२७ जेठ २०८३, बुधबार
टिकटका नाममा ठगी धन्दा

बेलायत उड्न लागेकी युवतीको टिकट हेरेर विमानस्थलका कर्मचारीले सोधे– खै नम्बर ?

भदौ ११, २०८२
काठमाडौं
बेलायत उड्न लागेकी युवतीको टिकट हेरेर विमानस्थलका कर्मचारीले सोधे– खै नम्बर ?
AI Genereted Photo

काभ्रे धुलिखेलकी रश्मिला अधिकारी (नाम परिवर्तन) बायो मेडिकल साइन्समा स्नातक तह अध्ययन गर्न बेलायत उड्ने तरखरमा थिइन् ।

उनले एयरलाइन्सको टिकट ‘बूकिङ’ गर्न ट्राभल कम्पनीहरू सर्च गरिन् । सामाजिक सञ्जाल फेसबूकमा ‘डीडी ट्राभल एन्ड टुर्स’ नामक कम्पनीको पेज भेटियो ।

पेजमा गएर उनले म्यासेज गरिन् । तुरुन्तै उनलाई ह्वाट्सएप नम्बर दिइयो । ह्वाट्सएपमा कुरा गरिन् ।

कतार एयरवेजमार्फत काठमाडौंबाट दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँबाट लण्डनस्थित जीबी हेथ्रो विमानस्थलसम्म पुग्न ९७ हजार लाग्ने जानकारी रश्मिलालाई गराइयो । रश्मिलाले सहमति जनाइन् ।

शुरूमा उनीसँग एड्भान्सका लागि भन्दै १० हजार रुपैयाँ मागियो । उनले प्राइम कमर्सियल बैंकमा रहेको खातामा १० हजार रुपैयाँ पठाइन् ।

त्यसपछि रश्मिलाले दोस्रोपटक ३० हजार र बाँकी ५७ हजार रुपैयाँ मंगलबार बेलुका मात्रै पठाइन् ।

त्यसअघि रश्मिलाले भिडियोमा आउन भन्दा ट्राभल कम्पनीका प्रतिनिधिले मोबाइलमा समस्या छ भन्ने जवाफ दिएका थिए ।

पैसा पठाउँदा बिजनेस एकाउन्टको नम्बर माग्दा पनि खातामा समस्या भएकाले कामदारकै खातामा पैसा पठाउन भनिएको थियो ।  टिकट आउने कन्फर्म भयो भन्दै उनी खुशी भइन् ।

बुधबार बिहान रश्मिला परिवारसँग खुसी साट्दै फूलमाला र टीका लगाएर आमाबुवा, दाजु र आफन्तसँग धुलिखेलदेखि काठमाडौं आइन् ।

सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर डीडी ट्राभल्स एन्ड टुर्समा कल गरिन् । टिकट पठाइदिन भनिन् । ट्राभलबाट रश्मिलाको ह्वाट्सएपमा टिकट आयो । कृषि पेशा गर्ने बुवा र गृहिणी आमासँग अंकमाल गर्दै बिदाबारी भएर रश्मिला बोर्डिङ पासका लागि बिहान साढे ८ बजे नै लाइनमा बसिन् ।

राहदानी र टिकट हेर्न बसेका विमानस्थलका कर्मचारीले रश्मिलाको टिकट नम्बर नै देखेनन् । अनि ‘यो ‘फेक’ टिकट हो, कहाँबाट बूकिङ गरेको ?’ भनेर सोधे । रश्मिलाको सातोपुत्लो गयो ।

धन्न उनले नेपाली सीमकार्ड बोकेकी थिइन् । तुरुन्तै उनले बुवालाई फोन गरिन् ।

‘म त बर्बाद हुने भएँ बुवा, टिकट नक्कली परेछ, हामीलाई ट्राभल कम्पनीले ठग्यो’ फोनमा उनले बुवासँग विलाप गरिन् ।

विमानस्थलबाट बाहिर निस्केर बुवाआमासँग रश्मिला रुन/कराउन थालिन् । अनि ट्राभल कम्पनीलाई फोन गरिन् । फोन उठेन ।

फेसबूक पेजमा राखिएको नम्बरमा पनि कसैले फोन रिसिभ गरेनन् । त्यसपछि आफू ठगिए पनि अरू नठगिऊन् भनेर रश्मिलाले प्रहरीमा उजुरी दिने निधो गरिन् ।

त्यसक्रममा उनले अर्को ट्राभलबाट टिक बूकिङ पनि गरिन् । पछिल्लो टिकटको मूल्य २ लाख २६ हजार पर्‍यो । उनको फ्लाइट आज (बुधवार) बेलुका नै छ ।

रश्मिलाले प्रहरीमा उजुरी गर्ने इच्छा देखाएपछि सपरिवार विमानस्थलबाट टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आपुगे ।

त्यहाँ साइबर अपराध अनुसन्धान गर्ने पिलरमा पुगेर सबै कुरा राखे ।

‘डीडी ट्राभल एन्ड टुर्सको पेज फेसबूकमा देखेर मैले म्यासेन्जर र ह्वाट्सएपमा कुरा गरी टिकट बूकिङ गरेको हुँ,’ रश्मिलाले प्रहरीमा दिएको जाहेरीमा लेखेकी छिन्, ‘जब विमानस्थलमा पुगेर टिकट देखाएँ, तब मात्र म झल्याँस्स भएँ ।’

रश्मिलाले आफू विश्वासमा परेर डीडी ट्राभलबाट ठगिए पनि अरू नेपाली नठगिऊन् भनेर जाहेरी दिन आएको प्रहरीलाई बताइन् ।

उनले जाहेरीमा डीडी ट्राभलले शुरूमा ठगी गरेको ९७ हजार र पछि ढिला गरी टिकट काट्दा लागेको दुई लाख २६ हजार पीडकबाट भराइदिन माग गरेकी छिन् ।

‘मलाई त टिकट बूक गरेको २४ घण्टाभित्रै फूल पेमेन्ट नगरेपछि समस्या हुन्छ भनेर सबै पैसा बैंकमा ट्रान्सफर गर्न लगाए,’ रश्मिलाले लोकान्तरसँग भनिन्, ‘विश्वासमा पैसा हाल्दै गएँ, ठगिएको पछि मात्रै थाहा भयो ।’

अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले रश्मिलाको जाहेरी प्राप्त भएको र डीडी ट्राभलसँग सम्बन्धित व्यक्तिको खोजी कार्य भइरहेको बताए ।

उनले भने, ‘हामीले जाहेरी लिएर डीडी ट्राभल एन्ड टुर्स कम्पनीको सञ्चालक र रश्मिलाले पैसा ट्रान्सफर गरेको खातावालाको खोजी गरिरहेका छौं । थप अनुसन्धान भइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्