०३ असार २०८३, बुधबार
प्रहरीमा नयाँ नेतृत्व

छोटो कार्यकालका आईजीपीका चुनौती– महत्त्वपूर्ण ‘पोस्टिङ’देखि संगठन सुधारको सवालसम्म

भदौ १९, २०८२
काठमाडौं
छोटो कार्यकालका आईजीपीका चुनौती– महत्त्वपूर्ण ‘पोस्टिङ’देखि संगठन सुधारको सवालसम्म

देशभर शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले बुधबार दर्ज्यानी चिह्न लगाएका छन् ।

फौजमा ‘चेन अफ कमान्ड’ बलियो हुनुपर्छ । फौजी अनुशासित, व्यावसायिक र पारदर्शी हुनुपर्छ । यो कडीलाई आत्मसाथ गरिरहेका खापुङको काँधमा नेतृत्वको जिम्मेवारी आएको छ ।

नेपालमा सेनापछि ठूलो फौजी संगठन नेपाल प्रहरी हो । देशैभरि छरिएर रहेका झण्डै ८० हजार फौजको ‘कमान्ड कन्ट्रोल’ अब खापुङको हातमा रहने छ ।

कैयनपटक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को अनुभव नलिई सिधै आईजीपी नियुक्त भएकोमा खापुङसँग सीआईबीमा बसेर एआईजीको कार्यभार सम्हालेको अनुभव छ ।

काठमाडौंका प्रभावशाली युनिटहरू क्रमश: सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त दरबारमार्गको ड्युटी सम्हालेको अनुभव पनि खापुङसँग छ ।

प्रदेश तहमा उनले कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा काम गरे ।

सरकारी सम्पत्ति दुरूपयोग र भ्रष्टाचारसम्बन्धी छानबिन गर्ने अग्रणी संस्था अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि काम गरेको अनुभव खापुङसँग छ ।

झण्डै ३० वर्षसम्म प्रहरी संगठनमा काम गर्दैगर्दा राजनीतिक दलले प्रहरीलाई गर्ने उपयोगसँगै बाह्य हस्तक्षेपका बारेमा पनि खापुङ राम्रैसँग जानकार छन् ।

प्रहरीमा तीन वर्ष नेतृत्व सम्हालेका पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालले एक प्रसंगमा भनेका थिए, ‘काम गर्ने हुटहुटी हुने र क्षमतावान प्रहरी अधिकृतले अवकाश हुनुभन्दा एकदिन अघि पनि राम्रै इतिहास बनाउन सक्छन् ।’

खापुङले दुई महिना (७१ दिन) प्रहरी संगठनको नेतृत्व गर्नेछन् । उनी आईजीपी भएपछि रिक्त भएको सहित प्रहरीमा चार एआईजी पद रिक्त छन् ।

यो पदपूर्ति र खाली रहेका तर, एआईजीले नेतृत्व गर्ने प्रहरीका आकर्षक पोस्टिङहरू क्रमश: सीआईबी, काठमाडौं उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय प्रहरी प्रतिष्ठानमा हुने सरुवाले नै खापुङको सांगठनिक क्षमतालाई दर्साउने छ ।

प्रहरीमा सरुवा–बढुवामा हुँदै आएको राजनीतिक कित्ताकाटको भारी खापुङले बोक्छन् कि बोक्दैनन्, त्यो उनको आगामी कार्यशैलीले देखाउने छ ।

प्रहरी अधिकृतले राम्रो पोस्टिङ पाउन संगठनको नेतृत्वभन्दा राजनीतिक नेतृत्वलाई गुहार्ने प्रवृत्ति अहिले पनि व्याप्त छ । बढुवा हुन राजनीतिक दलको दैलो चहार्ने प्रवृत्तिलाई खापुङले रोक्न सक्नुपर्ने देखिन्छ ।

राजनीतिक आडमा ‘चेन अफ कमान्ड’लाई धज्जी उडाउने प्रहरी अधिकारीमाथि कारबाहीको डण्डा चलाउनुपर्ने चुनौती पनि उनको काँधमा आएको छ ।

नेताले आफ्ना कार्यकर्ताले कुरा लगाएकै भरमा जिल्लाका एसपी परिवर्तन गर्ने, प्रहरी मुख्यालयमा तान्ने वा कारबाही गर्न भन्दै छानबिन समिति नै गठन गर्ने गरेकोमा त्यसलाई पनि उनले चिर्नुपर्नेछ ।

प्रहरी नेतृत्वले चाहेमा राजनीतिक दबाबमा आकर्षक पोस्टिङमा पुगेर प्रहरी संगठनको नीति र अनुशासनविपरीत काम गरिरहेका प्रहरी अधिकृतलाई सुधार्न दुई महिना लाग्दैन ।

सीमा नाकामा हुँदै आएको खुलेयाम तस्करी र तस्करसँग प्रहरीले गरिरहेको बार्गेनिङका अडियो बाहिरिने क्रम अझै जारी छ । विवादास्पद प्रहरी कर्मचारीलाई ड्युटीको जिम्मेवारी दिँदा ‘हाम्रालाई राम्रा’ भन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने जिम्मेवारी पनि उनको काँधमा आएको छ ।

प्रहरीमा व्यावसायिकता ह्रास आइरहेको छ । प्रहरीभित्रका विचलन र बदनामी आमजनताका नजरमा छन् । पुलिसलाई राम्रो र व्यावसायिक छविमा ढाल्न खापुङले अग्रगामी छलाङ मार्नुपर्ने देखिन्छ ।

दर्ज्यानी चिह्न लगाएपछि व्यक्त गरेका प्रतिबद्धतामा उनी कति अडिग हुन्छन्, वा पुरानो नेतृत्वको कार्यशैलीलाई निरन्तरता दिन्छन्, त्यो भने भावी दिनले नै देखाउने छ ।

दुई ठूला चाड दशैं र तिहारको मुखमा प्रहरी नेतृत्वमा पुगेका खापुङले सर्वसाधारणलाई सुरक्षा प्रत्याभूति दिएर ढुक्कसँग चाडबाड मान्न भन्नुपर्ने छ ।

साथै, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा जोड दिनुपर्ने चुनौती छ । प्रहरी मुख्यालयभित्र रहेको विशेष कार्यदलमा कुनै बेला आईजीपीलाई उपहारका रूपमा जिल्ला प्रहरी प्रमुख लगायत गण, गुल्म प्रमुखले पठाएका खसी रुङ्न प्रहरी खटाउनुपर्थ्यो ।

अहिले त्यस्तो त छैन, तर जिल्ला–जिल्लामा व्यापारी र उद्योगपतिबाट चाडबाडमा उपहार लिने/दिने क्रम अपवादबाहेक रोकिएको छैन । लेनदेनमा अपराधी उम्काउने प्रवृत्तिलाई खापुङले नजरअन्दाज गर्नुहुँदैन । प्रहरीमा अहिले पनि मुद्दा चल्ने युनिटमा रहेका मुद्दा शाखाबाट हुँदै आएको लेनदेन नियन्त्रण हुन नसकेको चर्चा चल्ने गरेको छ ।

पीडितलाई पैसा उठाइदिएबापत र पीडकलाई मुद्दा अगाडि बढ्न नदिएबापत हरहिसाब गर्ने प्रहरी अधिकृतमाथि खापुङले डन्डा चलाउँछन् कि चलाउँदैनन्, त्यसले पनि उनको छोटो कार्यकालको सफलता निर्धारण गर्ने छ । त्यसका लागि जिल्ला, इलाका र प्रहरी चौकीको नेतृत्व गर्ने प्रहरी अधिकारी चयनमा ध्यान दिनुपर्ने हुन्छ । लामो समय एउटै युनिटमा अड्डा जमाएर बसेका वा अझ भनौं काजका नाममा काठमाडौं र कमाउ अड्डा छाड्दै नछाड्ने प्रवृत्तिलाई पनि चिर्न जरुरी छ ।

खापुङले भनेजस्तै, अहिले पनि केही प्रहरी अधिकारीका गलत हर्कतका कारण समग्र प्रहरी संगठनलाई नै बदनामीको आँखाले हेर्ने चलन छ । प्रहरीलाई सोलोडोलो ‘घुस्याहा’ को संज्ञा दिने आलोचकको मुख टाल्न खापुङले नयाँ कार्यशैली अपनाउनुपर्ने हुन्छ । त्यसका लागि कारबाही र पुरस्कारको मापदण्डमा कडाइ गर्नुपर्ने हुन्छ । तराई वा अझ भनौं नेपाल–भारत सीमा जोडिएका जिल्लामा प्रहरी कमाउनकै लागि जाने हो भन्ने भाष्य चिर्न जरुरी छ । यसका लागि प्रहरीलाई व्यावसायिक बनाउँदै संगठनभित्रै शुद्धीकरण गर्न खापुङले नयाँ कार्ययोजना ल्याउनुपर्ने देखिन्छ ।

आईजीपी खापुङले सके राम्रो काम गर्छु, नराम्रो गर्दिनँ भनेर बोलिसकेका छन् । बोल्ने र गर्ने फरक पाटो हो । तालुक कार्यालय गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयबाट आएका गलत निर्देशनलाई उनले कसरी ‘ट्याकल’ गर्छन्, त्यो आगामी कार्यशैलीले देखाउने छ ।

प्रहरीको मूल्यांकन उसले गरेको काम र कार्यशैलीबाटै हुने हो, खापुङले सहकर्मीसँग हातेमालो गरी तालुक निकायलाई ‘कन्भिन्स’ गराएर संगठनलाई स्रोतसाधन सम्पन्न गर्नुपर्ने चुनौती छ । अपराध अनुसन्धानमा दख्खल राख्ने खापुङले साइबरका माध्यमबाट हुँदै आएका ‘स्क्यामिङ’ लाई नियन्त्रण गर्न त्यो खालको स्रोतसाधन नेपाल प्रहरीलाई उपलब्ध गराउन सके उनको कार्यकाल सफल मानिने छ । 

salt training

कमेन्ट गर्नुहोस्