
पदीय आचरणविपरीतको गम्भीर घटनामा जोडिएकी उपसभामुख इन्दिरा राना मगरलाई यसपटक जसरी पनि हटाउने पक्षमा कांग्रेस र एमालेको उच्च नेतृत्व देखिएको छ ।
अघिल्लो वर्षको साउन–भदौमै असम्बन्धित ५ व्यक्तिलाई अमेरिका लानका लागि दूतावासलाई भिसा अन्तर्वार्ताको समय अगाडि सारिदिन रानाले पत्र लेखेकी थिइन् ।
सो पत्रमा नाम उल्लेख गरिएका ५ व्यक्तिको उपसभामुख जाने कार्यक्रमसँग कुनै साइनो नै थिएन । त्यसैले पदीय आचरणविपरीतको काम गरेको भन्दै अघिल्लो वर्ष नै रानालाई हटाउन कांग्रेस र एमालेमा कुरा उठेको थियो ।
यसपटक भने अघिल्लो वर्षको जस्तो गल्ती नगर्ने मनस्थितिमा कांग्रेस–एमालेको नेतृत्व पुगेको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे छलफलका लागि पुगेका थिए ।
कांग्रेस सभापतिले समेत ‘ग्रीन सिग्नल’ दिएपछि दुवै पार्टीले मंगलबार सांसदहरूको हस्ताक्षर जुटाएका थिए । अहिले अरू प्रयोजनका लागि नभएर उपसभामुखलाई नै हटाउने तयारी स्वरूप हस्ताक्षर संकलन गरिएको एमाले स्रोत बताउँछ ।
‘उपसभामुखले असम्बन्धित व्यक्तिलाई अमेरिका लानका लागि गरेको दौडधूप, पदीय आचरणविपरीतको लेटरहेड र हस्ताक्षर दुरुपयोग क्षमायोग्य छैन । अघिल्लो वर्ष नै उनलाई हटाउनुपर्छ भन्ने मत कांग्रेस र एमालेमा धेरै थियो,’ एमाले स्रोत भन्छ, ‘त्यतिखेर रोकियो, तर यसपटक केही राम्रै तयारी गरेर हटाउने प्रयोजनका लागि हस्ताक्षर जुटाइएको हो । केही समय लाग्न सक्छ । तर, यसपटक अघिल्लो वर्षको जस्तो हुँदैन ।’
रानाले पदीय आचरणविपरीत काम गरेपछि उनी आबद्ध रास्वपामै समेत उजुरी पर्नु सामान्य घटना नभएको एमाले स्रोत बताउँछ ।
‘दाबी गरिएको कार्यक्रमसँग उनीहरूको कुनै सरोकार थिएन । जान नपाउनेहरूले नै आफूहरूसँग पैसा उठाउने गरी अमेरिका लान खोजेको बताउँदै आएका छन्,’ एमाले स्रोतले भन्यो, ‘उपसभामुखले दूतावासलाई ताकेता गर्दै लेखेको पत्र नै उनलाई कारबाहीका लागि पर्याप्त प्रमाण हो । रास्वपाले भिजिट भिसा प्रकरणमा जोडिएकालाई कारबाही गर्न माग गर्दै महिनौंदेखि संसद् बहिष्कार गर्दै आएको छ । उनीहरूको माग नै यो प्रकरणको छानबिन हुनुपर्यो भन्ने छ । आफूले पठाउन खोजेका मान्छे कार्यक्रमसँग सम्बन्धित छैनन् । तर, छिटो अन्तर्वार्ता गरिदिन माग गर्दै दूतावासलाई पत्राचार गरिएको छ । उनीहरूले नै माग गरेपछि अहिले छानबिन गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।’
रास्वपाको माग सम्बोधन गर्नैका लागि अहिले नै उपसभामुखलाई हटाउने विषय आएको एमाले स्रोत बताउँछ । ‘कतिपयले अहिले नै यो विषय किन आयो, किन अहिले नै हटाउने गरी हस्ताक्षर भयो भनिरहेका छन्,’ स्रोतले भन्यो, ‘यही मागमा रास्वपाले संसद् बहिष्कार गरेको गर्यै छ । यसैका लागि निरन्तर संसद् बैठक बहिष्कार गरेपछि उनीहरूकै माग सम्बोधन गर्न खोजिएको हो ।’

दुवै ठूला दलले हस्ताक्षर गरिरहेकाले केही दिनमा उप–सभामुखविरुद्ध पदीय आचरणविपरीत कार्य गरेको भन्दै हटाउन प्रस्ताव राख्ने तयारीमा दुई दल छन् । उपसभामुख अमेरिका भ्रमणमा गएकाले उनी फर्किएपछि प्रस्ताव अगाडि बढाउने तयारी भएको कांग्रेस स्रोत बताउँछ ।
‘हस्ताक्षर जुटेको छ । हाम्रो पार्टीमा केही सांसदले हस्ताक्षर गर्न बाँकी छ । उहाँहरूले गर्नुहुन्छ । फरक मत राखेर कोही पनि अगाडि बढ्नुहुन्न,’ कांग्रेसका एक नेताले भने, ‘पर्याप्त छलफल भएपछि यसपटक यो विषयलाई एउटा टुंगोमा पुर्याउनुपर्छ, नत्र जिस्क्याउन खोजेको भन्दै हामीमाथि नै प्रश्न उठ्छ ।’
भदौ १३ गते उपसभामुख फर्किएपछि यो प्रक्रिया अगाडि बढाउने तयारीमा कांग्रेस–एमाले छन् ।
एमाले स्रोतले पनि हस्ताक्षर जुटाइएकाले समय आएपछि उपसभामुखविरुद्ध प्रस्ताव दर्ता गर्ने तयारी रहेको बतायो । संसदमा कायम एक चौथाइ सदस्यले प्रस्ताव दर्ता गर्न सक्छन् ।
‘समय आएपछि यो प्रक्रिया अगाडि बढ्छ,’ एमाले स्रोतले भन्यो, ‘विषय उठेपछि छलफल हुन्छ । केही दिन लाग्छ, तर हामी यसपटक टुंगोमा पुग्छौं । टुंगेमा पुर्याउनकै लागि यो मुभ चालिएको हो, जिस्क्याउन मात्रै अगाडि बढिएको होइन ।’
कांग्रेसभित्र विवाद
अप्रत्याशित रूपमा उपसभामुख हटाउन हस्ताक्षर अभियान थालिएपछि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । मंगलबार पार्टीले आह्वान गरेको हस्ताक्षर अभियानमा दुई महामन्त्री र शेखर पक्षका सांसद सहभागी भएनन् ।
रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानासँग कांग्रेस नेता शेखर कोइरालाले टेलिफोनमै कुराकानी गरेका छन् । पार्टीले नै गरेको निर्णयलाई चुनौती दिने गरी शेखर रानाको पक्षमा उभिएका हुन् । महामन्त्रीद्वय पनि बहुमत भएकै आधारमा जे पनि गर्न नपाइने अभिव्यक्ति दिइरहेका छन् ।
‘मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन । संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ, संसद्मा होस् वा पार्टीमा, तर आम मानिसले त्यो निर्णय स्वीकार्छ कि स्वीकार्दैन ? सबैले स्वीकारे भने मात्र त्यो वैध हुन्छ,’ बुधबार काठमाडौंमा प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटीको स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने ।
एमाले मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले उपसभामुख फर्किएपछि उनीविरुद्धको प्रस्ताव अगाडि बढाउने बताएका छन् ।
अघिल्लो दिन कांग्रेस र एमालेले हस्ताक्षर जुटाएका थिए । रास्वपाले पनि बुधबार आफ्ना सांसदसँग छलफल गरेको छ । सत्तारुढ दल गलत कदममा लागेको भन्दै प्रतिवाद गर्ने रास्वपाको भनाइ छ । मंगलबार नै माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एससहितका विपक्षीले पनि उपसभामुख हटाउने प्रक्रियाको प्रतिवाद गर्ने निर्णय गरेका छन् ।
अमेरिकामा हुने ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिनका लागि ५ जना युवाको भिसा अन्तर्वार्ताको समय अगाडि सारिदिन भन्दै रानाले अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।
२६ फेब्रुअरी २०२३ मा रानाले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अगाडि सारिदिन पत्र लेखेकी थिइन् ।
उपसभामुखको लेटरहेड र हस्ताक्षर प्रयोग गरेर यसरी लेखिएको पत्रका व्यक्तिहरू कार्यक्रमसँग सम्बन्धित थिएनन् । घरजग्गा व्यवसायी, स्वास्थ्यकर्मीसहितका थिए । उपसभामुखले समेत एकजना बाहेक अरूलाई नचिनेको बयान दिएकी थिइन् । यसैले असम्बन्धितलाई पदीय आचरणविपरीत सिफारिस गरिएको भन्दै उनीमाथि प्रश्न उठेको हो ।