
गत डिसेम्बरमा पूर्वी जर्मनीको क्रिसमस बजारमा भएको घातक आक्रमणमा साउदी अरबका संदिग्ध व्यक्तिलाई हत्याको छ वटा र हत्याको प्रयासको ३३८ वटा अभियोग लगाइने अभियोजनकर्ताले बुधबार बताएका छन्।
अभियोग अनुसार ५० वर्षीय मनोचिकित्सक तालेब जवाद अल अब्दुलमोहसेनमाथि म्याग्डेबर्ग शहरको भीडभाड रहने क्षेत्रमा तीव्र गतिमा भाडाको ‘एसयुभी’ कार चलाएको र आतङ्क फैलाएको मुद्दा लगाइएको छ ।
छ जनाको मृत्यु हुनेगरी भएको आक्रमणको केही समयपछि अब्दुलमोहसेनलाई घटनास्थल नजिकैबाट पक्राउ गरिएको थियो । उक्त घटनामा दर्जनौँ घाइते भएका थिए।
सन् २००६ देखि जर्मनीमा बस्दै आएका अब्दुलमोहसेनले ‘सकेसम्म धेरै मानिसको हत्या’ गर्ने उद्देश्यसहित एक्लै आक्रमण गरेको अभियोजनकर्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूका अनुसार अभियुक्तले थुप्रै कानुनी कारबाहीको नतिजाप्रति ‘दुःख र निराशा’ का कारण यस्तो कदम चालेका प्रहरीसँग बताएका उल्लेख छ।
गत जनवरीमा तत्कालीन गृहमन्त्री न्यान्सी फेसरले अब्दुलमोहसेनको अनियमित व्यवहारले उक्त आक्रमणअघि कम्तीमा १०५ पटक कानून कार्यान्वयन गर्ने निकायको ध्यानाकर्षण भएको बताएका थिए ।
जर्मनीमा भएका यी आक्रमणहरूले आप्रवासनलाई राजनीतिक एजेन्डाको शीर्षस्थानमा उभ्याएको छ । यो मुद्दाले अति दक्षिणपन्थी ‘अल्टरनेटिभ फर जर्मनी (एएफडी)’ लाई २० प्रतिशतभन्दा बढीको अहिलेसम्मकै उत्कृष्ट नतिजामा पु¥याउन मद्दत गरेको थियो ।