२० असार २०८३, शनिबार
जेनजी आन्दोलन

धमाधम कार्यालय फर्किँदै प्रहरी– क्षतिको विवरण संकलन गर्न डीआईजीको कमान्डमा डेस्क

भदौ २९, २०८२
काठमाडौं
धमाधम कार्यालय फर्किँदै प्रहरी– क्षतिको विवरण संकलन गर्न डीआईजीको कमान्डमा डेस्क

‘प्रहरी मेरो साथी’ लेखिएका बोर्ड आज तपाईँले कुनै पनि प्रहरी कार्यालयमा देख्न पाउनुहुन्न । छन् त, खरानी, आगोले डढेर बाँकी रहेका फलामका कुर्सी, सवारीसाधनका अवशेष र खङ्ग्रङ्ग परेका कार्यालय ।

जेनजीको प्रदर्शनका क्रममा प्रहरीका कार्यालयहरू खोजीखोजी जलाइयो । प्रहरीको गोली लागेर प्रदर्शनकारीको मृत्यु भएपछि उग्र बनेका उनीहरूले ‘तिमीहरूका छोराछोरी छैनन्, किन गोली हानेर मारेको ? भन्दै’ प्रहरीका कार्यालय मात्रै जलाएनन्, प्रहरीमाथि समेत जाइलागे ।

सुरक्षा फौज ‘चेन अफ कमान्ड’ मा चल्छ । सरकारमा रहेकाको निर्देशन मान्ने संस्था प्रहरी हो भन्दै प्रदर्शनकारीलाई प्रहरीले सम्झाउने प्रयास नगरेका पनि होइनन् । तर, उत्तेजक भीडले प्रहरीको अनुरोध सुन्नै चाहेको थिएन ।

null

प्रदर्शनकारीले काठमाडौं उपत्यकाभित्रका एक/दुईवटा बाहेक सबैजसो प्रहरी कार्यालय तोडफोड र आगजनी गरे । जस्ताले बारिएका प्रहरी बीट (हवल्दारको कमान्डमा पाँचदेखि सातजना बस्ने युनिट)लाई समेत जलाइयो । उपत्यकाजस्तै अन्य जिल्लाका पनि अधिकांश प्रहरी कार्यालयहरूमा प्रहरी बसेर काम गर्न सक्ने अवस्था छैन ।

प्रहरी सुरक्षा अनुभूत गराउने मात्रै नभएर अपराध रोकथाम र नियन्त्रण गर्ने संस्था पनि हो ।

यही मर्मलाई आत्मसाथ गर्दै शनिबारदेखि नै स्थानीय सर्वसाधारण, क्लबलगायत संघ–संस्था प्रहरी कार्यालय सरसफाइमा जुटेका छन् ।

भौतिक संरचना जलेर नष्ट त भए नै, प्रहरी कर्मचारीले लगाउने लुगाफाटा, पकाएर खाने भाडाबर्तन समेत जलाइए । सहयोगी संघ–संस्थाले चन्दा उठाएर र स्वतस्फूर्त रूपमा प्रहरीलाई सहयोग गर्दै आएका छन् ।

अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै प्रहरीसहितका अन्य सरकारी संरचना जलाउनेलाई अपराधीको संज्ञा मात्रै दिइनन्, प्रहरीका थुप्रै सवारीसाधन जलाएकाले खरिद गर्नुपर्ने र कार्यालय पनि बनाउनुपर्ने बताएपछि प्रहरीको मनोबल केही बढेको छ ।

प्रहरी वृत्त महाराजगञ्जमा प्रधानमन्त्री सुशीला कार्की

प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार काठमाडौं उपत्यकामा जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाहेक सबैजसो कार्यालय तोडफोड र आगजनी भएका छन् ।

‘सरकारी संरचनामध्ये ठूलो क्षति प्रहरीले व्यहोर्नुपर्‍यो, अहिले प्रहरी बस्ने ठाउँ छैन, लगाउने कपडा छैन, चढ्ने सवारी छैन,’ घिमिरेले भने, ‘तर, यति भनेर हामी पन्छिने कुरा आउँदैन, प्रहरीमा आएका उजुरी दर्ता गर्न शुरू भइसक्यो । अपराध अनुसन्धान पनि निरन्तर चलिरहन्छ ।’

null

उनले पूर्ण विवरण नआइकन यति नै क्षति भयो भनेर भन्न सक्ने अवस्था नरहेको बताए ।

‘क्षति करोडौंमा छ, पूरा विवरण आएपछि मात्रै भन्न सकिन्छ,’ घिमिरेले भने, ‘हामीले मातहतलाई उच्च मनोबलमा काम गर्न निर्देशन दिएका छौँ ।’

प्रहरी प्रधान कार्यालयले डीआईजी दीपक रेग्मीको संयोजकत्वमा क्षति पहिचान गर्न ‘डेस्क’ नै खडा गरेको छ । उक्त ‘डेस्क’ले प्रत्येक प्रहरी कार्यालयको क्षति पहिचान गर्ने र उक्त विवरण संकलन गरेपछि प्रहरी महानिरीक्षकलाई बुझाउने काम गर्छ । महानिरीक्षकले सरकारलाई क्षतिको अन्तिम विवरण बुझाउँछन् ।

‘प्रदर्शनको दोस्रो दिन यस्तो अवस्था आयो कि, प्रहरी देख्नै नहुने, प्रहरीका कार्यालय देख्नै नहुने,’ मुख्यालयका एक उच्च अधिकृतले भने, ‘एक हिसाबले प्रहरीलाई निमिट्यान्न पर्ने प्रयास भएको थियो । हामी संयम भयौं र आज छौं ।’

null

प्रदेश प्रहरी कार्यालयले पनि छुट्टाछुट्टै टोली बनाएर क्षतिको विवरण संकलन गरिरहेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार डीएसपीको कमान्डमा टोली बनाएर प्रदेशभरका प्रहरी कार्यालयको क्षतिको विवरण संकलन गरिरहेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले पनि आफ्ना मातहतका कार्यालयको क्षति विवरण उपलब्ध गराउन कार्य शाखाबाट परिपत्र गरेको छ ।

null

लुम्बिनीका बाँके, दाङ र रुपन्देहीका अधिकांश प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएका छन् ।

त्यहाँका इलाका प्रहरी कार्यालयबाट बाइक चोरी समेत भएका छन् । प्रहरीले लगाउने कपडासमेत जलाइदिएका छन् ।

प्रदेश प्रहरी कार्यालयका एक अधिकृतले भने, ‘क्षतिको विवरण संकलन भइरहेको छ, प्रहरीलाई नांगेझार बनाउने काम भयो, तै पनि हामी आफ्नो ड्युटीमा कटिबद्ध छौं ।’

प्रहरी प्रधान कार्यालयबाट क्षतिको विवरण माग भएपश्चात कोशी, मधेश प्रदेश, सुदूरपश्चिम र गण्डकी प्रदेशले पनि आफ्ना मातहत कार्यालयमा भएका क्षतिको विवरण पठाउन परिपत्र गरेको छ ।

null

पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी जस्तोसुकै परिस्थितिमा पनि उच्च मनोबलका साथ काम गर्ने संस्था भएकाले विस्तारै कार्यले गति लिने बताए । उनले लोकान्तरसँग भने, ‘सर्वसाधारणसँग प्रत्यक्ष जोडिने प्रहरी र उसका कार्यालय जलाउने काम जेन्जीबाट भएकै होइन, त्यहाँ घुसपैठ पक्कै भएको हो, अब अहिलेको अवस्थामा प्रहरीले सम्हालिएर काम गर्नुपर्छ ।’

 

 

salt training

कमेन्ट गर्नुहोस्