
गएको साउन ३० गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित बसपार्कमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलायो ।
दुई राउन्ड गोली प्रहार गरेर नियन्त्रणमा लिइएका चार जनाबाट प्रहरीले जम्मा ६१.२१ ग्राम खैरो हेरोइन बरामद गर्यो ।
लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) र जिल्ला प्रहरी कार्यालय बाँकेले संयुक्त अपरेसन गरेर लागूऔषध कारोबारी भनिएका नेपालगञ्ज उपमहानगरपालिका– ५ का भाइजन अन्सारीको दायाँ खुट्टामा गोली हानेका थिए ।
उनीसँगै सोही ठाउँका अमन साह, भारतको बहराइज रूपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कात्तिक कुमारलाई प्रहरीले नियन्त्रणमा लियो ।
यो घटनाभन्दा अघि साउन २८ मा धनुषास्थित मिथिला नगरपालिका– २ मा प्रहरीले गोली चलाएर दुईजना लागूऔषध कारोबारीलाई समातेको थियो ।
धनुषाको ढल्केबरका पप्पु साह र बारा परवानीपुरकी सेलोदेवी रामबाट प्रहरीले २०८ ग्राम खैरो हेरोइन बरामद गरेको थियो ।
साहको दाहिने पाखुरामा गोली लागेको थियो । प्रहरीलाई देख्नेबित्तिकै घरेलु हतियार प्रहार गरेर भाग्न खोज्दा आत्मरक्षाका लागि गोली चलाउनुपरेको दाबी प्रहरीले गरेको थियो ।
यस्तै, सप्तरीमा प्रहरीले गोली प्रहार गरेर दुईजना लागूऔषध करोबारीलाई नियन्त्रणमा लिएको थियो ।
एनसीबीको टोलीले दुई राउन्ड हवाइफायर गरेर सप्तरीको डाक्नेश्वरी–७ घर भएका मनोज राय र सप्तरीकै विशाल रायलाई नियन्त्रणमा लिँदा उनीहरूबाट करीब २ सय ग्राम मात्र खैरो हेरोइन बरामद गरिएको थियो ।
साउन १० मा सिरहाको नवराजपुर गाउँपालिका– ४ कुसुण्डीबाट एक भारतीय नागरिकलाई गोली प्रहार गरी प्रहरीले ५० ग्राम खैरो हेरोइन बरामद गरेको थियो ।
भारत बिहारको मधुवनी जिल्लाका श्यामसुन्दर पासवानमाथि गोली प्रहार गरिएको थियो । प्रहरीको भनाइमा पासवान भारतीय नम्बर प्लेटको (बीआर ३२ एम ७३३८) मोटरसाइकल चढेर नेपाल प्रवेश गर्दैगर्दा प्रहरीको चेकजाँच छलेर भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको थियो ।
साउन १० मै झापाको भद्रपुरमा प्रहरीले गोली चलाएर अर्का एकजना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गर्यो ।
काठमाडौंबाट खटिएको एनसीबीको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा भद्रपुर– ५ स्थित बसपार्कनजिकै गोली चलाएर भारतको बिहार किसनगञ्ज जिल्लास्थित कुर्लिकोटका मोहम्मद इस्लामलाई पक्राउ गरेको थियो । प्रहरीले दुई राउन्ड गोली प्रहार गर्दा एक राउन्ड इस्लामको बायाँ खुट्टाको घुँडाभन्दा मुनि लागेको थियो ।
इस्लामको साथबाट प्रहरीले जम्मा ११०.२ ग्राम खैरो हेरोइन बरामद गरेको थियो ।
गत जेठ २७ मा टोखाको ग्राण्डी अस्पतालनजिकै प्रहरीले गोली चलाएर दुईजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको थियो ।
सुन्धाराबाट दुई जनालाई पक्राउ गरेपछि उनीहरूकै सूचनाका आधारमा टोखा पुगेर मोटरसाइकल रोक्न खोज्दा भागेको भन्दै प्रहरीले फायर खोलेको थियो ।
उनीहरूको साथबाट १ सय ५० ग्राम मात्रै खैरो हेरोइन बरामद गरिएको थियो ।
आर्थिक वर्ष २०८२/०८३ मा प्रहरीले लागूऔषध कारोबारी समात्ने सिलसिलामा पाँच जिल्ला क्रमश: बाँके, सिरहा, धनुषा, सप्तरी र झापाका विभिन्न स्थानमा गोली चलाएको छ ।
गोली नै चलाएर लागूऔषध कारोबारी समात्न प्रहरीले गरेका यी अपरेसनबाट लागूऔषध बरामद भएको परिमाण हेर्दा ज्यादै न्यून देखिन्छ ।
यी चारवटै घटनामा कारोबारी भनिएका व्यक्तिहरूले प्रहरीमाथि कुनै सांघातिक हमला वा प्रहरीको ज्यानै लिने खालका आक्रमण गरेको देखिँदैन ।
खासगरी प्रहरीले आत्मरक्षाका लागि बल प्रयोग गर्ने सिद्धान्त यी घटनामा लागू भएको छ त ? भन्ने प्रश्न उठेको छ ।
प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षसम्मले नेपालमा लागूऔषध दुर्व्यसनी र कारोबारको अवस्था डरलाग्दो रूपमा अघि बढिरहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहँदा प्रहरीले त्यसैको फाइदा उठाउँदै धमाधम गोली चलाउँदै आएको छ ।
‘कोभर्ट’ मा रहेर काम गर्ने एनसीबीले लागूऔषधको ‘हब’ मानिएका जिल्लाहरूमा पुगेर कारोबारी समात्ने नाममा भटाभट गोली चलाउँदै आएको हो ।
विगतमा पनि प्रहरीले लागूऔषध कारोबारीमाथि गोली नचलाएको होइन । त्यतिबेलाका अधिकांश अपरेसनमा प्रहरीले कारोबारीबाट हतियार (पेस्तोल) बरामद गर्थ्यो । तर, अहिले कारोबारीलाई घाइते नै हुने गरी गोली प्रहार गरेर सीमित परिमाणमा लागूऔषध मात्र बरामद गर्दै आएको छ ।
२०८० मंसिर २६ मा ललितपुरको झम्सिखेलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको थियो ।
उदयपुरको गाईघाटका अविनाश राईले प्रहरीमाथि नै गोली प्रहार गर्न खोजेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको दाबी गरिएको थियो ।
राईबाट त्यतिबेला ४८५ ग्राम एम्फेटामाइन बरामद गरिएको थियो । दायाँ खुट्टामा गोली लागेका उनी उपचारपछि अहिले पुर्पक्षका लागि जेलमा छन् ।
कारोबारीबाट कस्ता आक्रमण भए र प्रहरीले गोली चलाउनुपर्ने अवस्था आयो ? भन्ने प्रश्नमा एनसीबीका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कोइराला भन्छन्, ‘सामान्य अवस्थामा प्रहरीले गोली चलाउँदैन, आत्मरक्षाकै लागि हो । घटनास्थलको अवस्था र त्यसले पार्ने चुनौतीलाई समेत ख्याल गरेर गोली चलाउँदै आएको हो । अतिरिक्त बल प्रयोग गरेको भनेर बुझ्नुहुँदैन ।’
आर्थिक वर्ष २०८०/०८१ देखि हालसम्म प्रहरीले २० जनाभन्दा बढी कारोबारीलाई गोली चलाएर नियन्त्रणमा लिएको छ । लागुऔषधले स्वयं दुर्व्यसन गर्ने व्यक्ति मात्रै नभएर परिवार र सिंगो समाजलाई नै दूषित बनाइरहेको छ ।
विशेषगरी किशोर अवस्थादेखि नै यसको लतमा परेर थुप्रैले अनाहकमा ज्यान गुमाउँदै आएका छन् । जेलमा समेत कैदीबन्दीको संख्या हेर्दा लागूऔषध कारोबारसँग जोडिएका धेरै छन् ।
प्रहरीले जुनसुकै बहानामा व्यक्तिमाथि गोली प्रहार गर्दा उसको मानवअधिकार उल्लंघन भएको बुझ्छन्, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुदीप पाठक ।
‘सबैले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ । व्यक्ति पक्राउ गर्ने विभिन्न उपाय हुँदाहुँदै पनि प्रहरीले अत्यधिक बल प्रयोग गर्ने सिद्धान्त अनुसार व्यक्तिमाथि गोली प्रहार गरिरहेका छन्,’ पाठकले लोकान्तरसँग भने, ‘विशेष परिस्थितिमा गोली प्रहार गर्नुपर्दा त्यसको पुस्ट्याइँ हुनुपर्छ । पुष्टि हुन सकेन भने गोली चलाउने प्रहरी अधिकारीमाथि आवश्यक छानबिन गरी दोषी पाइए कारबाही गर्नुपर्छ ।’
आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलले आवश्यकताभन्दा बढी बल प्रयोग गर्न नहुने मानव अधिकारको सिद्धान्त रहेकाले प्रहरीले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने, ‘प्रहरीले लागूऔषध कारोबारी पक्राउ गने क्रममा बल प्रयोग गर्न आवश्यक ठानेरै गोली चलाएको होला, तर त्यो कारोबारीको पनि मानव अधिकार हुन्छ, सकेसम्म कम बल प्रयोग गर्दा राम्रो हुन्छ ।’