२५ असार २०८३, बिहीबार

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने

भदौ २२, २०८२
काठमाडौं
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने भएका छन् ।

सत्तारुढ पार्टीका सदस्यहरूले माथिल्लो सदनको चुनावमा हार व्यहोरेपछि इशिबाले राजीनामा दिने निर्णय गरेका हुन् ।

लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेतृत्व सम्हालेको एक वर्ष पनि नपुग्दै ६८ वर्षीय इशिबाले यस्तो कदम चालेका हुन् । उनले संसद्का दुवै सदनमा बहुमत गुमाइसकेका छन् ।

सार्वजनिक प्रसारणकर्ता एनएचकेले इशिबाले पार्टीलाई विभाजनबाट जोगाउन राजीनामा गर्न निर्णय गरेका जनाएको छ भने दैनिक आसाही सिम्बुनले उनलाई राजीनामा गर्न दबाब बढिरहेको उल्लेख गरेको छ ।

शनिबार राति कृषिमन्त्री र एक जना पूर्वप्रधानमन्त्रीले इशिबालाई भेटेर स्वैच्छिक रूपमा पद छोड्न आग्रह गरेका थिए ।

गत हप्तामात्रै पार्टीका नम्बर दुई नेता हिरोशी मोरियामासहित एलडीपीका चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए ।

जुलाईमा सम्पन्न माथिल्लो सदनको निर्वाचनपछि इशिबाका विपक्षीहरूले चुनावी हारको जिम्मेवारी लिई पदत्याग गर्न निरन्तर दबाब दिँदै आएका थिए ।

अब नयाँ नेतृत्वको चुनावका लागि जापानभरका एलडीपी सांसद र क्षेत्रीय अधिकारीहरूले अनुरोध पेस गर्नेछन् ।

आवश्यक बहुमत प्राप्त भएमा पार्टीमा नेतृत्व प्रतिस्पर्धा शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्