
हालै भएको आगलागीका कारण भायानेटको प्रमुख डाटा सेन्टर क्षतिग्रस्त भएपछि इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध भएको छ । कम्पनीले उपभोक्तासमक्ष माफी माग्दै सेवा पूर्णरूपमा सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ ।
भायानेटका अनुसार मंगलबार साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको डाटा सेन्टरमा क्षति पुर्याएको कम्पनीले जनाएको छ ।
यद्यपि, ब्याकअप डाटा सेन्टरमार्फत् आंशिक रूपमा इन्टरनेट चलाइए पनि सबै ग्राहकको ट्राफिक सम्हाल्न पर्याप्त नभएकाले देशभर सेवामा अवरोध आएको कम्पनीले जनाएको छ ।
भवन असुरक्षित भएकाले तत्काल प्राविधिक टोलीलाई प्रवेश गर्न कठिनाइ भए पनि बुधबार बिहान सेना र प्रहरीले आगो नियन्त्रणमा लिएपछि दिउँसोदेखि टोली भवनभित्र प्रवेश गरेर आवश्यक सर्भरहरू सुरक्षित रूपमा बाहिर ल्याएको कम्पनीले जनाएको छ । ती सर्भरलाई अर्को सुरक्षित डाटा सेन्टरमा स्थापना गरिएपछि अधिकांश ग्राहकको इन्टरनेट सेवा सञ्चालन भएको कम्पनीले जनाएको छ ।
कम्पनीले बिहीबार साँझसम्म पूर्ण क्षमतामा इन्टरनेट सञ्चालन गर्ने लक्ष्य रहेको र भाया टीभी सेवा पनि चाँडै पुनः सञ्चालन गरिने जानकारी दिएको छ । भायानेटले यस्तो विपत्मा उपभोक्ताले देखाएको धैर्य र विश्वासका लागि आभार प्रकट गरेको छ ।