११ साउन २०८३, सोमबार
जीवनदर्शन

जातीय द्वन्द्वको दुष्परिणाम

भदौ १४, २०८२
काठमाडौं
जातीय द्वन्द्वको दुष्परिणाम

करिब ई. पू. २६०० वर्षअघि असिरिया साम्राज्य ठूलो पनि थियो र विभिन्न वैभवले सम्पन्न पनि थियो । भूमध्यसागरको पूूर्वीभागमा अवस्थित यस साम्राज्यको सीमा भूमध्यसागरको दक्षिणदेखि पश्चिममा फारसको खाडी तथा दजला र फरातजस्ता ठूल–ठूला नदीको तटवर्ती इलाकासम्म फैलिएको थियो । यो त्यही क्षेत्र हो, जो हालको राजनीतिक भूगोलअनुसार इराक, ईरान, कुवेत, सिरिया तथा तुर्की आदि देशमा विभाजित हुन पुगेको छ ।

यद्यपि सीमाना यदाकदा घटबढ पनि हुने गर्थ्यो । कहिले केही खुम्चिन्थ्यो, कहिले केही फैलिन्थ्यो । तैपनि तत्कालीन तीन ठूला सामाज्यमा यसको स्थान सर्वोपरि नै मानिन्थ्यो । साम्राज्यका सम्राट् अदितीपुत्र आदित्य सूर्यका शशुराबा विश्वकर्मा अर्थात् त्वष्टाप्रजापति थिए । यहाँको हावापानीमा विविधता थियो, रहनसहनमा विविधता थियो । भूमि पर्वतीयप्रदेश, समतलभूभाग र कृषियोग्य जमिनमा विभक्त थियो । यीमध्ये पर्वतीय इलाकामा विभिन्न किसिमका खानी तथा खजानाहरू पाइन्थ्यो, समतल भूभागमा चुना तथा वालुवा भेटिन्थे भने कृषियोग्य भूमिमा गहुँ, जौ, ताडी, छोडा, नरिवल, अञ्जिरजस्ता विभिन्न प्रजातिका अन्न उत्पादन हुन्थे ।

तर, समय सधैं एकनाशको हुँदो रहेनछ । परिवर्तन प्रकृतिको नियम हो । उसले आफ्नो नियम कहाँ छाडेको छ । यहाँ पनि यस्तै भयो । करिब ई. पू. २६०० वर्षतिर सो साम्राज्यलाई शेमपुत्र असुरले आफ्नो अधीनमा लिएर असिरियन सभ्यता स्थापित गरे । इतिहासकारहरूका भनाइअनुसार साम्राज्यको नाम असिरिया रहनुको कारण पनि यही थियो तर, होमरले आफ्नो काव्यमा भने राक्षसको रूपमा वर्णन गरेका छन् ।

यसको कारण के थियो भने यहाँको एउटा पर्वतमालाबाट मध्यरातमा प्रदीप्त प्रकाश प्रकट हुनु, जुन वर्षातको मौसममा थप प्रदीप्त हुने गर्दथ्यो । यहाँका जनजीवन निकै सहिष्णु र मिलनसार थियो । सकेसम्म सबैसँग मिलेर बस्ने उनीहरूको स्वभाव थियो । शायद यसैले होला विस्तारै उत्तरतिरबाट सेमेटिक (इब्रानि र अरबीभाषी एक समूह) जाति आएर बस्न लागे । रहँदाबस्दा उनीहरू एकआपसमा यति बढी घुलमिल भए कि उनीहरूको मिश्रणबाट असुर जाति र आसुरी भाषा निर्माण हुन पुग्यो । कतिपय पश्चिमी इतिहासकारहरूले उनीहरूलाई असी भन्ने गरिएको पाइन्छ ।

शायद यो यही असुरकै संक्षीप्त नाम हुनुपर्छ । विस्तारै यसकै एउटा शाखा हालको सिरियातिर गएर बस्न लागे, जो पछि गएर फोनेशिक जातिको नामले प्रख्यात भए । उनीहरूमध्ये केही नाविक थिए केही शिल्पकारिता गर्दथे ।

उता काश्यपसागरको निकटवर्ती भूमि सुमेर (ईलावर्त–ताजकिस्तान, चीन, मङ्गोलिया निकट), ककेशश (एशिया र युरोप अर्थात् कालासागर र काश्यपसागरको बीचमा अवस्थित पर्वतमाला, जो रुस, जर्जिया, आर्मेनिया, अजरवैजान, तुर्की र ईरानसम्म फैलिएको छ) तथा पामीर घाँटी (ताजकिस्तान–अफगानिस्थानदेखि चीन तथा किर्गिस्तानसम्म आवतजावत गर्ने क्षेत्र)लगायत तमाम सुषाक्षेत्रमा अदितीपुत्र १२ भाइ आदित्यहरूको साम्राज्य थियो ।

आफूलाई देवजाति भन्न रुचाउने यी १२ आदित्यमा जेठाको नाम वरुण र कान्छाको नाम सूर्य थियो । उनीहरूले आफूहरूमध्येबाट इन्द्रलाई आफ्नो साम्राज्यको सम्राट् बनाएका थिए । शायद उनी पनि १२ भाइ आदित्यमध्येकै एक थिए । उनी आफ्नो साम्राज्यको सीमा बिस्तार गर्दै पर्शिया तथा बेविलोनियासम्म पुगेका थिए । तिनताका दैत्य तथा दानवहरू श्वेतपर्वत (काँगडादेखि उत्तर शिवालिक पर्वतशृङ्खला)को आसपासतिर बस्थे भने राक्षसजातिको बसोबास लङ्का तथा दक्षिणारण्यतिर थियो । यक्ष जाति गन्धमादनपर्वत (कैलाशपर्वतको उत्तरतर्फ–तिब्बत) आदि क्षेत्रमा बस्दथे भने अप्सरा तथा गन्धर्वजातिको बसोबास हेमकूटपर्वत (काराकोरम) क्षेत्र थियो ।

त्यस्तै नागजति आफ्नो निवास निषध (काराकोरमदेखि उत्तर) पर्वतको आसपासतिर बस्ने गर्थे । यता नेपाल तथा भूटान र असमतिर  द्रविण र मङ्गोलको मिश्रण (शायद किराँत, बोडो आदि) जातिको बसोबास थियो ।

देवजाति आदित्यहरू आफूलाई सुर भन्दथे र सिरियाली साम्राज्यका असुरजातिलाई खासै मन पराउँदैनथे । शायद यसको कारण सम्पत्ति तथा सीमा विवाद हुनुपर्छ । किनभने असुरजाति सम्पन्न तथा शीप र कलाका धनी थिए भने सुर अर्थात् देवजाति उनीहरूभन्दा केही कम नैै देखिन्थे । बिस्तारै उनीहरूबीचको द्वेषले यति बढी डर लाग्दो रूप लियो कि १४ पटकसम्म घोर सङ्ग्राम भएको थियो । इतिहासमा देवासुर सङ्ग्रामको नामले परिचित यस युद्धले ३०० वर्षभन्दा बढी समय लिएको थियो ।

आपसी युद्ध, मारकाट तथा झगडाको कारण कहिले देवभूमि असुरहरूको अधीनमा पुग्दथ्यो, कहिले असुरभूमि देवहरूको कब्जामा पुग्दथ्यो ।

बेलाबेलामा उनीहरू सन्धि गरी मेलमिलापको नीति पनि लिन्थे तर कुन सट्को सन्धि तोडिन्थ्यो पत्तै हुँदैन थियो । बेबिलोन नै दुई पटकसम्म सुर र असुरको अधीनमा आउनेजाने भइसकेको थियो । यस्तैमा ई. पू. ६४८ तिर असुर वेनिपाल (सिरिया साम्राज्यका अन्तिम सम्राट्) ले इन्द्रसँग बेबिलोन र ई. पू. ६४५ मा अन्य केही क्षेत्र कब्जा गरी सुर साम्राज्य सदाका लागि अन्त्य गरिदिए ।

यसरी असुर वेनिपालको बेबिलोन तथा त्यस आसपासको क्षेत्रमाथिको आक्रमणपछि देवजाति छिन्नभिन्न भए । कोही कतै लागे कोही कतै लागे । यस्तैमा एउटा हाँगो भारतवर्षतिर लागी सिन्धु तट (हाल पाकिस्तानको सातौँ ठूलो शहर पाकिस्तानी पञ्जाव) मा मूलस्थान नामक नगर बसाई रहन लागे । पछि गएर यही मूलस्थान नामक नगरको आधारमा उनीहरू मुल्तानी जाति (हिन्दू र सिख दुवै धर्म मान्ने सूर्यवंशी क्षत्रिय प्रभावशाली समूह, जो हिजोआज पञ्जाव, हरियाणा, दिल्ली, उत्तरप्रदेश आदि क्षेत्रमा छरिएर रहेका छन्) मा परिणत हुन पुगेको अनुमान गरिएको छ ।

यसरी ई. पू. २६०० सय वर्ष अघिदेखि ई. पू. ६४५ सम्म दुई हजार वर्षभन्दा बढी समय देवजातिको अधीनमा रहेको सुषाक्षेत्र आपसी लड्भिड्कै कारण सदाका लागि अन्त्य मात्र भएन देवजतिकै अस्तित्वसमेत सदाका लागि अन्त्य हुन पुग्यो । उता असुरजातिले पनि आफ्नो सभ्यता, संस्कृति र साम्राज्यलाई अक्षुण्ण राख्न सकेनन् । जसरी उनीहरूको साम्राज्य इराक, इरान, कुवेत, सिरिया तथा तुर्की आदि देशमा विभाजित भएर समाप्त हुन पुग्यो त्यसैगरी असुरहरू पनि हालका विभिन्न जातिमा परिणत भएर एउटा जल्दोबल्दो जाति सदाका लागि लुप्त हुन पुगेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्