२७ जेठ २०८३, बुधबार

उपत्यका प्रहरीको तीन वर्षे कार्ययोजना– विभिन्न अभियानसँगै एक प्रहरी, एक ‘टेक्निक’ !

भदौ ६, २०८२
काठमाडौं
उपत्यका प्रहरीको तीन वर्षे कार्ययोजना– विभिन्न अभियानसँगै एक प्रहरी, एक ‘टेक्निक’ !

काठमाडौं उपत्यका प्रहरी कार्यालयले त्रि–वर्षीय कार्ययोजना बनाएर प्रहरी प्रधान कार्यालयमा पठाएको छ ।

आर्थिक वर्ष २०८२/०८३ देखि २०८४/०८५ भित्र उपत्यकाका प्रहरीले गर्ने काम कारबाहीलाई समेटेर कार्ययोजना बनाई मुख्यालयमा पठाइएको हो ।

विशेषगरी शान्तिसुरक्षा, अपराध नियन्त्रण र सर्वसाधारणसँग जोडिएका विषयमा केन्द्रित रहेर काम गर्ने १४ वटा लक्ष्य, ८३ कार्यगत उद्देश्य र १९४ वटा क्रियाकलाप कार्ययोजनामा समेटिएका छन् ।

उपत्यका प्रहरी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले कार्ययोजनाको मूल लक्ष्य ‘सुरक्षित काठमाडौं उपत्यका’ रहेको बताए ।

शान्त तथा अवरोधमुक्त छिमेकी अभियान, युवासँग प्रहरी अभियान, ‘वान पुलिस, वान टेक्निक’ कार्यक्रम, चाडपर्वको अभिलेखीकरण, प्रहरी कर्मचारीलाई नि:शुल्क परामर्श सेवा, ‘क्राइम हटस्पट र क्राइम म्यापिङ’ गरी बढी अपराध हुनसक्ने सम्भावित स्थानहरूको पहिचान गर्ने, सामाजिक सञ्जाल तथा इन्टरनेटहरूमा आपराधिक गतिविधि, गुण्डागर्दी जस्ता शान्ति सुरक्षामा प्रत्यक्ष असर पार्न सक्ने क्रियाकलापको निगरानी गरी अपराध अनुसन्धान गर्ने, ‘साइबर पट्रोल युनिट’ बनाउने र बसपार्क तथा पकेटहरूमा जबर्जस्ती यात्रु तान्ने, ब्याग तान्ने, जबर्जस्ती टिकट काट्न लगाउने प्रवृत्तिलाई निस्तेज पार्ने लगायतका विषय कार्ययोजनाका मुख्य विशेषता छन् ।

यो कार्ययोजना पूरा गर्न प्रहरी संगठनभित्रै भौतिक पूर्वाधारमा बढोत्तरी, मानव स्रोत व्यवस्थापनको विकास, प्रहरीको आचरण व्यवहारमा सुधार, प्रहरीको मनोबल तथा उत्प्रेरणा वृद्धि, प्रहरी कारबाही र परिचालनलाई थप प्रभावकारी बनाउने, सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सुधार, अत्याधुनिक प्रविधिको प्रयोगमा जोड, प्रहरी कार्यक्रममा स्थानीय तह र जनसहभागिता वृद्धि लगायतका काम गर्नुपर्ने देखिन्छ ।

‘प्रहरीको मुख्य काम भनेकै शान्ति सुरक्षा हो, यसका लागि पहिला अपराध नियन्त्रणमा प्रहरी सक्षम हुनुपर्छ,’ एआईजी तामाङले भने, ‘प्रहरीलाई स्रोत साधनको अभाव छ । यो भनेर हामी उम्कने कुरा पनि हुँदैन । भएका स्रोत साधनको उच्चतम प्रयोग गरेर प्रहरीले काम गर्छ ।’

तामाङका अनुसार कार्ययोजनालाई लक्षित गरेर प्रहरी कर्मचारीलाई ‘वान पुलिस, वान ट्रेनिङ’ दिन शुरू भइसकेको छ ।

‘कम्तीमा अपराधी पक्राउ गर्न जाँदा एउटा प्रहरीले एउटा टेक्निकमार्फत उसलाई नियन्त्रणमा लिन सकोस् भन्ने हाम्रो बुझाइले तालिम दिइएको हो,’ उनले भने, ‘अपराधीले प्रहरीमाथि आक्रमण गरेर फरार हुने अवस्था नआओस् भन्नका लागि प्रहरीलाई तयार बनाइएको हो ।’

काठमाडौं उपत्यकामा आर्थिक अपराध विशेष गरी बैंकिङ कसुर र ठगीका घटना धेरै हुने गरेको र त्यसका लागि अनुसन्धानमा दख्खल भएका प्रहरी कर्मचारी अपुग भएको गुनासो तामाङको छ ।

‘देवानी प्रकृतिका मुद्दामै प्रहरी अल्झिनुपर्ने अवस्था छ,’ तामाङले भने, ‘अझ वैदेशिक रोजगार ठगी मुद्दा पनि प्रहरीलाई नै हेर्न दिने कुरा सुन्दैछु, प्रहरीको क्षमताले भ्याएसम्म जे–जे जिम्मेवारी आउँछ हेर्ने हो ।’

उपत्यकामा प्रहरीको जनशक्ति थोरै रहेको र २०७६ देखि संगठन व्यवस्थापन सर्वेक्षण (ओएनएम) नभएको जानकारी उनले दिए । हाल उपत्यकाभरिको प्रहरी दरबन्दी ११ हजार ७४९ जना रहे पनि कार्यरत जनशक्ति भने १० हजार २७ जना छन् ।

‘पछिल्लो जनगणनाअनुसार उपत्यकाको जनसंख्या ३० लाख २५ हजार ३२८ हो, तर कार्यरत प्रहरीको संख्या हेर्दा एक प्रहरीले तीन सय एक जनालाई सुरक्षा दिनुपर्ने अवस्था छ,’ तामाङले भने, ‘हामीले भएका जनशक्तिको पनि उच्चतम प्रयोग गर्ने भनेका छौं र त्यही अनुसार कार्ययोजना बनाएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्