
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बाल नरसिंह राणा तानिएपछि प्रहरी संगठनभित्र तरंग उत्पन्न भएको छ । जिल्ला कारागार कैलालीभित्र भएको झडपलाई लिएर सुरक्षा समन्वयको अभाव देखाउँदै राणालाई घटना भएको २२ दिनपछि प्रहरी मुख्यालयमा तानिएको छ ।
गत साउन २३ गते राति कारागारभित्र झडप हुँदा एक जनाको ज्यान गएको थियो । कारागारलाई ७२ घण्टासम्म कैदीबन्दीले आफ्नो नियन्त्रणमा राखेका थिए ।
कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालसँग राणाले कारागारभित्र बल प्रयोग गर्न अनुमति मागेका थिए । तर, हमालले अनुमति नदिएपछि प्रहरी लामो समय कारागारभित्र प्रवेश गर्न पाएन । सीडीओ हमाललाई यसअघि नै गृह मन्त्रालयमा तानिएको थियो ।
राणालाई पनि हटाउन गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएको चर्चा प्रहरी संगठनभित्र छ । स्रोतका अनुसार गृहमन्त्रीसँग थापाले जेलभित्रको आन्तरिक प्रशासनको कमजोरीलाई लिएर एसपी तान्दा राम्रो सन्देश नजाने बताएका थिए ।
अन्तत: उपल्लो तहकै दबाब आएपछि थापाले थेग्न सकेनन् । राणालाई बुधबारै प्रहरी मुख्यालयमा हाजिर हुन निर्देशन गयो । कैलालीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी नरेन्द्र चन्दलाई पठाउने निर्णय भयो ।
जेलको बाह्य सुरक्षा नेपाल प्रहरीले गर्दै आए पनि भित्री प्रशासन कैदीबन्दी मध्येबाटै सञ्चालित हुन्छ । कैदीबन्दी मध्येबाट चुनिएका नाइके र चौकीदारले आन्तरिक प्रशासन चलाउँदै आएका हुन्छन् । यस्तो अवस्थामा प्रहरीको भूमिकामाथि प्रश्न चिह्न उठाउँदै एसपी राणालाई तान्नु उपयुक्त नहुने बुझाइ प्रहरी मुख्यालयकै उच्च अधिकृतहरूको छ ।
नेतृत्वलाई चुनौती दिने ‘बलिया’ एसपी सिलवाल !
राणालाई तानेपछि त्यसको ठ्याक्कै विपरीत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एसपी राजकुमार सिलवालका सम्बन्धमा प्रहरी नेतृत्व उदार बनेको चर्चा संगठनभित्र चलेको छ ।
उनी र कार्यालय व्यवस्थापनको विषयलाई लिएर अहिले ३५ वटा उजुरी परेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय र प्रहरी मुख्यालयको उजुरी छानबिन महाशाखामा परेका उजुरीमाथि छानबिन भइरहेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा दुईवटा र एसपीको नेतृत्वमा तीनवटा गरी पाँचवटा समिति बनाएर छानबिन गरिरहेको छ ।
कोही अधिकृतमाथि छानबिन गर्नुपर्ने अवस्था आएमा सम्बन्धित अधिकृतलाई हाल कार्य गरिरहेको ठाउँबाट तत्काल जिम्मेवारी मुक्त गराउने चलन छ ।
आफूविरुद्धका प्रमाण गायब गराउन सक्छ भनेर पनि सम्बन्धित प्रहरी अधिकृतलाई बहाल रहेको जिम्मेवारीबाट मुक्त गराउनुपर्ने नीतिलाई प्रहरी मुख्यालयले ध्यान नपुर्याएको देखिन्छ ।
सिलवाल यस्ता प्रहरी अधिकृत हुन्, जसले एसपी हुँदा पाएको कुनै पनि ‘पोस्टिङ’ पूरा अवधि चलाएका छैनन् । कहीँ आर्थिक अनियमितता, कहीँ तस्करसँगको मिलेमतो, त कहीँ फौजभित्रको ‘चेन अफ कमान्ड’लाई चुनौती दिएको आरोप उनीमाथि लाग्ने गरेको छ ।
पछिल्लो समय राजमार्गमा सीसीटीभी नभएको ठाउँमा ‘चेकप्वाइन्ट’ राखेर पैसा उठाई चालकलाई दिएको हैरानी, ट्राफिक युनिटका जुनियर (जवान, सहायक हवल्दार) को सरुवा, मालबाहक गाडीलाई प्रत्येक दुई किलोमिटरमा चेकप्वाइन्ट राखेर दिएको हैरानीलगायतका विषयलाई लिएर सिलवालविरुद्ध उजुरी परेपछि उनीमाथि छानबिन अघि बढेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुख रहँदा पनि उनी पूरा अवधि (एक वर्ष) नखाँदै तानिएका थिए । त्यतिबेला उनले जारी गरेको उर्दी अहिले पनि चर्चित छ, ‘प्रहरीले राजमार्गमा आवतजावत गर्ने गाडीको इन्ट्री गर्ने हो, चेकजाँच गर्ने होइन ।’ आफूभन्दा जुनियरलाई अपशब्द प्रयोग गर्ने र मनपरी ढंगले रकम असुलेर हैरानी दिने काम गरेको भन्दै सिन्धुलीबाट तानिएको थियो ।
सिलवाल विगतमा तत्कालीन महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी (हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय) मा डीएसपीको रूपमा कार्यरत रहँदा कमलपोखरीमा एक रेष्टुराँमा मादक पदार्थ सेवन गरी हुलहुज्जत गरेपछि निलम्बनमा परेका थिए ।
सिलवालविरुद्ध मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकलाई जरिवाना गरेर छाड्नुपर्नेमा रातभर नियन्त्रणमा राखेर छाडेको, चोरीको गाडी भन्सारमा बुझाउनुपर्नेमा आफैं व्यक्तिगत प्रयोजनका लागि चढेको, ट्रान्सपोर्टका गाडीलाई ८ लाख रुपैयाँ लिएर छाडेको लगायत विषयमा अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमाप्रसाद चतुर्वेदीले विभिन्न विषयमा केन्द्रित रहेर आएका उजुरीका सम्बन्धमा फरक–फरक पाँचवटा छानबिन समिति बनाएर सिलवालमाथि छानबिन चलिरहेको बताए ।
तर, पाँचवटा छानबिन समिति गठन गरेर छानबिन भइरहेका एसपी सिलवाललाई प्रदेशमा तानेर छानबिन गर्नुपर्ने बताउँछन्, प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी ।
‘पहिलो कुरा प्रश्न उठ्नासाथ प्रहरी अधिकृत तानिहाल्ने प्रवृत्ति राम्रो होइन, तर छानबिनका लागि पाँचवटा समिति नै गठन भइसकेको अवस्था हो भने उसलाई ड्युटीमै राख्नु हुँदैन,’ ठकुरीले लोकान्तरसँग भने, ‘संगठनको नेतृत्वले गर्ने व्यवहारमा कसैलाई काखा र कसैलाई पाखा गर्न पाइँदैन, ग्राभिटी हेरेर एक्सन लिन सक्नुपर्छ ।’
मैले छानबिन गर्न निर्देशन दिइसकें : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले एसपी सिलवालको सम्बन्धमा प्रश्न उठिकसेकाले उनीमाथि गम्भीर भएर छानबिन गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिइसकेको बताए ।
उनले लोकान्तरसँग भने, ‘प्रश्न उठिसकेपछि त्यसै चुप लागेर बस्ने कुरा हुँदैन, के भएको हो, विस्तृत छानबिन गरेर रिपोर्टिङ गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिइसकेको छु ।’
सुरक्षा समन्वयको अभाव देखिएकाले कैलालीका एसपीलाई तानिएको लेखकले बताए ।
उनले भने, ‘सीडीयोसाबमाथि प्रश्न उठ्यो, उहाँलाई तानियो । एसपीसाबमाथि पनि प्रश्न उठेकाले उहाँलाई पनि तानिएको हो ।’