
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्र कुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत खापुङले भदौ १९ गतेदेखि प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।
वर्तमान आईजीपी दीपक थापाले ३० वर्षे सेवा अवधिका कारण भदौ १८ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् ।
आईजीपी थापा र एआईजी खापुङले एउटै मितिमा प्रहरी निरीक्षकमा भर्ना हुन आवेदन दिए पनि नियुक्ति पाउने बेला समय तलमाथि परेको थियो ।
थापाले २०५२ भदौ १९ र खापुङले २०५२ कात्तिक २७ मा नियुक्ति पाएका थिए ।
झण्डै ८० हजार फौजको नेतृत्व गर्ने कुर्सीमा बस्न खापुङका लागि लामो अवधि छैन ।
झण्डै साढे दुई महिना संगठनको नेतृत्व गर्ने खापुङ कात्तिक २७ मा ३० वर्षे सेवाअवधिका कारण अवकाशमा जानेछन् ।
आईजीपी पद शक्तिशाली र आकर्षक हो । राजनीतिक दलदेखि दृश्य तथा अदृश्य शक्तिकेन्द्रहरूले पनि सकेसम्म गहिरो हस्तक्षेप गरेर यो पद आफू अनुकूलको बनाउन चाहन्छन् ।
तर, यसपटक खापुङ सिनियारिटीकै आधारमा नेतृत्वमा पुगेका छन् । उनी आफ्ना ब्याचका एक्ला दाबेदार थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक वरीयताका आधारमा खापुङलाई आईजीपी बनाउन सकारात्मक नै थिए । सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि आईजीपीका सम्बन्धमा कुनै हस्तक्षेप गरेन । सोहीकारण पनि नियुक्ति विवादरहित बनेको छ ।
फलस्वरूप प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्किनुअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १९ भदौबाट लागू हुने गरी ज्येष्ठता र वरिष्ठताका आधारमा एआईजी खापुङलाई नेपाल प्रहरीको ३२ औं आईजीपीमा नियुक्त गर्ने निर्णय गर्यो ।
खापुङले २०५१ मा प्रहरी निरीक्षकमा भर्ना हुन फारम भरेका थिए । नियुक्ति २०५२ कात्तिक २७ मा पाए ।
खापुङसँगै प्रहरी निरीक्षकको आवेदन भरेका वसन्तबहादुर कुँवर आईजीपी भएर गत चैत ४ गते नै अवकाशमा गइसके । कुँवर र खापुङकै ब्याची दीपक थापा साढे ५ महिना आईजीपी बनेर भदौ १८ मा अवकाशमा जाँदैछन् ।
कात्तिक २७ मै नियुक्तिपत्र पाउनेमध्ये राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, सुरेन्द्रप्रसाद मैनाली, चक्रबहादुर सिंह, अनुरागकुमार द्विवेदी, मधुसुदन लुइँटेल, डिल्लीराज पन्त र मोहनप्रसाद पोखरेलले उमेर हदका कारण अवकाश पाइसकेका छन् ।
खापुङसँगै प्रहरी निरीक्षकको फारम भरेका तर फरक मितिमा नियुक्ति पत्र पाएका एआईजी कृष्णहरि शर्मा पोखरेल भने उमेरहदका कारण भदौ १४ मा अवकाशमा जाँदैछन् ।
यस्तो छ खापुङको विगत
तेह्रथुममा जन्मिएका खापुङले प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँदा पूर्वको बेलबारी, डीएसपी हुँदा दरबारमार्ग लगायतमा रहेर जिम्मेवारी सम्हाले ।
एसपी हुँदा प्रहरीको कर्मचारी प्रशासन शाखामा काम गरे । एसएसपी छँदा नै चुनौतीपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेको अनुभव समेत उनीसँग छ ।
डीआईजी हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कोशी प्रदेशको कमान्ड सम्हालेका खापुङ एआईजी भएपछि सीआईबीमा पुगे । खापुङसँग इटाली, कोरिया, भियतनाम र चीनबाट विभिन्न सुरक्षासम्बन्धी तालिम लिएको अनुभव छ ।
प्रहरीको इतिहासमा तोरण शमशेर जबरापछि खापुङ नै कम समयावधिका लागि आईजीपी बन्नेछन् । २८ चैत २०१२ मा आईजीपी बनेका जबरा ३१ चैत २०१२ मा सेवानिवृत्त भएका थिए ।