
नेपाल आउने विदेशी नागरिक अब अध्यागमन विभागको विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणालीमा अनिवार्य दर्ता हुनुपर्ने भएको छ । असोज १ गतेदेखि नेपाल आउने विदेशी नागरिक विभागको प्रणालीमा अनिवार्य दर्ता हुनुपर्ने भएको हो ।
‘विदेशी नागरिक आफैंले पनि प्रणालीको एप डाउनलोड गरेर दर्ता गर्न सक्नेछन्,’ अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले लोकान्तरसँग भने, ‘असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा सेवा दिने क्रममा यो दर्ता गर्नुपर्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्दैछौं ।’
दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जर र क्रमशः सबै होटल, गेस्ट हाउस तथा अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा समेत यसलाई लागू गरिने उनले बताए ।
‘नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने उद्देश्यले उक्त प्रणालीमा दर्ता गर्न लागिएको हो,’ ढकालले थपे, ‘नेपालमा विदेशी नागरिक आउँदा पनि कहाँ, कुन अवस्थामा छन् भन्ने कुराको अवस्था ट्रयाक गर्न सो प्रणालीले सहज हुनेछ ।’
उक्त प्रणाली गत वर्ष विभागका सूचना प्रविधिसँग सम्बन्धित कर्मचारीहरूले आफैं विकास गरेका थिए । असोज १ गतेदेखि यसलाई लागू गर्ने निर्णय विभागले २०८२ भदौ १७ गते गरेको हो ।
नेपालमा विदेशी नागरिक आउँदा कुन ठाउँमा छन् भन्ने कुराको लोकेसन समेत ट्रयाक नहुँदा विदेशी नागरिकको सुरक्षासहित अन्य भैपरी आउँदा रेस्क्यु गर्ने अवस्था होस् वा आपराधिक काममा नै लागेको अवस्थाबारे पनि यकिन गर्न नसकिने हुनाले अब उक्त प्रणालीअन्तर्गत दर्ता हुँदा ट्रयाक गर्न सकिने ढकालले बताए ।
‘नेपाल आउने विदेशी नागरिकले विभागको एप्स डाउनलोड गरेर इन्ट्री गर्न सक्ने व्यवस्था मिलाइएको छ,’ उनले थपे, ‘तर, विदेशी नागरिकले दर्ता नगरे उपत्यकामा बस्ने होटलले अनिवार्य रूपमा दर्ता गर्नुपर्ने हुन्छ । त्यसरी दर्ता गर्दा क्यूआर कोड क्रिएट हुने र हाम्रो सिस्टममा पनि इन्ट्री हुने हुँदा लोकेसन ट्रयाक गर्न सकिन्छ ।’
कुनै मनी चेन्जरबाट विदेशी नागरिकले रूपैयाँ विनिमय गर्दा पनि मनी एक्सचेन्ज गर्ने संस्थाले उक्त सिस्टममा इन्ट्री गर्नुपर्ने हुन्छ ।
विदेशी नागरिकलाई सेवा प्रदान गर्ने ट्राभल एन्ड टुर्स कम्पनीदेखि विमान कम्पनी, ट्रेकिङ एजेन्सीसहितकाले सेवा प्रदान गर्दा उक्त प्रणालीमा विदेशी नागरिकको डेटा इन्ट्री गर्नुपर्ने हुन्छ ।
‘मानौं, अमेरिकाको कुनै नागरिक पर्यटक भिसामा नेपाल आउँदा काठमाडौंको कुनै तारे होटलमा चेक इन गर्यो भने त्यतिबेलै त्यस होटलले हाम्रो प्रणालीमा इन्ट्री गर्नुपर्ने हुन्छ,’ ढकालले थपे, ‘त्यसको भोलिपल्ट त्यो पर्यटक चेक आउट गरेर साँझ नगरकोट पुग्यो भने त्यहाँको होटलले चेक इन गर्दा पुनः इन्ट्री गर्नुपर्ने हुन्छ । यसरी इन्ट्री गर्दा ती विदेशी पर्यटक कहाँ छन् भन्ने कुरा ट्रयाक गर्न सकिन्छ ।’
पर्वतारोहीका लागि कोही आएको हो भने पर्वतारोहणसँग सम्बन्धित एजेन्सीले, रुपैयाँ विनिमय गरिएको छ भने मनी एक्सचेन्जरले, टिकट काटिएको छ भने विमान सेवा कम्पनीको एजेन्सीले इन्ट्री गर्नुपर्ने उनले खुलाए ।
नेपालमा विदेशी नागरिकहरू आएर भिसा अवधि सकिए पनि नेपालमा नै अवैध रूपमा बसिरहेको, नेपालमा पर्यटन भिसामा आउने तर विभिन्न आपराधिक कार्यमा संलग्न हुने गरेकाले पनि विदेशी नागरिकहरूलाई ट्रयाक गर्न आवश्यक देखिएको उनले बताए ।
८ हजार बढीको भिसा अवधि सकिए पनि छैनन् सम्पर्कमा
नेपालमा आजको दिनमा कतिजना विदेशी नागरिकहरू छन् भन्ने कुराको यकिन तथ्यांक अध्यागमन विभागसँग पनि नरहेको उनले बताए ।
‘आजको मितिमा कतिजना विदेशी नागरिक नेपालमा छन् भन्ने कुराको यकिन तथ्यांक त मसँग पनि छैन । विभागले पनि तत्काल दिन सक्दैन,’ उनले थपे, ‘तर, आजको मितिसम्म ८ हजार ११२ जना विदेशी नागरिकहरूको भिसा अवधि सकिए पनि विदेश नफर्किएको देखिन्छ ।’
नेपालमा पछिल्लो समय टुरिस्ट भिसामा विदेशी नागरिक आउने तर, त्यसपछि वर्किङ भिसा लिने, बिजनेस भिसा लिने र लामो समय बसेर उद्देश्यविपरीत आपराधिक काममा लाग्ने गरेको पाइएको हो ।
गत वर्ष मात्रै आपराधिक कार्यमा संलग्न ४६ सहित ४९७ जना डिपोर्ट
अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२४ मा मात्रै ४५१ जना विदेशी नागरिकलाई ओभर स्टेको आरोपमा डिपोर्ट गरिएको छ भने ४६ जनालाई विभिन्न आपराधिक कसुरमा अदालतबाट कसुर ठहर भएर कैद भुक्तान गरिसकेपछि डिपोर्ट गरिएको छ ।
जाली राहदानीको कसुरमा १६ जना, जाली भिसाको कसुरमा ३ जना, मुद्रा कसुरमा ३ जना, लागुऔषध (चरेस)मा १ जना, लागुऔषध (खैरो हेरोइन)मा २ जना, जबरजस्ती करणीमा २ जना, अभद्र व्यवहारमा १२ जना, लागुऔषध दुरुपयोगमा २ जना, नेपाल राष्ट्र बैंक कसुरमा १ जना, विदेशी विनिमयमा १ जना, लागुऔषध एन्फेटामाइनमा १ जना र सार्वजनिक सम्पत्तिविरुद्ध कसुरमा २ जनालाई डिपोर्ट गरिएको छ ।
त्यसरी डिपोर्ट गरिएकोमा सबैभन्दा बढी चीनका १४७ जना, अमेरिका र बंगलादेशका ५४/५४ जना, पाकिस्तानका ३५ जना र युकेका २७ जना छन् ।
त्यसैगरी, अस्ट्रेलियाका १२ जना, इरानका १८ जना, युगान्डाका १४ जनासहित अन्य विभिन्न देशका नागरिकहरूलाई विभागले विभिन्न कसुरमा डिपोट गरेको छ ।
नेपालमा बर्मा, भुटान, थाइल्यान्ड, सुडान, पाकिस्तानसहितका १६ देशका नागरिकहरू संयुक्त राष्ट्र संघको सिफारिशमा शरणार्थीको रूपमा बस्दै आएका छन् ।
त्यसैगरी, विभिन्न देशका नागरिकहरू पर्यटक भिसामा आउने तर पछि बिजनेस, रिलेसन, वर्किङ भिसामा कन्भर्ट गराएर समेत बस्ने गरेका छन् । त्यसैगरी, विभिन्न देशका डिप्लोम्याटलाई कूटनीतिक भिसा, अफिसियल भिसा समेत दिने गरिएको छ ।
कतार, थाइल्यान्ड, म्यानमार, इन्डोनेसिया, कम्बोडिया, इजरायलसहितका १९ देशलाई ९० दिनसम्म नि:शुल्क कूटनीतिक भिसा दिने गरिएको छ ।
त्यसपछि थप बस्नु पर्दा कन्सुलर सेवा विभागको सिफारिशमा कूटनीतिक भिसाको म्याद बढाउने गरिएको ढकालले बताए ।
तर, चीनको हकमा भने पहिलोपटक ३० दिनसम्मको मात्र नि:शुल्क कूटनीतिक भिसा दिने गरिएको छ । गैर आवासीय नेपालीको हकमा १ पटकमा २ वर्षसम्म र बढेमा १० वर्षसम्मका लागि भिसा दिने गरिएको छ ।