
तीन दिनदेखि दक्षिणतर्फको सबैभन्दा ठूलो नाका वीरगन्ज भन्सारमा सयौं मालवाहक कन्टेनरहरू थन्किएका छन् ।
नेपाल भित्रिनका लागेका सयौं मालवाहक कन्टेनरहरू जेनजीको अन्दोलनगलत्तै भन्सारमा रोकिएका थिए । अहिले आंशिक रूपमा मात्र सुचारु भएको छ ।
दैनिक ८०० को हाराहारीमा मालवाहक कन्टेनर तथा ट्याकङकरहरू भित्रिने भन्सारमा पछिल्लो तीन दिनदेखि सामान्य अवस्थामा जसरी मालवाहक गाडी भित्रिन र बाहिरिन सकेका छैनन् ।
यद्यपि, तीन दिनपछि मंगलबार मात्रै भन्सार कार्यालयले ७० वटा खाली गाडी भारतर्फ पठाएको छ । र, ४० वटा ग्यास र ४४ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू भित्र्याएको छ । औषधि र कच्चापदार्थ बोकेका केही ट्रक पनि भित्रिएका छन् ।
दुई दिनदेखि नाकामा मालवाहक गाडीहरू रोकिएर बसेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले लोकान्तरलाई बताए ।
मंगलबार मात्रै पेट्रोलियम पदार्थ र ग्यासका ट्यांकरहरू भित्र्याएको र अन्य भन्सारमै रोकिएको उनको भनाइ छ । यसबाहेक अत्यावश्यक वस्तुहरूको अपपूर्तिका लागि सामान पठाइरहेको उनको दाबी छ ।
‘दुई दिनदेखि कुनै पनि मालवाहक कन्टेनरहरूको जाँच पास भएको थिएन । रोकिएर बसेको अवस्था थियो ।
आज मात्रै हामीले ४४ पेट्रोलियम र ४० ग्यासका ट्यांकरहरू पठाएका छौँ’, उनले भने, ‘सुरक्षाको समन्वय नभएसम्म जान दिने अथवा भित्र्याउने कुरा हुँदैन । सुरक्षा निकायले भन्नेबित्तिकै यताबाट पठाइहाल्छौँ ।’
वीरगन्ज भन्सारको यार्डमा हजारौँ मालवाहक ट्रकहरू रोकिएर बसेको अवस्था छ । यस भन्सार कार्यालयबाट दैनिक ८०० को हाराहारीमा मालवाहक ट्रक तथा ट्याङ्कर जाँचपास हुने गर्दछन् ।
मंगलबारसम्म वीरगञ्ज भन्सारको यार्डमा मात्रै १ हजार ३५ मालवाहक गाडीहरू रहेका छन् । त्यसबाहेक भन्सारमै नपुगेर नाकाबाहिर पनि हजारौं गाडीहरू रोकिएका छन् ।