
२०६९ असार २७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) पार्वती थापाले एक महिला प्रहरी जवानलाई थप्पड हानिन् ।
लामो समय बत्ती गएकाले यात्रुहरूको झोला र शरीर सूक्ष्म तरिकाले चेकजाँच गर्न सुरक्षाकर्मीलाई ‘अलर्ट’ जारी गरिएको थियो । त्यही बीचमा मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयकी प्रमुख थापा उतै जान विमानस्थलमा पुगेकी थिइन् ।
एक महिला प्रहरी जवानले उनको शरीर र बोकेको झोला खानतलासी गर्न खोज्दा ‘तँ मलाई चिन्दिनस् ?’ भन्दै थप्पड हानेकी थिइन् ।
यो दृश्यले केहीबेर विमानस्थलमा सन्नाटा छायो । अन्य यात्रु हेरिरहे । तर, ती महिला प्रहरी जवानको कुनै दोष थिएन । उनले हाकिमको निर्देशन पालना गरेकी थिइन् ।
***
जिल्ला प्रहरी कार्यालय अछामकी एक महिला प्रहरीलाई २०६६ असोज ११ मा आफ्नै सहकर्मीहरूले सामूहिक बलात्कार गरेका थिए ।
कार्यालयको सञ्चार शाखामा बोलाएर मासुमा चरेस मिसाई खुवाएर अर्धचेत बनाई उनको बलात्कार गरिएको थियो ।
ती महिला प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) दानसिंह भण्डारी, प्रहरी हवल्दारहरू वीरेन्द्र बम, करवीर थलाल, वीरादत्त बडू तथा प्रहरी जवानद्वय जगदीश पाण्डे र नरिभान महतराविरुद्ध उजुरी दिइन् ।
सरकारी वकिलको कार्यालय अछामले नरिभान महतरा, दानसिंह भण्डारी र वीरादत्त बडूविरुद्ध तत्काल मुद्दा नचलाउने निर्णय गर्दै वीरेन्द्रसिंह बम, जगदीश पाण्डे र करवीर थलालविरुद्ध मात्र मुद्दा चलायो ।
सर्वोच्च अदालतका न्यायाधीशहरू बलराम केसी र भरतराज उप्रेतीको संयुक्त इजलासले २०६७ मंसिर १५ मा फैसला गर्दै उनीहरूलाई दोषी ठहर गरेको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगले समेत घटनाको स्थलगत अनुसन्धान गरेको थियो । आयोगले २०६६ कात्तिक १२ मा प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई महिला प्रहरीको सुरक्षाका लागि ५ बुँदे सिफारिश गर्यो ।
महिला प्रहरीहरूको सुरक्षाको उचित प्रबन्धका लागि आचारसंहिता र आवश्यक नीति बनाउने लगायतका सिफारिस गरेको आयोगले प्रहरीका विभिन्न कार्यालयमा महिला प्रहरीमाथि यौन हिंसा हुने गरेको जानकारी उच्च प्रहरी अधिकृतहरूबाटै प्राप्त भएको कुरा प्रतिवेदनमा उल्लेख गरेको थियो ।

***
२०६७ मा प्रहरी प्रधान कार्यालयकै एक एआईजीले तल्लो तहका सहकर्मीमाथि यौनशोषण गरेको कुरा बाहिर आयो । तत्कालीन प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले ती एआईजीलाई आफ्नै सचिवालयमा ताने । अनि उनले प्रहरी अधिकृतहरूलाई आफ्नो सुरक्षा गार्ड र सहयोगी महिला प्रहरी नराख्न मौखिक निर्देशन दिए । त्यसपछि प्रहरीका उच्च अधिकारीहरूको कार्यकक्ष बाहिरबाट पनि महिला प्रहरी हटाइएको थियो ।

***
एक दशकअघि प्रहरी संगठनभित्रै भएका यौनजन्य हिंसा र दुर्व्यवहारका यी प्रसंग फेरि कोट्याउनुका पछाडि आजबाट शुरू हुन लागेको प्रथम महिला प्रहरी सम्मेलनलाई सन्दर्भका रूपमा लिइएको छ ।
दुई दिने सम्मेलनमा छलफल हुने प्रमुख एजेन्डामध्ये ‘कार्यस्थलमा सम्मान र सुरक्षा: लैङ्गिक संवेदनशीलता र दुर्व्यवहारविरुद्ध शून्य सहनशीलता’ विषय पनि प्राथमिकतामा परेको छ ।
प्रहरी संगठनमा उच्च तहका हाकिम (विशेषगरी पुरुष प्रहरी)ले तल्लो तहका महिला प्रहरीलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा विगतको भन्दा तात्विक भिन्नता छैन ।
तर, पछिल्लो दशकमा पढेलेखेका र शुद्ध आचरण भएका महिलाहरू (असई र इन्सपेक्टर) मा भर्ना भएपछि विगतको जस्तो यौन शोषणका घटना खासै सुनिएका छैनन् ।

२०७६ यता दर्जाका हिसाबले पनि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सम्म पुगेर सातजना महिला प्रहरीले अवकाश पाएका छन् । एआईजीहरू क्रमश: डा. दुर्गा थापा पुनले २०७६ पुस ५ मा, पूजा सिंहले २०७९ फागुन ७ मा, डा. आशा सिंहले २०८१ साउन १० मा, किरण बज्राचार्यले २०८१ पुस १६ मा, मिरा चौधरीले २०८१ वैशाख ७ मा, दुर्गा सिंहले २०८१ चैत ५ मा र किरण राणाले २०८१ चैत १६ मा अवकाश पाएका थिए ।
संख्यात्मक हिसाबले हाल नेपाल प्रहरीमा कूल प्रहरीको १२.४१ प्रतिशत महिला प्रहरी छन् । ७९ हजारको फौजमा यो संख्या कम हो । तर, पनि प्रतिस्पर्धामा उत्रिएका महिला प्रहरीले उच्च तहमा पुगेर अवकाश पाएका छन् । प्रहरी संगठनको नेतृत्वमा महिला प्रहरी कहिले पुग्ने ? भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।
बिहीबार सम्मेलनको उद्घाटन सत्रमा सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले प्रहरीको नेतृत्वदायी भूमिकामा महिला कहिले पुग्ने ? भनेर प्रश्न उठाइन् । उनले त्यति मात्रै पनि भनिनन्, सेनाभित्र एउटा अधिकृतले तल्लो दर्जाको महिलामाथि गरेको यौन हिंसाको प्रसंग निकाल्दै उच्च तहका पुरुषबाट महिलामाथि हुने जुनसुकै तहको हिंसा बाहिर नआउने गरेको बताइन् ।
लैङ्गिक विभेदको प्रसंगमा प्रधानले सुरक्षा गार्डको रूपमा महिला प्रहरीलाई किन जिम्मेवारी नदिने ? भनेर प्रश्न समेत उठाइन् ।
तर, विगतमा सुरक्षागार्ड त परैको कुरा बाहिर डेक्समा काम गर्ने महिला प्रहरी समेत हाकिमबाट असुरक्षित भएका घटना बाहिरिएको थियो ।
प्रथम महिला प्रहरी चैत्यमायाको विरासत अहिले कहाँ पुग्यो ?
नेपाल प्रहरीको स्थापनाको ७४ वर्षमा प्रथम महिला प्रहरी सम्मेलन शुरू भएको छ ।
वि.सं. २००८ मा स्थापना भएको प्रहरी संगठनमा पहिलोपटक महिला प्रहरीमा भर्ना भएकी चैत्यमाया डंगोल अहिले पनि जीवित छिन् ।

२००८ असार १५ मा प्रहरी जवानमा भर्ना भएकी डंगोललाई बिहीबार सम्मेलनको उद्घाटन सत्रमा प्रहरी मुख्यालयले सम्मान गरेको छ ।
यसअघि ६६ औं प्रहरी दिवसमा प्रहरीको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएकी डंगोलले ३१ वर्ष प्रहरी सेवामा लागेर २०३९ मा प्रहरी सहायक निरीक्षक (असई)बाट अवकाश पाएकी थिइन् ।
चैत्यमायाको त्यतिबेलाको साहसको कथा नेपाल प्रहरीमा अहिले पनि जीवित छ ।

हाल नेपाल प्रहरीमा जनपद र प्राविधिक गरी कूल जनशक्तिको १२.४१ प्रतिशत अर्थात् ९ हजार २७८ जना महिला प्रहरी कार्यरत छन् ।
सम्मेलनमा लैङ्गिक उत्तरदायी र समावेशी प्रहरी निर्माणमा महिला प्रहरीको सशक्त भूमिका, महिला प्रहरीको योगदानको कदर र व्यावसायिक पहिचान, महिला स्वास्थ्यसम्बन्धी विषय, साहसिक र उत्पेरणायुक्त अनुभव आदानप्रदान, नेपाल प्रहरीको कल्याणकारी योजना, महिला प्रहरीका लागि वित्तीय साक्षरता, आत्मनिर्भरता र सुरक्षित भविष्य, साइबर सुरक्षा र डिजिटल फर्म्याटमा दक्षता विकास, कार्यस्थलमा सम्मान र सुरक्षासँगै लैंगिक संवेदनशीलता, महिला दुर्व्यवहारविरुद्ध शून्य सहनशीलता, चुनौती र सम्भावनाको दृष्टिकोणबारे छलफल हुने जनाइएको छ ।

आज र भोलि हुन लागेको सम्मेलनमा प्रहरी प्रधान कार्यालयका सबै विभागहरूबाट १३ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट १ जना, सातवटै प्रदेश प्रहरी कार्यालयहरूबाट ७ जना, नेपाल प्रहरी प्रदेश कार्यालयहरूबाट ७ जना, प्रतिष्ठान, तालिम केन्द्र र अपराध अनुसन्धान विद्यालयबाट ११ जना, उपत्यकास्थित अनुसन्धान गर्ने इकाइहरू (सीआईबी, साइबर ब्यूरो, मानव बेचबिखन ब्यूरो, लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, परिसर, वृत्त, प्रभागबाट १५ जना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, उपत्यका ट्राफिक कार्यालय, ट्राफिक परिसर र वृत्तबाट ६ जना, ७४ वटा जिल्ला प्रहरी कार्यालय, वडा र इलाका प्रहरी कार्यालयबाट ८० जना, प्रहरी अस्पतालबाट १ जना, केनाइन कार्यालयबाट १ जना, केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट १ जना, गण, प्रहरी विद्यालय, विपद व्यवस्थापन महाशाखा र कार्यदलबाट ७ जना र उपत्यकास्थित अन्य कार्यालयबाट जुनियर र सिनियर अधिकृत गरी ५० जना सम्मेलनमा सहभागी छन् ।
दुर्गम र अन्य जिल्लाकालाई भने भर्चुअल माध्यमबाट सहभागी गराइने प्रहरी मुख्यालयले जनाएको छ ।

यस्तो छ प्रहरी संगठनमा महिला प्रहरीको इतिहास
चैत्यमायाले असई हुँदा अवकाश पाइन् । नेपाल प्रहरीमा महिलाबाट पहिलोपटक प्रहरी निरीक्षक बन्ने पविता देवी कुइँकेल (हाल स्वर्गीय) थिइन् । उनी २०१२ मंसिर २९ गते प्रहरी निरीक्षकमा बढुवा भएकी थिइन् ।
प्रहरीको इतिहास हेर्दा २०४० माघ २३ मा प्रथम महिला प्रहरी कम्पनीको स्थापना भएको देखिन्छ । उक्त कम्पनीमा १३१ जना कार्यरत थिए ।
महिला प्रहरीका लागि २०५२ भदौ ८ मा ७० जनाको दरबन्दी निकासा भएको थियो । २०५३ फागुन १५ मा महिला ट्राफिक गुल्मको स्थापना भएको देखिन्छ । उक्त गुल्मका लागि ५५ जना दरबन्दीको निकासा भएको थियो ।

२०६५ मंसिर ११ मा प्रहरीको उपल्लो दर्जा (डीआईजी) सम्म पुग्ने पहिलो महिला प्रहरी बनिन्, पार्वती थापा ।
त्यसपछि उनीभन्दा माथिल्लो दर्जामा पहिलो महिला एआईजीको पगरी डा. दुर्गा थापा पुनले गुथेकी थिइन् । उनी २०७५ कात्तिक २५ मा प्राविधिकतर्फ एआईजीमा बढुवा भएकी थिइन् ।
प्रशासनतर्फको पहिलो महिला प्रहरी एआईजीमा भने पूजा सिंहको नाम आउँछ । उनी २०७९ जेठ २३ मा एआईजीमा बढुवा भएर प्रहरीको मानवस्रोत विकास विभागको प्रमुखका रूपमा काम गरेकी थिइन् ।
कुन दर्जामा कति महिला प्रहरी ?
डीआईजी– १
एसएसपी – ६
एसपी – ८
डीएसपी – ३९
इन्स्पेक्टर – १५४
वरिष्ठ सई – १३२
सई – २४०
असई – ४७८
वरिष्ठ हवल्दार – २७५
हवल्दार – ११४२
सहायक हवल्दार– १५७९
जवान– ४३९१
कार्यालय सहयोगी – ५७३
प्रशिक्षार्थी असई – ११
प्रशिक्षार्थी जवान – २४९