
शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले उदयपुरका विद्यालयहरूमा शैक्षिक किट तथा विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरिएको यस अभियानमार्फत कुल ४५० विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका शौर्य सिमेन्टले जानकारी दिएको छ ।
शिक्षा क्षेत्रको सशक्तीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले सो कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई कापी, कलम, झोला, पेन, ज्यामिति बक्सका साथै विद्यालयहरूलाई डस्टबिन, वाटर फिल्टर, जग, पाठ्यपुस्तक लगायत आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरिएको हो ।
उदयपुरको रुपैरानी आधारभूत विद्यालय- आहाले, जनता आवासीय विद्यालय- थलियाटार, वीरेन्द्र आवासीय विद्यालय- भन्टाबारी, श्री आधारभूत विद्यालय, बबेलालगायतमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

यसअघि पनि शौर्य सिमेन्टले कटारी नगरपालिका–७, मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालयको उद्घाटन कार्यक्रममा शैक्षिक सामग्री वितरण गर्दै आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको छ।
वितरण कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा शौर्य सिमेन्टको खानी तथा ब्रान्ड टिमको उपस्थितिमा सम्पन्न भएको थियो ।
साथै, कटारी नगरपालिका–८ का वडा अध्यक्ष नविन्द्रकुमार तामाङको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयहरूले प्राप्त सहयोगले विद्यार्थीहरूको सिकाइ वातावरणलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

यस अवसरमा शौर्य सिमेन्टका प्रतिनिधिले भने, 'शिक्षा नै दिगो विकासको आधार हो । शैक्षिक सामग्रीमार्फत हामीले विद्यार्थीहरूलाई अझ राम्रोसँग पढ्न र आफ्नो भविष्य निर्माण गर्न प्रेरित गर्ने उद्देश्य लिएका छौं।'
शौर्य सिमेन्टले निरन्तर रूपमा शिक्षा, स्वास्थ्य, संस्कृति तथा सामुदायिक विकासमा विभिन्न सामाजिक उत्तरदायित्व गतिविधिहरू सञ्चालन गर्दै आएको छ । गुणस्तर, दिगोपन र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध कम्पनीले पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य र समुदाय उत्थानमा निरन्तर योगदान पुर्याउँदै आएको छ।
