
देशभर शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले बुधबार दर्ज्यानी चिह्न लगाएका छन् ।
फौजमा ‘चेन अफ कमान्ड’ बलियो हुनुपर्छ । फौजी अनुशासित, व्यावसायिक र पारदर्शी हुनुपर्छ । यो कडीलाई आत्मसाथ गरिरहेका खापुङको काँधमा नेतृत्वको जिम्मेवारी आएको छ ।
नेपालमा सेनापछि ठूलो फौजी संगठन नेपाल प्रहरी हो । देशैभरि छरिएर रहेका झण्डै ८० हजार फौजको ‘कमान्ड कन्ट्रोल’ अब खापुङको हातमा रहने छ ।
कैयनपटक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को अनुभव नलिई सिधै आईजीपी नियुक्त भएकोमा खापुङसँग सीआईबीमा बसेर एआईजीको कार्यभार सम्हालेको अनुभव छ ।
काठमाडौंका प्रभावशाली युनिटहरू क्रमश: सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त दरबारमार्गको ड्युटी सम्हालेको अनुभव पनि खापुङसँग छ ।
प्रदेश तहमा उनले कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा काम गरे ।
सरकारी सम्पत्ति दुरूपयोग र भ्रष्टाचारसम्बन्धी छानबिन गर्ने अग्रणी संस्था अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि काम गरेको अनुभव खापुङसँग छ ।
झण्डै ३० वर्षसम्म प्रहरी संगठनमा काम गर्दैगर्दा राजनीतिक दलले प्रहरीलाई गर्ने उपयोगसँगै बाह्य हस्तक्षेपका बारेमा पनि खापुङ राम्रैसँग जानकार छन् ।
प्रहरीमा तीन वर्ष नेतृत्व सम्हालेका पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालले एक प्रसंगमा भनेका थिए, ‘काम गर्ने हुटहुटी हुने र क्षमतावान प्रहरी अधिकृतले अवकाश हुनुभन्दा एकदिन अघि पनि राम्रै इतिहास बनाउन सक्छन् ।’
खापुङले दुई महिना (७१ दिन) प्रहरी संगठनको नेतृत्व गर्नेछन् । उनी आईजीपी भएपछि रिक्त भएको सहित प्रहरीमा चार एआईजी पद रिक्त छन् ।
यो पदपूर्ति र खाली रहेका तर, एआईजीले नेतृत्व गर्ने प्रहरीका आकर्षक पोस्टिङहरू क्रमश: सीआईबी, काठमाडौं उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय प्रहरी प्रतिष्ठानमा हुने सरुवाले नै खापुङको सांगठनिक क्षमतालाई दर्साउने छ ।
प्रहरीमा सरुवा–बढुवामा हुँदै आएको राजनीतिक कित्ताकाटको भारी खापुङले बोक्छन् कि बोक्दैनन्, त्यो उनको आगामी कार्यशैलीले देखाउने छ ।
प्रहरी अधिकृतले राम्रो पोस्टिङ पाउन संगठनको नेतृत्वभन्दा राजनीतिक नेतृत्वलाई गुहार्ने प्रवृत्ति अहिले पनि व्याप्त छ । बढुवा हुन राजनीतिक दलको दैलो चहार्ने प्रवृत्तिलाई खापुङले रोक्न सक्नुपर्ने देखिन्छ ।
राजनीतिक आडमा ‘चेन अफ कमान्ड’लाई धज्जी उडाउने प्रहरी अधिकारीमाथि कारबाहीको डण्डा चलाउनुपर्ने चुनौती पनि उनको काँधमा आएको छ ।
नेताले आफ्ना कार्यकर्ताले कुरा लगाएकै भरमा जिल्लाका एसपी परिवर्तन गर्ने, प्रहरी मुख्यालयमा तान्ने वा कारबाही गर्न भन्दै छानबिन समिति नै गठन गर्ने गरेकोमा त्यसलाई पनि उनले चिर्नुपर्नेछ ।
प्रहरी नेतृत्वले चाहेमा राजनीतिक दबाबमा आकर्षक पोस्टिङमा पुगेर प्रहरी संगठनको नीति र अनुशासनविपरीत काम गरिरहेका प्रहरी अधिकृतलाई सुधार्न दुई महिना लाग्दैन ।
सीमा नाकामा हुँदै आएको खुलेयाम तस्करी र तस्करसँग प्रहरीले गरिरहेको बार्गेनिङका अडियो बाहिरिने क्रम अझै जारी छ । विवादास्पद प्रहरी कर्मचारीलाई ड्युटीको जिम्मेवारी दिँदा ‘हाम्रालाई राम्रा’ भन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने जिम्मेवारी पनि उनको काँधमा आएको छ ।
प्रहरीमा व्यावसायिकता ह्रास आइरहेको छ । प्रहरीभित्रका विचलन र बदनामी आमजनताका नजरमा छन् । पुलिसलाई राम्रो र व्यावसायिक छविमा ढाल्न खापुङले अग्रगामी छलाङ मार्नुपर्ने देखिन्छ ।
दर्ज्यानी चिह्न लगाएपछि व्यक्त गरेका प्रतिबद्धतामा उनी कति अडिग हुन्छन्, वा पुरानो नेतृत्वको कार्यशैलीलाई निरन्तरता दिन्छन्, त्यो भने भावी दिनले नै देखाउने छ ।
दुई ठूला चाड दशैं र तिहारको मुखमा प्रहरी नेतृत्वमा पुगेका खापुङले सर्वसाधारणलाई सुरक्षा प्रत्याभूति दिएर ढुक्कसँग चाडबाड मान्न भन्नुपर्ने छ ।
साथै, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा जोड दिनुपर्ने चुनौती छ । प्रहरी मुख्यालयभित्र रहेको विशेष कार्यदलमा कुनै बेला आईजीपीलाई उपहारका रूपमा जिल्ला प्रहरी प्रमुख लगायत गण, गुल्म प्रमुखले पठाएका खसी रुङ्न प्रहरी खटाउनुपर्थ्यो ।
अहिले त्यस्तो त छैन, तर जिल्ला–जिल्लामा व्यापारी र उद्योगपतिबाट चाडबाडमा उपहार लिने/दिने क्रम अपवादबाहेक रोकिएको छैन । लेनदेनमा अपराधी उम्काउने प्रवृत्तिलाई खापुङले नजरअन्दाज गर्नुहुँदैन । प्रहरीमा अहिले पनि मुद्दा चल्ने युनिटमा रहेका मुद्दा शाखाबाट हुँदै आएको लेनदेन नियन्त्रण हुन नसकेको चर्चा चल्ने गरेको छ ।
पीडितलाई पैसा उठाइदिएबापत र पीडकलाई मुद्दा अगाडि बढ्न नदिएबापत हरहिसाब गर्ने प्रहरी अधिकृतमाथि खापुङले डन्डा चलाउँछन् कि चलाउँदैनन्, त्यसले पनि उनको छोटो कार्यकालको सफलता निर्धारण गर्ने छ । त्यसका लागि जिल्ला, इलाका र प्रहरी चौकीको नेतृत्व गर्ने प्रहरी अधिकारी चयनमा ध्यान दिनुपर्ने हुन्छ । लामो समय एउटै युनिटमा अड्डा जमाएर बसेका वा अझ भनौं काजका नाममा काठमाडौं र कमाउ अड्डा छाड्दै नछाड्ने प्रवृत्तिलाई पनि चिर्न जरुरी छ ।
खापुङले भनेजस्तै, अहिले पनि केही प्रहरी अधिकारीका गलत हर्कतका कारण समग्र प्रहरी संगठनलाई नै बदनामीको आँखाले हेर्ने चलन छ । प्रहरीलाई सोलोडोलो ‘घुस्याहा’ को संज्ञा दिने आलोचकको मुख टाल्न खापुङले नयाँ कार्यशैली अपनाउनुपर्ने हुन्छ । त्यसका लागि कारबाही र पुरस्कारको मापदण्डमा कडाइ गर्नुपर्ने हुन्छ । तराई वा अझ भनौं नेपाल–भारत सीमा जोडिएका जिल्लामा प्रहरी कमाउनकै लागि जाने हो भन्ने भाष्य चिर्न जरुरी छ । यसका लागि प्रहरीलाई व्यावसायिक बनाउँदै संगठनभित्रै शुद्धीकरण गर्न खापुङले नयाँ कार्ययोजना ल्याउनुपर्ने देखिन्छ ।
आईजीपी खापुङले सके राम्रो काम गर्छु, नराम्रो गर्दिनँ भनेर बोलिसकेका छन् । बोल्ने र गर्ने फरक पाटो हो । तालुक कार्यालय गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयबाट आएका गलत निर्देशनलाई उनले कसरी ‘ट्याकल’ गर्छन्, त्यो आगामी कार्यशैलीले देखाउने छ ।
प्रहरीको मूल्यांकन उसले गरेको काम र कार्यशैलीबाटै हुने हो, खापुङले सहकर्मीसँग हातेमालो गरी तालुक निकायलाई ‘कन्भिन्स’ गराएर संगठनलाई स्रोतसाधन सम्पन्न गर्नुपर्ने चुनौती छ । अपराध अनुसन्धानमा दख्खल राख्ने खापुङले साइबरका माध्यमबाट हुँदै आएका ‘स्क्यामिङ’ लाई नियन्त्रण गर्न त्यो खालको स्रोतसाधन नेपाल प्रहरीलाई उपलब्ध गराउन सके उनको कार्यकाल सफल मानिने छ ।