा छुट्टै कर तिर्नुपर्छ, भन्सार बाहेक पनि विभिन्न स्थानीय तहमा कवाडी कर लगाएर दु:ख दिने काम भइरहेको छ,' कम्पनीले भनेको छ ।
***
माथि प्रस्तुत गरिएका केही प्रतिनिधि उदाहरण मात्रै हुन् । पछिल्लो समय स्थानीय तहहरूले कवाडी करका नाममा सर्वसाधारणहरूलाई पनि दु:ख दिने गरेको गुनासो बढिरहेको छ ।
कवाडी करमा पनि पुन: प्रयोग हुने सामानहरू र कवाडी सामानहरूमा छुट्टाछुट्टै व्यवस्था गरिएको छ । जसमा कुनै पनि स्थानीय तहको एक मत देखिएको छैन ।
कवाडी व्यवसायीहरूले पनि बारम्बार यसरी सम्झौताविपरीत कर असुल हुँदै आइरहेको विषयमा विरोध जनाउँदै आएको छ । तर यो विषय समाधानतर्फ अगाडि बढेको छैन ।