२७ जेठ २०८३, बुधबार
खोजी हराएका दाजुको

'बहिनी होस् त विपिन जोशीको जस्तो'

भदौ ५, २०८२
काठमाडौं
'बहिनी होस् त विपिन जोशीको जस्तो'

इजरायलमा कृषि तालिम सिकेर गाउँघरमा अन्न नै अन्न फलाउने सपना देखेका विपिन जोशी आज एक टुक्रा पाउरोटीको प्रतीक्षामा अँध्यारो कुनाबाट बाहिर हेर्छन् होला । हिमालको देशमा जन्मिएको हिमाली छोरो आज एक बोतल पानीका लागि हप्तौंसम्म तड्पिन्छन् होला । जहाजबाट खसालेका प्राण धान्ने पोकाहरूमा विपिनको शरीर लत्रिएर भए पनि पुग्यो होला कि नाइँ, वा कतै डरले लगलग काँपेर जागेको भोक पनि हराएको पो छ कि ! ए भगवान, म कसरी बयान गरूँ ?

यो पनि म बयान गर्न सक्दिनँ, मृत्यु नै मृत्युको शहर भित्रबाट आफूलाई जन्म दिने आमाको याद । आकाशबाट असिना खसेझैं बर्सिएका मिसाइलहरूको आवाजसँगै जन्मभूमिको याद । अनिद्राले गलेको शरीरले पनि बिर्सिन नसकेको बहिनीले पकाएर दिएको मीठो चियाको याद । हजारौं बालबच्चाहरू अनि हजारौं नौ जवानहरू एकै चिहान भएको बस्तीबाट साथीभाइ र प्रेमिकाको याद । यस्तो लाग्छ, गाजा शहरजस्तै ध्वस्त भएको होला विपिनको मानसपटल पनि ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विपिनलाई उडाएर लगेको जहाज धेरैपटक फर्किएर आयो, तर विपिन फर्किएनन् । त्यो जहाज अहिले पनि आकाशमा उडिरहेको होला । तर, विपिन यतिबेला कहाँ छन्, केही थाहा छैन । के गर्दैछन्, त्यो पनि थाहा छैन । नेपालदेखि गाजासम्मको दूरी करिब ६,००० किलोमिटर भए पनि माया र सम्झनाको दूरी त केवल एक मिलिमिटर हुँदोरहेछ ।  त्यही एक मिलिमिटर मायाले गर्दा यहाँ हजारौं लिटर आँसुको धारा बगिसकेको छ ।

विपिनका बहिनी र आमा

'हराएका वर्षहरूमा' कथा आएका प्रकाश तामाङ त चुम भ्याली (गोरखा)मा हराएका थिए, जहाँ फूल थियो, चौँरीगाई थियो, हिउँ थियो, गोठ थियो, सफा आकाश थियो । तर, विपिन हराएको गाजा त डरलाग्दो छ । रगतको खोलो छ । लासहरूको थुप्रो छ । घाइतेहरूको चित्कार छ । कुपोषणको रोदन छ । बालबालिकाहरूको रुवाबासी छ । एक सेकेन्ड पनि मन नअडिने त्यस्तो राक्षसी ठाउँमा विपिन जोशी हराएको पनि दुई वर्ष पूरा हुँदैछ । आफ्नो देशमा हराउनु र अरूको देशमा हराउनुको फरक यही रहेछ । 

विपिन नेपालभित्रै हराएको भए त युट्युबर अर्जुन भुसालले जस्तै डाँडाकाँडा अनि चारै भन्ज्याङ खोजतलास गरेर भए पनि ल्याउने थिए । नभए सडकमा हिँड्ने बटुवालाई विपिनको फोटो देखाएर 'यो मान्छे चिन्नु हुन्छ?' भन्दै सोध्न हुन्थ्यो । आमाको फोटो देखाउन हुन्थ्यो । बहिनी र बाको फोटो देखाउन हुन्थ्यो । साथीभाइको फोटो देखाउन हुन्थ्यो । कहिले नुवाकोट, कहिले बुटवल, अनि कहिले पोखरा गएर खोज्न हुन्थ्यो । तर, विपिन गाजामा हराएका छन्, जहाँ सबै कुरा माटो भएको छ । सबै कुरा खरानी भएको छ । सबै कुरा धूलो भएको छ । 

त्यही माटो, त्यही खरानी र त्यही धूलोको बीचमा हामीले हाम्रो सग्लो मान्छे खोजिरहेका छौं, विपिन जोशी खोजिरहेका छौं । र, अन्तिमसम्म खोजिरहने छौं । यो नेपालीको प्रण हो, किनकि त्यो हमासको कब्जाभित्र विपिन जोशी मात्रै छैनन्, विपिनले बोकेर लगेको नेपालको राष्ट्रिय झण्डा पनि कब्जामा परेको छ ।

हामीलाई अक्टोबर सेभेनसँग कुनै मतलब छैन । हामीलाई जेरुसेलमसँग मतलब छैन । हामीलाई आयरन डोमसँग पनि मतलब छैन । हामीलाई यहुदी, सिया र सुन्नीसँग पनि मतलब छैन । केवल हामीलाई विपिन जोशीसँग मतलब छ ।

दाजु खोज्न इजरायल पुगेकी विपिनकी बहिनी

डाक्टरहरू भन्छन्, ' ठूलो दुर्घटनामा परेको मान्छेलाई एन्जाइटी हुन्छ । डिप्रेसन हुन्छ ।' थाहा छैन, हातले बम समातेर बाहिर फ्याँकेका विपिन जोशीलाई के भएको छ । मेरो देशमा सबैको कल्याण गर्ने पशुपतिनाथको मन्दिर छ भनेर बिर्सि पो सके कि ! मेरो आमाको शिर सगरमाथाजस्तै उँचो छ भनेर भुलि पो सके कि ! मेरो बहिनीको आँसु कर्णाली नदीझैँ बगेको छ भनेर हेक्का पो छैन कि ! खैर, त्यस्तो केही भएको नहोस्, हाम्रो भाइ विपिन जोशीलाई । यो आकाशको आयुभन्दा धेरै विपिनको आयु होस् । यो धरतीको वायुभन्दा धेरै विपिनको प्राण होस् ।

केही दिनअगाडि यो स्तम्भकार यतिकै दोबाटोमा लखर–लखर हिँडिरहेको थियो । एकजना अश्वेत महिलाले Missing Cat लेखेको पोस्टर भित्तामा टाँसिन् । भन्दै थिइन्, 'यो बिरालोलाई मैले दश महिनादेखि खोजिरहेकी छु, तर भेट्न सकेकी छैन । अहिले नभेटेर के भयो र, एक दिन जसरी पनि भेटेरै छाड्छु, मेरो जीवनको अन्त्यसम्म भए पनि ।' यसो भन्दै गर्दा उनको गहभरी पीडाको आँसु टिल्पिलाएको थियो । तिनको बिरालो हराएको पीडामा म पनि अनायासै रोएछु ।

त्यही दिन हो मैले विपिन जोशीलाई सबैभन्दा धेरै सम्झेको । अनि उनको आमा, बहिनी र परिवारको पीडालाई नजिकबाट अनुभूति गरेको । हुन सक्छ, मैले यस्तो लेखेर कसैलाई फाइदा छैन । तर, मेरो मनलाई शान्ति मिल्छ । कहिलेकाहीँ टेलिभिजन हेर्दा हमासले रिहा गरेका बन्दीहरू हाँस्दै निस्किन्थे । अनि लाग्थ्यो, विपिन जोशी पनि एकदिन यसरी नै हाँस्दै निस्किनेछन् । हिजो फेरि टेलिभिजन हेरेँ, इजरायल पुगेकी आमाले रुँदै भनिरहेकी थिइन्– 'प्लिज हमास, गिभ ब्याक माई सन ।' खै किन हो, फेरि पनि म रोएँ ।

विपिनका बहिनी र आमा

हो हमास, तिमीहरूले नेपालको छोरा विपिन फिर्ता दिनैपर्छ । हामी रोएर होइन, शिर उठाएर भन्छौं— तिमीले हाम्रो सपुत फिर्ता दिनैपर्छ । तर, मलाई विश्वास छ, विश्व प्रसिद्ध ग्रीक महाकाव्यका प्रमुख पात्र ओडिसियस 'ट्रोजन' युद्धपछि फर्किएर घर पुगेजस्तै एक दिन हाम्रो विपिन पनि गाजाको युद्ध सकिएर घर फर्किनेछन् । किनकि तिमीहरूले रगत बगाएका छौ, तर हामीले आँसु बगाएका छौं । तिमीहरूले बंकर फुटाएका छौ, हामीले मुटु फुटाएका छौं । हो, मर्न त तिमीहरू पनि मरेका छौ । हामी त अरू के नै गर्न सक्छौं र ? बुद्धको देशबाट शान्तिको कामना गरेका छौं ।

कोही मोटाएर मर्छन्, कोही दुब्लाएर । गाजामा खान खान नपाएर मर्नेहरू धेरै छन् । ए हजुर, त्यस्तो नभन्नुहोस् न । 'विपिन जोशी मरिसक्यो होला' नभन्नुहोस् न । विपिन जोशी ज्यूँदै छन्, अवतारी दलाई लामाजस्तै । विपिन जोशी स्थिर र शान्त छन्, से-फोक्सुन्डो तालजस्तै । विपिन जोशी धैर्यवान छन्, भगवान शिवको ध्यानजस्तै । कुरुक्षेत्रको युद्धमा भीष्म पनि त घाइते भएका थिए, तर उनको मृत्यु भएन । गाजा पनि २१ औं शताब्दीको एउटा कुरुक्षेत्र हो । हाम्रो विपिन भाइ केही दिनका लागि कुरुक्षेत्रको लडाइँमा फसेका मात्रै हुन् । एक दिन उनी वीरताको गाथा बोकेर फर्किनेछन् । जब फर्किनेछन्, भीष्मले जस्तै मृत्यु अस्वीकार गरेर फर्किनेछन् । जब फर्किनेछन्, आफ्नै चिहानले थमाएको इच्छा-मरणको पत्रलाई हत्केलामा हल्लाउँदै फर्किनेछन् ।

कृपया, 'विपिन जोशी मरिसक्यो' भन्दै नभन्नुहोस् । बरु साथ दिनुहोस्, विपिन जोशी र उनको परिवारलाई । कुरुक्षेत्रको युद्धमा अभिमन्यु घेराबन्दीमा परेका थिए । अभिमन्यु घेराबन्दीमा परेका बेला अभिमन्युलाई सुभद्रा र द्रौपदीले सम्झँदै खोजिरहेका थिए । आज विपिन जोशीकी बहिनी पनि सुभद्रा र द्रौपदीको रूप धारण गरेर इजरायल पुगेकी छिन् । उनले आफ्नो दाजुको खोजीका लागि अन्तर्राष्ट्रिय मिडियामा डटेर बोलिरहेकी छिन् । रुँदै-रुँदै पनि भाषण गर्न सकिँदो रहेछ, रुँदै-रुँदै पनि टाढाको यात्रा गर्न सकिँदो रहेछ, रुँदै-रुँदै पनि सडकमा नारा गुञ्जाउन सकिँदो रहेछ । तपाईं हाम्रा सबै दिदीबहिनी विपिन जोशीको बहिनीजस्तै साहसी हुनुपर्छ, परिवारप्रेमी हुनुपर्छ ।


दाजु खोज्न इजरायल पुगेकी विपिनकी बहिनी

जापानी लोककथाहरूमा बहिनीले दाइ हराउँदा साहस र चतुर्‍याइँ प्रयोग गरेर खोजेको घटना धेरै पाइन्छन् । Nanaha no Hakuchō (The Seven Swans) मा बहिनी आफ्नो हराएका दाइ अनि साथीहरूलाई खोज्न जंगल, नदी र कठिन परिस्थिति पार गर्दै हिँड्छिन् । यस कथाले बहिनीको साहस, जिम्मेवारी र पारिवारिक माया देखाउँछ । The Twelve Brothers—एक जर्मन लोककथामा राजा र रानीका १२ छोरा हुन्छन् । रानी अर्को बच्चा जन्माउने क्रममा श्राप वा भविष्यवाणी अनुसार दाजुभाइको जीवनमा संकट आउँछ । बहिनीले आफ्नो दाजुभाइलाई राक्षसी श्राप वा खतराबाट मुक्त गर्ने चुनौती स्वीकार्छिन् । कथामा बहिनीले छलकपट, धैर्य, बलिदान र साहस प्रयोग गरेर भाइहरूको उद्धार गर्छिन् । अन्त्यमा सबै भाइ सुरक्षित हुन्छन् र परिवार पुनः एकत्रित हुन्छ ।

विपिन जोशीकी बहिनीले पनि महान धैर्य, बलिदान र साहस प्रदर्शन गरिरहेकी छिन् । एक दिन यस्तो दिन आउनेछ, जुन दिन विपिन जोशी, उनकी बहिनी र आमा सँगै हवाइजहाज चढेर नेपाल फर्किनेछन् । घर जानेछन् । बाबालाई अंकमाल गर्नेछन् । घरमा जम्मा भएका परिवार र साथीभाइलाई आफ्नो वीरताको कथा सुनाउनेछन् । हो, यस्तो दिन पक्कै आउनेछ, जुन दिन विपिन जोशीले गाजाको मैलो कपडा काठमाडौं आएर धुनेछन् । गाजाको मैलो मन घर पुगेर पखाल्नेछन् । गाजामा आफूले बिताएका मृत्युतुल्य अनुभूति यिनै पाखा, पर्वत र पहाडलाई सुनाउनेछन् । हो, एक दिन यस्तो त पक्कै आउनेछ । आमाको कसम, आउनेछ ।

विपिनका बहिनी र आमा

आइफोन किन्दिएन भनेर 'मेरो दाइ त मरिसक्यो' भन्दै टोल–टोलमा घोषणा गर्दै हिँड्ने बहिनीहरू छन् । तिहारमा तास खेलेर बस्ने तर, दाजुभाइलाई टीका लगाइदिन नजाने बहिनीहरू छन् । आमा-बुवाको सम्पत्ति दाइले मात्रै खायो भनेर अदालतमा मुद्दा दर्ता गर्ने बहिनीहरू छन् । 'मेरो दाइ त गाउँमा बस्छ' भन्दै त्यसको कुरा नगर्न आग्रह गर्ने शहरीया ब्वाइफ्रेन्ड भएका बहिनीहरू छन् । त्यस्ता बहिनीहरूले विपिन जोशीको बहिनीको संघर्ष, त्याग र समर्पण हेर्नू । विपिन जोशीको बहिनीको आँखाबाट निस्किएको आँसु हेर्नू । अनि मनमनै भन्नु, 'बहिनी होस् त, विपिन जोशीको जस्तो ।'

इजरायलमा रहेका नेपाली समुदायका अग्रजहरू सुनिता गुरुङ र खेमराज जम्मरकटेल  लगायतले विपिन जोशीका आमा र बहिनीलाई निकै ठूलो सहयोग गरेका छन् । दूतावास पनि लागेकै होला । परराष्ट्रमन्त्री आरजु देउवाले आफ्नो क्षमता प्रदर्शन गरेकी छिन् । उनको क्षमता भनेको राम्रो अंग्रेजी बोल्न सक्नु हो । अन्तर्राष्ट्रिय मञ्चहरूमा विपिन जोशीको रिहाइका लागि उनले हदैसम्मको प्रयास गर्दै आएकी छिन् । उनी पनि कसैकी आमा हुन्, परराष्ट्रमन्त्री त केवल पद मात्र हो । आरजु देउवाले एउटा आमाको भावनासहित काम गरेकी छिन् । त्यही अंग्रेजी पनि मातृका यादवले जस्तो बोलेको भए त हामी डबल पीडामा हुने थियौं ।

खाली कागजको पानामा हस्ताक्षर गरेर हाँस्दै निस्किने हाम्रा माननीयहरूको के कुरा गरौं, यिनीहरूको त दिमाग पनि खाली नै छ । सरकार गठनको बेलामा कहिलेकाहीँ यी माननीयहरू पनि अपहरणमा पर्छन् । विपिन जोशीको रिहाइको बारेमा कुनै विदेशी मिडियासँग कुराकानी गरेको सुनिएको छैन । सबैजना उही केपी बाको भर परेर बसेका छन् ।

पृथ्वीको कुल क्षेत्रफल ५१०.१ मिलियन वर्ग किलोमिटर छ, तर पूर्वी जेरुसेलमको ७०–७५ वर्ग किलोमिटर भूमिका निम्ति मान्छेहरू एकआपसमा लडेका छन् । एक टुक्रा जमिनका लागि लड्नेहरूले लाखौं मान्छेको जीवन रक्षाका लागि शान्ति वार्ता गर्न सक्दैनन् । जंगली युगमा मात्रै भूगोलको विषयमा लडाइँ हुन्थ्यो । तर, प्रविधि र टेक्नोलोजीका बादशाह भनिएकाहरूले पनि आज भगवानको विषय उठाएर हानाहान गर्छन् । भन्न त उनीहरू यसलाई ग्लोबलाइजेसन भन्छन्, तर गरिबका छोराछोरीलाई मृत्युलाइजेसन बनाइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्