२९ असार २०८३, सोमबार
सेवा दिन शहर छिरे पालिका

बसाइँसराइको ‘साइड इफेक्ट’: नागरिक खोज्दै बुटवलदेखि काठमाडौंसम्म स्थानीय सरकार

भदौ २, २०८२
काठमाडौं
बसाइँसराइको ‘साइड इफेक्ट’: नागरिक खोज्दै बुटवलदेखि काठमाडौंसम्म स्थानीय सरकार

गुल्मीको छत्रकोट गाउँपालिका– ४ की अम्बिका भण्डारी काठमाडौंमा बस्छिन् ।

अपांगता भएकाहरूको हेरचाह गर्ने आश्रममा बस्दै आएकी ४० वर्षीया अम्बिकाले यो वर्षायाममा गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ताका लागि ‘बायोमेट्रिक’ गर्न सम्भव देखेकी थिइनन् ।

‘क’ वर्गको अपांगता भएकी उनलाई गाउँपालिकाका जनप्रतिनिधि काठमाडौंमै आएर सेवा दिए । गाउँ पुगेर गर्नुपर्ने बायोमेट्रिक काठमाडौंमै गर्न पाएपछि उनी खुसी भइन् ।

‘गाउँ जान सहज थिएन, अध्यक्ष, उपाध्यक्ष र कर्मचारी आएर काठमाडौंमा शिविर राखेपछि त्यहीँबाट नवीकरण गरेर सेवा लिएँ । धेरै खुशी लागेको छ । जनप्रतिनिधिले राम्रो काम गर्नुभयो,’ उनले भनिन् ।

छोराबुहारीसँग भैरहवामा बस्दै आएकी छत्रकोट– ४ कै लालकुमारी ज्ञवाली पनि योपटक वृद्धभत्ता नवीकरण बुटवलमै गर्न पाएकोमा खुशी छिन् ।

९० वर्षकी लालकुमारीको सहारा सामाजिक सुरक्षा भत्ता योपटक गाउँ गएर कसरी नवीकरण गर्ने भन्ने ठूलो चिन्ता थियो । गाउँको टोलीले बुटवलमा शिविर राखेपछि उनलाई सहज भएको हो ।   

छत्रकोट गाउँपालिकाका अधिकांश वृद्धवृद्धा र अपांगता भएका व्यक्तिहरू रूपन्देहीका विभिन्न ठाउँमा बस्छन् । उनीहरूले सामाजिक सुरक्षा भत्ता भने पालिकाका विभिन्न वडा कार्यालयमार्फत बुझ्ने गरेका छन् ।

null

बैंकिङ प्रक्रियाबाट सुरक्षा भत्ता जहाँ बसेको हो, त्यहीँबाट निकाल्न पाइन्छ । सरकारले यो वर्षदेखि सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र र बायोमेट्रिक अनिवार्य गरेको छ ।

केहीले जिल्ला प्रशासनबाट परिचयपत्र बनाए पनि अधिकांशको बायोमेट्रिक नभएपछि ल्यापटप लगायतका सामग्री लिएर सेवाग्राहीलाई सेवा दिन बुटवल र काठमाडौंसम्म पुगेर पालिकाले सेवा दिएका छन् । काठमाडौंको मध्यबानेश्वर र बुटवलमा दुई दिन कर्मचारीसहितको टोलीले सेवा दिएका हुन् ।

गाउँपालिकाका उपाध्यक्ष सावित्रा ज्ञवालीले साउन तेस्रो साता काठमाडौंमा ७१ जना र बुटवलमा २१७ जनालाई सेवा दिएको जानकारी दिइन् ।

‘अध्यक्ष रामप्रसाद पाण्डेज्यू र म अन्य आवश्यक कर्मचारीलाई लिएर काठमाडौं गएका थियौं,’ उपाध्यक्ष ज्ञवालीले भनिन्, ‘स्थानीय रूपमा बसाइँसराइ नगरेका परिवार र आफन्तसँग तराई तथा काठमाडौंमा बस्ने जेष्ठ नागरिक, अपांगता भएका र अशक्त पालिकाबासीलाई लक्षित गरी सेवाग्राही खोज्दै शहरमा गएका हौं ।’

null

पालिकामा बसाइँसराइ तीव्र हुँदा गाउँ शून्य हुन थालेका छन् । यसलाई रोक्न राज्यले पहल गर्न आवश्यक रहेको उनी बताउँछिन् । गाउँ–गाउँमा मोटरबाटो पुगे पनि बर्खा शुरू भएपछि अहिले कच्ची बाटोमा गाडी जान गाह्रो छ । हिँड्न सक्नेलाई समेत पालिका–पालिकामा पुग्न दिनभरसम्म लाग्ने गर्छ ।

गुल्मीकै गुल्मी दरबार गाउँपालिकाले पनि पालिकाका सातवटै वडाका नागरिकलाई लक्षित गरी साउन २५, २६ र २७ गते तीन दिन बुटवलमा सेवा प्रदान गरेको छ, जसबाट २७५ जनालाई सेवा प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष तारादेवी ढेंगाले बताइन् ।

‘सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी बुटवल झरेका हौं,’ उपाध्यक्ष ढेंगाले भनिन् ।

null

गुल्मीको रुरुक्षेत्र गाउँपालिका– ५, बाट वडाअध्यक्षको नेतृत्वमा सचिव र प्राविधिकको टोली रुपन्देही आएर सेवा दिएको छ । रुरुक्षेत्र गाउँपालिका– ५ बम्घाबाट बसाइँसराइ गरी रुपन्देही र आसपासमा बसोबास गरिरहेका नागरिकका लागि तिलोत्तमामा विशेष प्रशासनिक सेवा शिविर सञ्चालन गरिएको वडाध्यक्ष हरि ज्ञवालीले जानकारी दिए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका– १, ड्राइभरटोलस्थित वडा कार्यालयमा आयोजित एकदिने शिविरमा जन्म, मृत्यु, नाता प्रमाणीकरण, सामाजिक सुरक्षा भत्ता नवीकरणलगायतका सेवा प्रदान गरिएको छ । शिविरबाट ७३ जना नागरिकले प्रत्यक्ष सेवा प्राप्त गरेका छन् ।

शिविर रुरुक्षेत्र गाउँपालिका– ५ को पहलमा, गुल्मी बम्घा–रुपन्देही सम्पर्क समाजको समन्वयमा र तिलोत्तमा नगरपालिका– १ को सहकार्यमा सञ्चालन गरिएको थियो ।

धेरै नागरिक रोजगार, पढाइ र व्यापारका सिलसिलामा शहरमै बस्न बाध्य भएको अवस्थामा सामान्य प्रशासनिक कामका लागि गाउँ जानुपर्ने बाध्यता हटाउन यो पहल गरिएको वडाध्यक्ष ज्ञवालीको भनाइ छ ।

गुल्मीको जनसंख्या बसाइँसराइले ऋणात्मक छ । बसाइँसराइले पहाडी जिल्ला खाली हुँदै गएकाले यसको रोकथाम प्रमुख चुनौतीका रूपमा रहेको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष ज्ञवालीको भनाइ छ ।

गुल्मीको धुर्कोट गाउँपालिकाका दुई सय बढीलाई साउन ३० र ३१ गते सेवा दिएको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताए । मालिका गाउँपालिकाले छिट्टै सेवा शिविर सञ्चालन गर्ने भनेर सूचना जारी गरेको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले जानकारी दिए ।

उनले दुई दिन बुटवल बसेर सेवा प्रदान गरिने बताए । गुल्मीका १२ वटा स्थानीय तह छन्, जसमध्ये अधिकांश पालिकाको बसाइँसराइको प्रमुख गन्तव्य रुपन्देही हो ।

रूरूक्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीले सेवाग्राहीको सहजताका लागि जनप्रतिनिधि र वडासचिवहरू शहरमा पुगेर सेवा दिएको बताए ।

null

अवसरको खोजी र सहज जीवनयापनका लागि भन्दै रूपन्देहीमा बसाइँसराइको लहर चल्दा जनसांखिकी भार चुलिएको छ । लुम्बिनी प्रदेशका ६ पहाडी जिल्लाबराबर जनसंख्या एक्लै रूपन्देहीको छ ।

लुम्बिनीका गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुमपूर्वको जनसंख्या लुम्बिनी प्रदेशको जनसंख्याको २३ प्रतिशत छ भने रूपन्देहीको एक्लै २२ प्रतिशत पुगेको छ । जिल्लाको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये सबैभन्दा बढी बसाइँसराइको चाप रहेको पालिकामा परेको छ ।

बुटवल उपमहानगरपालिकाको जनसंख्या १ लाख ९४ हजार हुँदा तिलोत्तमाको १ लाख ४९ हजार ४७९ पुगेको छ । अहिलेको जनसंख्या वृद्धिदर अनुसार नेपालको जनसंख्या ७८ वर्षमा दोब्बर हुने देखिन्छ भने तिलोत्तमाको जनसंख्या १८ वर्षमै दोब्बर हुने जनसंख्या वृद्धिदरको तथ्यांकले देखाएको छ ।

तिलोत्तमापछि बसाइँसराइ गरेर आउने दोस्रोमा बाँकेको कोहलपुर र तेस्रोमा बुटवल उपमहानगरपालिका पर्छन् । कोहलपुरको वार्षिक जनसंख्या वृद्धिदर ३.३६ प्रतिशत र बुटवलको ३.२७ प्रतिशत छ । स्थानीय तहअन्तर्गत २५० गाउँपालिकाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको अवस्थामा रूपन्देहीको कञ्चन गाउँपालिका देशकै सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको गाउँपालिकामा परेको छ । कञ्चनको जनसंख्या वृद्धिदर २.४१ प्रतिशत रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्