
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी अक्टोबरमा दक्षिण कोरिया भ्रमण गर्ने तयारीमा छन् ।
एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) देशका व्यापार मन्त्रीहरूको भेला दक्षिण कोरियाको ऐतिहासिक शहर ग्यङ्जुमा अक्टोबरको अन्त्यदेखि नोभेम्बरको शुरूआतसम्म हुने भएकाले उनको यात्रा सोही अवसरसँगै हुने जनाइएको छ ।
ट्रम्प प्रशासनका तीन वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखे अनुसार, सम्मेलनकै आसपासमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता गर्ने सम्भावनाबारे गम्भीर छलफल भइरहेको छ ।
तर, अहिलेसम्म ठोस निर्णय भएको छैन । गत महिना भएको फोनवार्तामा सीले ट्रम्प र उनकी पत्नी मेलानियालाई चीन भ्रमणको निम्तो दिएका थिए ।
त्यसको प्रत्युत्तरमा ट्रम्पले पनि सीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन्, तर दुबै देशले अझै मिति तय गरेका छैनन् ।
यस यात्राका विवरण अझै अन्तिम चरणमा पुगेका छैनन् । अमेरिकी अधिकारीहरूका अनुसार, राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाबाहेक अन्य मुलुकमा पनि भ्रमण विस्तार गर्ने सम्भावना खुला छ ।
यसपटकको भ्रमणलाई अमेरिकामा थप लगानी आकर्षित गर्ने अवसरका रूपमा हेरिएको छ । पछिल्ला वैदेशिक भ्रमणहरूमा पनि ट्रम्पले यही एजेन्डालाई प्राथमिकतामा राखेका थिए । साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स भ्रमणका बेला पनि उनले आर्थिक लगानीलाई केन्द्रमा राखेका थिए ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार, 'दक्षिण कोरिया भ्रमणबारे छलफल भइरहेको छ, जसमा आर्थिक सहकार्यलाई प्राथमिकता दिइनेछ ।'
उनका अनुसार व्यापार, रक्षा र नागरिक आणविक सहकार्य पनि छलफलका एजेन्डामा पर्नेछन् ।
ट्रम्पको दक्षिण कोरिया भ्रमणले उनलाई उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः भेट्ने अवसर पनि मिल्न सक्ने आकलन गरिएको छ ।
किम सम्मेलनमा सहभागी हुने वा नहुने अझै स्पष्ट छैन । अधिकारीहरूले भने सीसँग हुने सम्भावित भेटलाई प्राथमिकतामा राखिरहेका छन् ।
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युंगले गत साता ट्रम्पलाई भेट्दा एपीईसी सम्मेलनमा सहभागी हुन निम्तो दिएका थिए ।
सो क्रममा उनले सम्मेलनले ट्रम्प–किम भेटका लागि पनि उपयुक्त वातावरण बनाउन सक्ने सुझाव दिएका थिए ।
सोही दिन पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले किमसँग भेट्न तयार रहेको बताएका थिए । 'म त्यसो गर्नेछु र हामी वार्ता गर्नेछौं । उनले मसँग भेट्न चाहेका छन् । हामी भेटको प्रतीक्षा गर्दैछौं र सम्बन्ध अझ राम्रो बनाउनेछौं,' ट्रम्पको भनाइ उद्धृत गर्दै सीएनएनले लेखेको छ ।
संवेदनशील समयमा भ्रमण
ट्रम्प, सी र किमबीचको सम्बन्ध संवेदनशील अवस्थामा रहेका बेला भ्रमण हुन लागेको हो ।
चिनियाँ राष्ट्रपति सीले हालै बेइजिङमा उत्तर कोरियाली नेता किम, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरेका थिए । सो अवसरमा चीनले भव्य सैन्य परेड आयोजना गरेको थियो, जसलाई उसको शस्त्र क्षमताको प्रदर्शनका रूपमा लिइएको थियो ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त बैठक र परेडबारे कटाक्ष गरेका थिए ।
उनले लेखेका थिए, 'राष्ट्रपति सी र चीनका अद्भुत जनताले लामो र सफल उत्सव मनाऊन् । कृपया मेरो तर्फबाट भ्लादिमिर पुटिन र किम जोङ उनलाई पनि शुभकामना दिनुहोस्, जब तपाईंहरूले संयुक्त राज्य अमेरिकाविरुद्ध षड्यन्त्र गर्दै हुनुहुन्छ ।'
शुक्रबार ट्रम्पले सी, पुटिन र मोदीको तस्बिर शेयर गर्दै लेखे, 'भारत र रुसलाई हामीले चीनको हातमा गुमाएका छौं । उनीहरूलाई दीर्घ र समृद्ध भविष्यको शुभकामना ।'
तर, ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दा उनले उक्त परेडलाई सुन्दर समारोह र अत्यन्त प्रभावशाली भने ।
'म बुझ्छु किन उनीहरूले यस्तो गरे । उनीहरू चाहन्थे मैले हेरोस् भन्ने, र मैले हेरें,' ट्रम्पले भने, 'मेरो सम्बन्ध सबैसँगै राम्रो छ । अर्को एकदुई सातामा कस्तो राम्रो छ भन्ने देखिन्छ ।'
अमेरिका–चीन व्यापार सम्बन्ध
ट्रम्प र सीबीच सम्भावित भेट अमेरिक–चीन व्यापार युद्धकै बीचमा हुँदैछ ।
दुवै देशका अधिकारीहरूले युरोपमा दुईपटक प्रत्यक्ष भेटेर व्यापार सम्झौताबारे छलफल गरिसकेका छन् ।
गत अप्रिलमा ट्रम्पले चीनका सामानमा १४५ प्रतिशत आयात शुल्क लगाएका थिए भने चीनले पनि १२५ प्रतिशत शुल्क लगाएर प्रतिकार गरेको थियो । यी उच्च दरका शुल्क गत महिना पुनः लागू हुने तय भए पनि ट्रम्पले कार्यकारी आदेशमार्फत नोभेम्बरसम्म स्थगित गरेका छन् ।
यसैबीच, अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले सन् २०१९ मा भएको एक असफल नेवी सिल अभियानबारे रिपोर्ट प्रकाशित गरेको छ । उक्त अभियानमा निहत्था उत्तर कोरियालीहरू मारिएका थिए । यो घटनाले ट्रम्प र किमबीच सम्भावित भेटमा असर पर्न सक्ने आकलन गरिएको छ ।
यसबारे ट्रम्पलाई पत्रकारहरूले प्रश्न गर्दा उनले भने, 'मलाई केही थाहा छैन । म हेर्न सक्छु, तर अहिले मलाई केही थाहा छैन ।'
– सीएनएनबाट