
ऋग्वेदीय सूक्तहरूमा इन्द्रद्वारा वृत्रवधको प्रसङ्ग भेटिन्छ तर, उल्लेख भने निकै संक्षिप्तरूपमा भएको छ । (ऋग्वेद १।३२।६ र ८।७।३) यसै परिघटनालाई पौराणिक ग्रन्थहरूले भने केही बढाएर विवेचन गरेका छन्, जसमा श्रीमद्भागवतमहापुराण र देवीभागवत आदि पर्दछन् । यहाँ वृत्रलाई निकै डर लाग्दो दानवको रूपमा चित्रण गरी घृणाको दृष्टिले हेरिएको छ भने इन्द्रलाई सभ्य, शिष्ट र शौम्य भनेर प्रशंसा गरिएको छ तर, वास्तविकता भने उल्टो छ । न त्यहाँ उल्लेख भएजस्तो वृत्रासुर खराब असुर थिए न इन्द्र नै त्यति ठूला व्यक्तित्वका धनी ।
वास्तविकता त के हो भने खराबी वृत्रमा होइन इन्द्रमा बढी देखिन्छ । शायद इतिहास जित्नेको घोडा भनिएको यही होला । पराजित भएकाले एउटा पौरखी प्राणी वृत्रलाई खलनायक बनाइयो । विजयी भएकाले खुरापातीका माहिर खेलाडी इन्द्र नायकको रूपमा देखिए । यस आलेखमा यसैलाई केलाउने प्रयास गरिएको छ ।
प्रसङ्ग करिब ई. पू. १८०० तिरको हो । जब हालका मनु वैवस्वतका इक्ष्वाकु आदि पुत्रकुलका आदित्यहरू र पुत्री इलाकुलका ऐलहरू आर्यसंस्कृति गठन गरी ईलावर्त (हालको राजनीतिक भूगोलअनुसार भारतीय उपमहाद्वीपको उत्तरपश्चिम गिलगिट पर्वतआसपास तथा तत्कालीन रुसको दक्षिणपश्चिको क्षेत्र हालको किर्गिस्तान, उज्वेकिस्तान, ताजकिस्तान र ईरानको पूर्वी क्षेत्रको भूभाग)बाट भारतवर्षतिर लागे तब ईलावर्तमाथि देवजातिका सरदार इन्द्रले कब्जा जमाएका थिए । तथापि उनी त्यतिमा मात्र रोकिन भने चाहेनन् । किनकि उनी कुटील र ईर्ष्यालु त यसै पनि छँदै थिए । त्यसमाथि सुषानगरी अमरावती (जर्जिया निकट ककेशस पर्वतीय शृङ्खला)को साँघुरो क्षेत्रबाट ईलावर्तजस्तो विशाल भूभागसम्म आइपुगेपछि उनको महत्वकांक्षा थप बढेर आएको थियो । त्यसैले उनी आसपासको क्षेत्र पर्शिया, मेसोपोटामिया, बेबिलोनियातिर आँखा लगाउन लागे तर, त्यताको स्थिति उनले सोचेजस्तो भएन ।
उनले इलावर्तको दक्षिण तथा पश्चिमतिरका जाति बेबिलोनियनहरूलाई हात लिन सफलता पाएका भए पनि पर्शियनहरूले पत्याएनन् । त्यसपछि उनी त्यतातिरको विजय अभियानलाई थाती राखी पूर्वतर्फ लागी बीचका तमाम कविला सरदारहरूलाई पराजित गरी सप्तसिन्धु (पञ्जाव, जो हाल भारत र पाकिस्तानमा विभाजित छ)को समीप आइपुगे । त्यतिबेला सप्तसिन्धु भृगुवंशी त्वष्टापुत्र वृत्रको अधीनमा थियो, जो दासहरूको नेता थिए ।
वृत्रासुर निकै पौरखी र पराक्रमी थिए । कतिले उनलाई सम्राट पनि भनेका छन् तर, त्यति बेला राजारजौटाको अवधारणा विकास भइसकेको थिएन । मात्र के हो भने उनी त्यस क्षेत्रको सरदार भने पक्कै थिए । वृत्रासुर आफैंमा निकै पौरखी र पराक्रमी त छँदै थिए । त्यसमाथि उनका सहयात्री कविलाहरू पनि उनीजस्तै पाएका थिए । त्यसैले इन्द्रले सिधै वृत्रासुरलाई जित्न सक्ने अवस्था देखेनन् र कुटील खेलको गोटी चाल्नतिर लागे । उनको चालमा सप्तसिन्धु आसपासका कविलाका सरदार दिवोदास, सुदास, यदु, तुर्वसु आदिलाई त सहजै फसाए तर, वृत्रासुरलाई भने फसाउन सकेनन् । त्यसपछि उनी थप शक्ति सञ्चय गर्न मरुतहरूसँग मित्रताको हात बढाउन पुगे, जो त्यतिबेला बलुचिस्तानबासी कविलाहरूका सरदार थिए । इन्द्रले वृत्रासुरलाई हटाउन सहयोग गरे यज्ञभागको अधिकारी बनाइदिने प्रलोभन देखाएकाले मरुतहरू पनि सजिलै उनको पक्षमा उभिन पुगे ।
यता मूलपुरोहितको आश्वासन दिएर विश्वरूप (वृत्रासुरका दाजु( लाई पनि आफ्नो पक्षमा ल्याउन सफल भए । अझै विष्णु (सूर्य) बाटाका बाधक थिए । किनभने वृत्रासुरले विष्णुलाई निकै मान्दथे । यसको कारण के थियो भने एक त उनी वृत्रासुरको इष्टदेव थिए अर्को भृगुपुत्री लक्ष्मीसित विवाह गरेका कारण कुटुम्बीमा पनि पर्थे । त्यसैले इन्द्रले विष्णुलाई पनि आफ्नो योजना सुनाउँदै यस मामिलामा मौन बसिदिन दबाब दिन थाले ।
विष्णुले पनि आर्यजाति र देवजातिमा मित्रता भए असुरहरूसँग मुकाबिला गर्न सहज होला भन्ने ठानी ठीकै छ नि त भन्दै यस मामिलामा मौन रहिदिने आश्वासन दिएका थिए । त्यसपछि इन्द्रले पूर्ण सजधजका साथ वृत्रासुरमाथि आक्रमण गरे तर, वृत्रासुर यति बढी बलिया थिए कि उनको अगाडि देवसैन्य एकैछिन पनि टिक्न सकेनन् । त्यसपछि देवहरू भागाभाग गर्दै सहयोगको भीक्षा माग्न विष्णुसमक्ष पुगे । उनीहरूको कुरा सुनेपछि विष्णुले तत्कालीन वस्तुस्थिति बोध गराउँदै भने– ‘तत्कालका लागि अवस्था तपाईँहरूको अनुकुल देखिएको छैन । यसै पनि उनीहरूका शक्ति तपाईँहरूको भन्दा बढी छ । तपाईँहरू बाहिरबाट आउनुभएको छ उनीहरू यहीँका रैथाने शक्ति हुन् । त्यसमाथि शम्बरजस्ता छिमेकीशक्ति पनि उनीहरूकै साथमा छ । त्यसैले मैत्रीसन्धी गरी मेलमिलाप गर्ने सल्लाह दिन्छु । नीतिवाक्य पनि शत्रुपक्ष बलियो छ भने सन्धी गर्नुपर्छ भन्ने छ । आफूलाई लागेको कुरा भनेको हुँ । बाँकी तपाईँहरूको इच्छा ?’
विष्णुको कुरा देवहरूलाई ठीकै लाग्यो र केही ऋषिहरूका साथमा मैत्रीसन्धीको प्रस्ताव लिएर वृत्रासुरसमक्ष पुगे । पहिले त वृत्रासुर आनाकानी गर्दै थिए तर, देवहरूले निकै अनुनय गरेकाले सहमत भएकाले इन्द्र र वृत्रासुरको बीचमा मैत्री सन्धि भयो तर, इन्द्र थिए साह्रै कप्टी र कुटिल । एक दिन साँझको समयमा घुम्न समुद्र किनारतिर गएको बेला वज्र हानी विना कारण वृत्रासुरको हत्या मात्र गरेका थिएनन् आगो लगाई उनको नगरी मोहनजोद्दारो र हरप्पालाई समेत ध्वस्त पारिदिए । वृत्रासुरको मृत्युपछि उनका दाजु विश्वरूप निकै रिसाएर यजमानी पेशा नै छाडेर हिँडिदिए । त्यसपछि इन्द्रले तक्षमार्फत् उनको पनि हत्या गएर । फलत: उनलाई ब्रह्महत्याको पाप लाग्यो र प्रयश्चित्तका खातिर मानसरोवरतिर लागे ।
यसरी इन्द्रले तत्काल सप्तसिन्धुमाथि विजय पाएका भए पनि समय सँधै एकै नाशको रहेन । हेर्दाहेर्दै उनले सप्तसिन्धुमात्र होइन ऐलभूमिको सत्ता पनि गुमाउनुपर्यो । झण्डै उनकै नगरी अमरावतीसमेत गुमेको थियो । धन्य सप्तऋषिले उनको अनुपस्थितिमा अमरावती कब्जा गर्ने नहुषलाई हटाइदिएका थिए र मात्र त्यतिसम्म बचेको थियो । त्यसैले इन्द्र र उनका सहयोगी मरुत आदिको अहिलेसम्म पनि पर्शियनक्षेत्रमा नामोनिसानै भेटिन्न तर, वृत्रासुरको नगरी मोहनजोद्दारो र हरप्पाले भने अहिलेसम्म पनि वृत्रासुरकालीन समाजको पहिचान दिरहेको छ । पछिल्ला दिनमा त्यस क्षेत्रमा उत्खनन गर्दा जेजति भग्नावशेष फेला परेका छन् ती सबै वृत्रासुरकालीन समाजकै अवशेष मानिन्छ ।