
मनसुन सक्रिय भएसँगै सम्भावित बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै बेलौरी नगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ।
दोदा र महाकाली नदीसँग जोडिएका वडा २, ५, ६, ८ र १० उच्च जोखिममा छन्। ती क्षेत्रमा करिब १ हजार ५०० परिवार डुबानको जोखिममा रहेको नगरपालिकाले जनाएको छ।
समुदायस्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउँदै सूचना आदान–प्रदानका लागि वाट्सएप समूह गठन गरिएको छ। खोज तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई एक–एक रबर बोट उपलब्ध गराइएको छ भने आपत्कालीन सञ्चालन केन्द्र र राहत सामग्री भण्डारणको व्यवस्था गरिएको छ।
नगरपालिकाले ५९ लाख रुपैयाँको विपद् कोष स्थापना गरेको छ। जनप्रतिनिधि र कर्मचारीले एक दिनको पारिश्रमिकस्वरूप १ लाख ७७ हजार ५५५ रुपैयाँ योगदान गरेका छन्। कोषको रकम राहत, उद्धार, पुनर्निर्माण र महामारी नियन्त्रणमा खर्च गरिनेछ।
यस्तै, २१ दिने तालिमप्राप्त २९ स्वयंसेवक तयारी अवस्थामा राखिएका छन्। नकैया नालामा बाँध निर्माण, अवरुद्ध नाला र पानी निकास संरचनाको सरसफाइलाई पनि तीव्र बनाइएको छ।
नगरपालिकाले मनसुनभर सबै सरोकारवालासँग समन्वय गरी सम्भावित विपद्को क्षति न्यूनीकरणका लागि पूर्वतयारीलाई थप प्रभावकारी बनाउने जनाएको छ।