२८ जेठ २०८३, बिहीबार
प्रहरीका भावी नेतृत्व

प्रहरी इतिहासमै दोस्रो छोटो समयका लागि नेतृत्व– ढिला नियुक्ति पाउँदा खापुङलाई जुरेको अवसर

भदौ १३, २०८२
काठमाडौं
प्रहरी इतिहासमै दोस्रो छोटो समयका लागि नेतृत्व– ढिला नियुक्ति पाउँदा खापुङलाई जुरेको अवसर

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्र कुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत खापुङले भदौ १९ गतेदेखि प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।

वर्तमान आईजीपी दीपक थापाले ३० वर्षे सेवा अवधिका कारण भदौ १८ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् ।

आईजीपी थापा र एआईजी खापुङले एउटै मितिमा प्रहरी निरीक्षकमा भर्ना हुन आवेदन दिए पनि नियुक्ति पाउने बेला समय तलमाथि परेको थियो ।

थापाले २०५२ भदौ १९ र खापुङले २०५२ कात्तिक २७ मा नियुक्ति पाएका थिए ।

झण्डै ८० हजार फौजको नेतृत्व गर्ने कुर्सीमा बस्न खापुङका लागि लामो अवधि छैन ।

झण्डै साढे दुई महिना संगठनको नेतृत्व गर्ने खापुङ कात्तिक २७ मा ३० वर्षे सेवाअवधिका कारण अवकाशमा जानेछन् ।

आईजीपी पद शक्तिशाली र आकर्षक हो । राजनीतिक दलदेखि दृश्य तथा अदृश्य शक्तिकेन्द्रहरूले पनि सकेसम्म गहिरो हस्तक्षेप गरेर यो पद आफू अनुकूलको बनाउन चाहन्छन् ।

तर, यसपटक खापुङ सिनियारिटीकै आधारमा नेतृत्वमा पुगेका छन् । उनी आफ्ना ब्याचका एक्ला दाबेदार थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक वरीयताका आधारमा खापुङलाई आईजीपी बनाउन सकारात्मक नै थिए । सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि आईजीपीका सम्बन्धमा कुनै हस्तक्षेप गरेन । सोहीकारण पनि नियुक्ति विवादरहित बनेको छ ।

​फलस्वरूप प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्किनुअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १९ भदौबाट लागू हुने गरी ज्येष्ठता र वरिष्ठताका आधारमा एआईजी खापुङलाई नेपाल प्रहरीको ३२ औं आईजीपीमा नियुक्त गर्ने निर्णय गर्‍यो ।

खापुङले २०५१ मा प्रहरी निरीक्षकमा भर्ना हुन फारम भरेका थिए । नियुक्ति २०५२ कात्तिक २७ मा पाए ।

खापुङसँगै प्रहरी निरीक्षकको आवेदन भरेका वसन्तबहादुर कुँवर आईजीपी भएर गत चैत ४ गते नै अवकाशमा गइसके । कुँवर र खापुङकै ब्याची दीपक थापा साढे ५ महिना आईजीपी बनेर भदौ १८ मा अवकाशमा जाँदैछन् ।

कात्तिक २७ मै नियुक्तिपत्र पाउनेमध्ये राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, सुरेन्द्रप्रसाद मैनाली, चक्रबहादुर सिंह, अनुरागकुमार द्विवेदी, मधुसुदन लुइँटेल, डिल्लीराज पन्त र मोहनप्रसाद पोखरेलले उमेर हदका कारण अवकाश पाइसकेका छन् ।

खापुङसँगै प्रहरी निरीक्षकको फारम भरेका तर फरक मितिमा नियुक्ति पत्र पाएका एआईजी कृष्णहरि शर्मा पोखरेल भने उमेरहदका कारण भदौ १४ मा अवकाशमा जाँदैछन् ।

यस्तो छ खापुङको विगत

तेह्रथुममा जन्मिएका खापुङले प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँदा पूर्वको बेलबारी, डीएसपी हुँदा दरबारमार्ग लगायतमा रहेर जिम्मेवारी सम्हाले ।

एसपी हुँदा प्रहरीको कर्मचारी प्रशासन शाखामा काम गरे । एसएसपी छँदा नै चुनौतीपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेको अनुभव समेत उनीसँग छ ।

डीआईजी हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कोशी प्रदेशको कमान्ड सम्हालेका खापुङ एआईजी भएपछि सीआईबीमा पुगे । खापुङसँग इटाली, कोरिया, भियतनाम र चीनबाट विभिन्न सुरक्षासम्बन्धी तालिम लिएको अनुभव छ ।

प्रहरीको इतिहासमा तोरण शमशेर जबरापछि खापुङ नै कम समयावधिका लागि आईजीपी बन्नेछन् । २८ चैत २०१२ मा आईजीपी बनेका जबरा ३१ चैत २०१२ मा सेवानिवृत्त भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्