
विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी प्रतिवेदनमा शिक्षकहरूले पाउने सुविधा थप भएका छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बिहीबार पारित गरेको विधेयकमा शिक्षकका सुविधा थपिएका हुन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन पेश गर्दै समिति सभापति अम्बरबहादुर थापाले शिक्षकको तलब वृद्धि उस्तै प्रकृतिका सरकारी सेवा समान हुने व्यवस्था गरिएको जानकारी दिए ।
विधेयकमा खुला प्रतियोगिताद्वारा शिक्षक भर्ना गर्दा उम्मेदवारको उमेर २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र महिला तथा अपांगता भएकोका हकमा ३९ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
‘शिक्षकको तलब वृद्धि उस्तै प्रकृतिका सरकारी सेवा समान हुने व्यवस्था गरिएको छ । बिदाको सूचीमा अन्य बिदासँगै बेतलबी बिदा थप गरिएको छ,’ थापाले भने, ‘शिक्षकको सरुवा गर्दा स्थानीय तहले राष्ट्रिय मापदण्डका आधारमा चक्रीय प्रणालीका आधारमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।’
समिति सभापति थापाले विद्यालय शिक्षा विधेयक पारित भएर कार्यान्वयनमा आएपछि सरकारी स्कूलको शैक्षिक गुणस्तर बढ्ने विश्वास लिए ।