२४ जेठ २०८३, आइतबार
अमेरिकामा चिनियाँ विद्यार्थीको बहस

समर्थकबाटै आलोचना खेप्दै ट्रम्प– किन पेचिलो बन्यो चिनियाँ विद्यार्थी भित्र्याउने विषय ?

भदौ ११, २०८२
काठमाडौं
समर्थकबाटै आलोचना खेप्दै ट्रम्प– किन पेचिलो बन्यो चिनियाँ विद्यार्थी भित्र्याउने विषय ?

अमेरिकी राजनीतिमा सधैं चर्चाको विषय बनिरहने आप्रवासन, शिक्षा नीति र राष्ट्रिय सुरक्षाको त्रिकोणात्मक सम्बन्धमाथि राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो टिप्पणीले नयाँ बहस सिर्जना गरेको छ ।

विशेषगरी, ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) समर्थकहरूले चिनियाँ विद्यार्थीलाई अमेरिकामा अध्ययनका लागि अनुमति दिने ट्रम्पको घोषणाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

ट्रम्पले ६ लाख चिनियाँ विद्यार्थीलाई अमेरिकामा अध्ययनका लागि स्वागत गर्न गर्नुपर्ने बताएपछि मागा समूहभित्रै आक्रोश देखिएको हो ।

ट्रम्पको विरोधाभास र मागाको आक्रोश

ट्रम्प प्रशासनको पहिलो कार्यकालमा ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताहरूमाथि कडा निगरानी र भिसा प्रतिबन्ध लगाउने प्रयास गरिएको थियो ।

तत्कालीन परराष्ट्रमन्त्री माइक पोम्पिओ र अन्य अधिकारीहरूले चिनियाँ विद्यार्थीहरूलाई राष्ट्रिय सुरक्षामा जोखिमका रूपमा चित्रण गरेका थिए ।

तर, अहिले ट्रम्पले ६ लाख चिनियाँ विद्यार्थीलाई अमेरिकामा अध्ययनका लागि अनुमति दिनु 'धेरै महत्त्वपूर्ण' रहेको भनी दिएको अभिव्यक्तिले उनका कट्टर समर्थकहरूलाई नै चकित पारेको छ ।

मार्जोरी टेलर ग्रीन र ट्रम्पका बफादार मानिने लौरा लुमर जस्ता मागाका प्रभावशाली व्यक्तिले यस्तो निर्णयको चर्को आलोचना गरिरहेका छन् । ग्रीनले अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)प्रति वफादार हुन सक्ने विद्यार्थीहरूलाई 'भित्र्याउनु हुँदैन' भनी तर्क गरेकी छन् ।

यो विरोधाभास ट्रम्पको ‘अमेरिका फर्स्ट’ र व्यापार सम्बन्धको जटिल सन्तुलनमा निहित रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एकातर्फ, उनी चिनियाँ कम्युनिष्ट पार्टीको खतरा औंल्याउँछन् भने अर्कोतर्फ, उनी चीनसँगको व्यापार वार्तामा सहजता ल्याउन र अमेरिकी अर्थतन्त्रलाई फाइदा पुर्‍याउन चिनियाँ विद्यार्थीहरूको उपस्थितिलाई आवश्यक ठान्छन् ।

यसले ट्रम्पको नीतिगत लचकता वा अवसरवादलाई पुष्टि गरेको कतिपय विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

राष्ट्रिय सुरक्षा चिन्ता र आप्रवासन बहस

मागा समूहको प्रमुख चिन्ता राष्ट्रिय सुरक्षासँग जोडिएको छ । उनीहरू चिनियाँ विद्यार्थीहरूलाई ‘जासुस’ वा ‘सीसीपीका एजेन्ट’का रूपमा हेर्छन्, जसले अमेरिकी प्रविधि, बौद्धिक सम्पत्ति र गोप्य जानकारी चीनमा पठाउन सक्छन् ।

लौरा लुमरले चिनियाँ विद्यार्थीहरूलाई ‘चिनियाँ जासुस’ भनी सम्बोधन गर्दै ६ लाख जासुसलाई देशमा प्रवेश दिने कार्य गर्नु गलत हुने बताएकी छन् ।

यद्यपि, धेरैजसो चिनियाँ विद्यार्थीहरू सामान्य शैक्षिक उद्देश्यका साथ अमेरिका आउँछन् । उनीहरूको ठूलो संख्यालाई राष्ट्रिय सुरक्षाको खतराका रूपमा चित्रण गर्नु अतिरञ्जित हुन सक्ने न्यूजवीकले जनाएको छ ।

तर, केही व्यक्तिगत घटनाहरूले यस्तो चिन्ता बढ्न थालेको छ । अमेरिकी सरकारले चिनियाँ विद्यार्थीहरूको पृष्ठभूमिमाथि कडा निगरानी राख्दै आएको छ ।

अमेरिकी विश्वविद्यालयहरूमा चिनियाँ विद्यार्थीहरूको योगदान र प्रभाव

अमेरिकी उच्च शिक्षा प्रणालीमा अन्तर्राष्ट्रिय विद्यार्थी, विशेषगरी चिनियाँ विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनको तथ्यांकअनुसार २०१९-२० शैक्षिक वर्षमा ३ लाख ७२ हजार चिनियाँ विद्यार्थीहरू अमेरिकामा पढिरहेका थिए । उक्त संख्या कोभिड-१९ महामारीअघिको सबैभन्दा उच्च थियो ।

२०२२-२३ मा यो संख्या घटेर २ लाख ९० हजार पुगेको थियो भने २०२३-२४ मा २ लाख ७७ हजारमा झरेको थियो । फेरि पनि चीन अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने प्रमुख देशहरूमध्ये एक हो । तर, पछिल्लो समय भारतले चीनलाई उछिनेको छ ।

अमेरिकी वाणिज्य सचिव हावर्ड लुट्निकले फक्सन्यूजको 'द इन्ग्राम एङ्गल' कार्यक्रममा बोल्दै ६ लाख चिनियाँ विद्यार्थीहरूलाई अमेरिका आउन नदिएमा विश्वविद्यालयहरू खाली हुने तर्क गरेका छन् ।

यो टिप्पणीले चिनियाँ विद्यार्थीहरूको आर्थिक र शैक्षिक योगदानलाई स्पष्ट पारेको छ । उनीहरूले ट्युसन शुल्क र जीवनयापनका लागि खर्च गर्ने रकमले विश्वविद्यालयहरूको बजेटलाई ठूलो टेवा पुर्‍याउँछ ।

यसका अतिरिक्त चिनियाँ विद्यार्थीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितजस्ता क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । यसले अमेरिकी अनुसन्धान र प्राविधिक विकासमा योगदान पुर्‍याउने गरेका छन् ।

अमेरिकी-चीन सम्बन्धमा राजनीतिकरण

यो बहस अमेरिकी-चीन सम्बन्धमा कसरी राजनीतिकरण भइरहेको छ भन्ने कुराको एक ज्वलन्त उदाहरण रहेको न्यूजवीकको टिप्पणी छ । ट्रम्पको टिप्पणीले चीनसँगको जटिल सम्बन्धमा थप तनाव उत्पन्न गर्न सक्ने आशंका गरिएको छ । एकातर्फ, ट्रम्प व्यापार सम्झौताका लागि चिनियाँ विद्यार्थीहरूलाई स्वागत गर्न इच्छुक देखिन्छन् भने अर्कातर्फ उनका समर्थकहरू राष्ट्रिय सुरक्षाको नाममा चीनप्रति कठोर नीति चाहन्छन् ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चिनियाँ विद्यार्थीहरूलाई अमेरिका आगमनमा सोधपुछ र दुर्व्यवहार गरिएको विषयमा बोल्दै ट्रम्पले स्वागत गर्नुपर्छ भनेकोमा चीन सकारात्मक रहेको बताइन् ।

उनले अमेरिकालाई चीनको चिन्तालाई गम्भीरतापूर्वक लिन र आधारहीन सोधपुछ, दुर्व्यवहार र फिर्ता पठाउने कार्य रोक्न आह्वान गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्