
कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका नौवटै पालिकाका सबै बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याइएपछि घोषणा गरिएको हो।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका १६८ खोप केन्द्रमार्फत शून्यदेखि १५ महिनासम्मका ८ हजार ६३७ बालबालिकालाई नियमित खोप सेवा दिइएको छ। यसअघि खोप लगाउन छुटेका १३८ बालबालिकालाई पनि आवश्यक सबै खोप लगाइएको छ।
जन्मेदेखि ११ महिनासम्मका ७ हजार ९८८, ११ देखि २३ महिनासम्मका ७ हजार ८७७ बालबालिका, ९ हजार ४२७ गर्भवती महिला तथा २४ देखि ५९ महिनासम्मका लक्षित सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरिसकेका स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले नियमित खोप सेवाको दिगोपनामा निरन्तर ध्यान दिनुपर्ने बताए। खोप अभियान प्रभावकारी बनाउन योगदान पुर्याएका स्वास्थ्यकर्मी र खोप सहजकर्तालाई सम्मान पनि गरिएको थियो।