२७ जेठ २०८३, बुधबार
गम्भीर सुरक्षा कमजोरी

उपत्यका प्रहरी ६ दिनदेखि नेतृत्वविहीन, जेनजीको प्रदर्शनमा गम्भीर सुरक्षा चुक

भदौ २३, २०८२
काठमाडौं
उपत्यका प्रहरी ६ दिनदेखि नेतृत्वविहीन, जेनजीको प्रदर्शनमा गम्भीर सुरक्षा चुक

काठमाडौं उपत्यका प्रहरी कार्यालय विगत ६ दिनदेखि नेतृत्वविहीन हुँदा सोमबारको ‘जेनजी आन्दोलन’मा गम्भीर सुरक्षा चुक भएको छ ।

एआईजी टेकबहादुर तामाङले भदौ १८ गते अवकाश पाएसँगै उपत्यका प्रहरी नेतृत्वविहीन बन्न पुगेको हो ।

हाल उपत्यका प्रहरी डीआईजी ओम रानाले नेतृत्व गरिरहेका छन् ।

अरू प्रहरी अधिकृतहरू क्रमश: एसएसपी शेखर खनाल, काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेत एउटै ब्याचका प्रहरी अधिकृत हुन् ।

एउटै ब्याचका अधिकृत कार्यरत रहँदा ‘चेन अफ कमान्ड’ फितलो भएको विगतका विभिन्न घटनाक्रमले देखाउँछन् ।

सोमबार भएको जेनजीको प्रदर्शनमा सुरक्षा निकायको परिचालनमा गम्भीर चुक हुनुका पछाडि उपत्यका प्रहरीको नेतृत्व नहुनुलाई प्रमुख कारण मानिएको छ ।

उपत्यका प्रहरी प्रमुख नहुँदा कार्य विभागका प्रमुख एआईजी सिद्धिविक्रम शाहसँग काठमाडौं प्रहरी प्रमुखले समन्वय गरेको देखिन्छ ।

एआईजी शाह पनि आज बिहान माइतीघर र बानेश्वर क्षेत्रमा निरीक्षण गर्न पुगेका थिए । कार्य विभागले सुरक्षा तैनाथीको अवस्थाको निरीक्षण र निर्देशन दिने जिम्मेवारी भएपनि मूल जिम्मेवारी उपत्यका एआईजीकै रहन्छ । तर, उपत्यका प्रहरी प्रमुख विगत ६ दिनदेखि नेतृत्वविहीन छ ।

जेनजीको प्रदर्शनमा कमान्ड कन्ट्रोलमा समेत गम्भीर चुक भएको देखिन्छ ।

कमान्ड कन्ट्रोल नहुँदा तितरबितर भीडलाई ट्याकल गर्न प्रहरी असक्षम देखिएका छन् । जेनजीले विगत चार दिनदेखि सामाजिक सञ्जालमा क्याम्पेनिङ चलाएर प्रदर्शनबारे सार्वजनिक अवगत गराइरहेका थिए । तर, सुरक्षा निकायले सामान्य ढंगले विश्लेषण गर्दा प्रदर्शनकारी संसद् भवन भित्र पुगे ।

नेतृत्व नहुँदा कमान्ड कन्ट्रोल र चेन अफ कमान्डमा गम्भीर असर पर्ने बताउँछन्, पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी ।

‘विभागीय नेतृत्व नहुँदा कायममुकायमले जिम्मेवारी लिँदैन, लिन डराउँछ, अर्को आउनेले गर्छ भनेर झारा टार्ने काम हुन्छ,’ ठकुरीले लोकान्तरसँग भने, ‘अर्को कुरा अहिले उपत्यकामा भएका एसएसपी सबै एउटै ब्याचका छन्, त्यहाँ चेन अफ कमान्ड नै रहँदैन । त्यसैले यस्ता सेन्सेटिभ ठाउँमा नेतृत्व खाली राख्नु हुँदैन ।’

ठकुरीले सोमबार जेनजीको प्रदर्शनमा सुरक्षा योजना र परिचालनमा समेत चुक देखिएको बताए ।

उनले भने, ‘यो राजनीतिक आन्दोलन वा प्रदर्शन थिएन, कसले नेतृत्व लिने, प्रदर्शनको स्वरूप र उद्देश्य समेत एकिन गर्न नसक्नुमा सुरक्षा निकायको गम्भीर लापरबाही देखिन्छ ।’

आन्दोलनको रूप र उद्देश्य यकिन नभएको प्रदर्शनमा सुरक्षा निकायको निगरानी र परिचालन सामान्यभन्दा बढी संयम हुनुपर्ने उनको तर्क छ ।

salt training

कमेन्ट गर्नुहोस्