
युक्रेनले रुसको ऊर्जा संरचनामाथि आक्रमण तीव्र बनाएपछि रुसभित्र पेट्रोलियम संकट गहिरिँदै गएको छ ।
रुसका तेल रिफाइनरीमाथि भएको ड्रोन आक्रमणका कारण पेट्रोलियम आपूर्ति अवरुद्ध हुँदै गएको छ भने रुसमै पेट्रोलको मूल्य इतिहासमै सबैभन्दा उच्च पुगेको छ । सरकारकै पेट्रोल निर्यातमा रोक लगाउने निर्णयले पनि मूल्य नियन्त्रण गर्न नसकेको देखिएको छ ।
सामान्यतया गर्मी याममा किसानदेखि ड्राइभरसम्म सबैले पेट्रोलको बढी खपत गर्ने समय हो । तर, यही बेला युक्रेनले रिफाइनरी, पम्पिङ स्टेसन र इन्धन बोकेका रेलहरूलाई लगातार निशाना बनाउन थालेपछि संकट झन् चर्किएको हो ।
युक्रेनी ड्रोनले यसै महिना मात्र कम्तीमा १० वटा प्रमुख रूसी ऊर्जा संरचना भत्काइसकेका छन् । युक्रेनको गुप्तचर निकायका अनुसार आक्रमणमा परेका रिफाइनरीहरूले वार्षिक ४४ मिलियन टनभन्दा बढी पेट्रोलियम उत्पादन गर्ने क्षमता राख्थे, जुन रुसकै कुल उत्पादन क्षमताको १० प्रतिशतभन्दा बढी हो ।
सबैभन्दा ठूलो आक्रमण भोल्गोग्रादस्थित ‘लुकोइल रिफाइनरी’मा भयो, जुन दक्षिणी रुसको सबैभन्दा ठूलो रिफाइनरी हो । १४ अगस्ट बिहानै भएको प्रहारपछि उक्त प्लान्टमा आगो बलिरहेको दृश्य सीएनएनले पुष्टि गरेको थियो ।
त्यसपछि १९ अगस्टमा पुनः त्यही रिफाइनरी आक्रमणमा परेको थियो । सारातोभ र रोस्तोभ क्षेत्रका अन्य ठूला रिफाइनरी पनि युक्रेनी ड्रोनको लक्ष्य बनेका छन् ।
रुसका विभिन्न प्रान्त तथा कब्जामा राखिएको क्राइमियामा पेट्रोल आपूर्ति संकट देखा परेको छ । क्राइमियाका रुस–नियुक्त गर्भनर सेर्गेई अक्सेनोभले पेट्रोल अभावलाई लजिस्टिक समस्या भन्दै सरकार आपूर्ति र मूल्य स्थिर बनाउन सबै उपाय गरिरहेको जनाएका छन् । तर, सामाजिक सञ्जालमा सक्रिय युक्रेनी समर्थक समूहले भने पेट्रोल गायब हुनुलाई ड्रोन आक्रमणको सफल परिणाम भनेर व्याख्या गरेका छन् ।
सरकारी अनुदानका बाबजुद रुसका उपभोक्ताले पेट्रोलमा महँगो मूल्य तिर्नुपरेको छ । सेन्ट पिटर्सबर्ग स्टक एक्सचेन्जमा मात्र यसै महिना थोक मूल्य १० प्रतिशतले बढिसकेको छ भने वर्षको शुरूदेखि अहिलेसम्म करिब ५० प्रतिशतले वृद्धि भएको छ । यसको प्रभाव विशेषगरी रुसको पूर्वी क्षेत्रका उपभोक्ताले बढी भोग्नुपरेको छ ।
जसको ४० प्रतिशत आक्रमण रूसभित्रै ५०० किलोमिटरभन्दा बढी दूरीमा भएको जनाइएको छ ।
यी दाबी प्रमाणित गर्न नसकिए पनि हालैका महिनामा शुद्धीकरण केन्द्र, भण्डारण ट्याङ्की र पम्पिङ स्टेसनमा भएको क्षतिको दृश्य प्रमाण प्रशस्त छ । मर्मत कार्य युरोप र अमेरिकाको प्रतिबन्धले अझ जटिल बनाएको छ ।
हालै सार्वजनिक गरिएको प्रतिवेदनमा युक्रेनी विदेश गुप्तचर सेवाले रूसी कम्पनीहरूले आपूर्ति संकट समाधानका लागि बेलारुसबाट पेट्रोलियम उत्पादन आपूर्ति गरिरहेको उल्लेख गर्यो । बेलारुसको सरकारी शुद्धीकरण कम्पनीका अनुसार हालै रूसी बजारमा बेलारुसी तेल उत्पादनप्रतिको चासो निकै बढेको छ।
विशेषज्ञहरूका अनुसार निकट भविष्यमा मूल्य घट्ने सम्भावना न्यून छ । उल्टै सरकारको निर्यात प्रतिबन्धले कच्चा तेल निर्यात बढेको छ, जसले आन्तरिक बजारलाई थप दबाबमा पारेको छ ।
युद्ध रणनीतिमा ऊर्जा प्रहार
युक्रेनी सेनाले लामो दूरीको युद्ध रणनीतिलाई ड्रोन, मिसाइल र तोडफोडमार्फत विस्तार गरिरहेको छ । उनीहरूले दाबी गरेका छन् कि यस वर्ष मात्र यस्ता आक्रमणले ७४ अर्ब अमेरिकी डलर बराबरको क्षति पुर्याएको छ ।
साथै युक्रेनले रुसबाट हंगेरी र स्लोभाकिया जाने ‘द्रुजबा पाइपलाइन’माथि पनि आक्रमण गरेको छ । यसले दुई युरोपेली देश असन्तुष्ट भए पनि युक्रेनका लागि यो रुसको ऊर्जा निर्यातमा प्रहार गर्ने अर्को रणनीति हो ।
यसबीच युक्रेनले आफ्नै उत्पादनमा आधारित नयाँ क्रूज मिसाइल ‘फ्लेमिङो’ सार्वजनिक गरेको छ, जसको मासिक उत्पादन क्षमता २०० राखिएको छ । विशेषज्ञहरूका अनुसार यस्ता हतियारहरूले रूसी रिफाइनरीहरूमा ठूलो क्षति पुर्याउने क्षमता राख्छन् ।
हजारौं रूसी पेट्रोल पम्पहरू तुरुन्तै बन्द हुने सम्भावना नदेखिए पनि आक्रमणका कारण बढ्दो महँगाइ र मूल्य नियन्त्रण गर्ने प्रयासमा सरकारले पेट्रोल निर्यातमा प्रतिबन्धलाई आगामी महिना–महिना थप लम्ब्याउने विश्लेषकहरूको अनुमान छ ।
युक्रेनका लागि, मोर्चामा दबाब खेपिरहेका बेला रुसको ऊर्जा क्षेत्रलाई प्रहार गर्नु, केवल युद्ध रणनीति मात्र होइन, रुसको अनिवार्य विजय भन्ने प्रचारलाई कमजोर पार्ने प्रयास पनि हो ।