२७ जेठ २०८३, बुधबार
अनलाइन स्क्याम

स्क्यामरको फन्दामा रिटायर्ड आर्मी– क्यानडा जाने लोभमा डेढ करोड गुम्यो, सकियो ४ बिगाहा जमिन

भदौ १६, २०८२
काठमाडौं
स्क्यामरको फन्दामा रिटायर्ड आर्मी– क्यानडा जाने लोभमा डेढ करोड गुम्यो, सकियो ४ बिगाहा जमिन

सेनाको जागिरबाट अवकाशपछि क्यानडामा सेक्युरिटी गार्डको जागिर खाने प्रलोभनमा परेर एकै जनाले एक करोड ३९ लाख ५६ हजार रुपैयाँमा गुमाएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका घर भएर हाल काठमाडौं तारकेश्वर नगरपालिका बस्दै आएका महाफूल चौधरी ह्वाट्सएपमा आएको एउटा फिसिङ लिंकमा क्लिक गर्दा स्क्यामरको फन्दामा परेका हुन् ।

७ महिनाअघि सेनाको जागिरबाट अवकाश पाएका उनी घरमा कामविहीन भएर बसिरहेका थिए । धेरथोर अंग्रेजी भाषा पनि जान्दथे । मोबाइल चलाउँदै गर्दा ह्वाट्सएपमा एउटा लिंक आयो । उनले क्लिक गरे ।

null

त्यहाँ क्यानडाको टोरन्टोमा रहेका ‘इडेन फूड फर चेन्ज’ कम्पनीमा जागिर खुलेको र सेक्युरिटी गार्डमा काम गर्दा मासिक चार हजार पाँच सय डलर कमाइ हुने भनेर विज्ञापन गरिएको थियो ।

४५ वर्ष नकटेका चौधरीको मनमा आशा जाग्यो । घर बस्नुभन्दा बरु केही खर्च गरेर क्यानडा जाने र परिवारको भविष्य सुनिश्चित गर्ने योजनाअनुसार उनले फिसिङ लिंकमा गएर उताबाट स्क्यामरले भनेअनुसार काम गर्दै गए ।

शुरूमा अफर लेटरका लागि उनलाई ७ लाख रुपैयाँ हाल्न लगाइयो । ह्वाट्सएपमा मात्रै कुरा गर्ने र आफूलाई पञ्जाव लुढिना मायानगर घर भएर क्यानडा बस्दै आएको बताउने सरदार जगमोहन सिंह नाम गरेका व्यक्तिले चौधरीलाई नेपालमै रहेको सुशील झाको नाममा रहेको कुमारी बैंकको खातामा ७ लाख २५ हजार हाल्न लगाएका थिए ।

null

जगमोहनले चौधरीलाई परिचय गराउँदा आफू इडेन फूड फर चेन्ज कम्पनीको सञ्चालक रहेको बताएका थिए ।

लोकान्तरको सम्पर्कमा आएका चौधरीले भने, ‘मसँग जागिर छाडेपछि ९ लाख रुपैयाँ जति थियो, सात लाख २५ हजार पठाइहालेँ । पछि भिसा पठाउला भनेर राहदानीको कपी सबै पठाएँ, तर पुन: पैसा माग्न थाल्यो ।’

चौधरीले स्क्यामरले भनेअनुसार इन्स्योरेन्स, नेशनल आईडी कार्ड, अफर लेटर, एलआईएमआईए लेटरलगायतका डकुमेन्ट बनाउन खर्च लाग्ने भन्दै पटक–पटक गरी विभिन्न बैंकका खातामा एक करोड ३९ लाख ५६ हजार रुपैयाँ पठाएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा चौधरीले दिएको जाहेरीअनुसार उनले सिटिजन्स बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एभरेस्ट बैंकलगायत विभिन्न बैंकका ५९ वटा खातामा १६५ पटक गरेर स्क्यामरले भने अनुसारका व्यक्तिको खातामा पैसा पठाएका थिए ।

null

चौधरीले २०८१ फागुन २५ गतेबाट स्क्यामरले भनेका खातामा रकम जम्मा गर्न शुरू गरेका थिए । उनले पछिल्लोपटक भने यही भदौ १० गतेसम्म रकम बैंक खातामा ट्रान्सफर गरेका थिए ।

झण्डै डेढ करोड रुपैयाँ गएपछि पनि चौधरीलाई अझै विभिन्न बहानामा रकम जम्मा गर्न भनेपछि उनी आफू ठगिएको निष्कर्षमा पुगेर प्रहरीलाई गुहार्न पुगेका हुन् ।

चौधरीले बताएअनुसार केही दिनअघि मात्रै  सशस्त्र प्रहरी बलबाट अवकाश पाएका उनका दाजुले समेत ४५ लाख रुपैयाँ क्यानडा जाने प्रोसेसिङका लागि सापटी दिएका थिए ।

‘म त बरबाद भएँ–भएँ, मेरो परिवार, आफन्त र छिमेकीहरू समेत बरबाद हुने भए,’ चौधरीले दु:खेसो पोख्दै भने, ‘म सोझो चौधरीको छोरो हजुर, विश्वासमा परेर पैसा पठाएँ, परिवारलाई राम्रै हुन्छ भनेर नातागोतासँग समेत पैसा मागें, अहिले सबै बरबाद भयो ।’

चौधरीका अनुसार उनले बुवाको नामको एक बिगाहा, दाजुको डेढ बिगाहा, माइली दिदीको सात कठ्ठा, बहिनीको सात कठ्ठा, आफ्नै साढे चार कठ्ठा, ठूली दिदीको १० कठ्ठा जमिन धितो राखेर पैसा लिएका थिए ।

‘मेरो नामको सबै जग्गा सकियो, बाबु, दाइ र दिदीहरूको जग्गा पनि सकियो, अब के गर्ने भनेर चिन्ताले सताइरहेको छ,’ चौधरीले भने, ‘उता (क्यानडाबाट बोलेको भन्ने स्क्यामरले) तिम्रो पैसा फिर्ता हुन्छ, केही अझै पठाऊ भनेर फोन आएकोआयै छ, आजै पनि दुई लाख ७० हजार पठाऊ भनेर फोन आएको थियो ।’

चौधरीका अनुसार स्क्यामर आफैंले ह्वाट्सएपमा फोन गरेर ‘तिम्रो यतिका पैसा नोक्सान भइसक्यो, अब अलिकति पैसा पठाऊ, भिसा पठाइदिन्छु’ भन्दै हैरानी दिएका छन् ।

चौधरीले सात लाख २५ हजार, चार लाख, तीन लाख २५ हजार, तीन लाख, दुई लाख ४५ हजार, दुई लाख, एक लाख समेत पटक–पटक गरी एक करोड ३९ लाख ५६ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गरेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार चौधरीको जाहेरीपछि अनलाइन ठगी हेर्ने पिलरले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

‘चौधरीजी स्क्यामरको चंगुलमा पर्नुभएछ । उहाँले एकपटक होइन, पटक–पटक गरेर पैसा पठाउँदा पनि आफू ठगिएको थाहा नपाउनुले हामी पनि अचम्ममा परेका छौं,’ एसपी आचार्यले भने, ‘उहाँले सबै पैसा नेपालीहरूकै नेपालका विभिन्न बैंक खातामा पठाउनुभएको छ । हामी ती खातावालहरूलाई सम्पर्कमा ल्याएर अनुसन्धान अघि बढाउँछौं ।’

ठगीका क्रममा स्क्यामरले पठाएका कागजात :

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्