
जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री अभियन्ताहरूले फिर्ता गराउन शुरू गरेका छन् ।
विराटनगरका अभियन्ता पारुल क्षेत्रीको अगुवाइमा युवाहरूले लुटपाटमा संलग्न व्यक्तिहरूको घर-घरबाट सामान फिर्ता गराउने अभियान चलाएका हुन् । भाटभटेनी र विराटनगर महानगरपालिकाका केही सामग्री फिर्ता ल्याउने काम भइरहेको क्षेत्रीले जानकारी दिए ।
भाटभटेनीमा आगजनी गरेपछि युवाहरूको भीडले भित्र पसेर खाद्यान्न, विद्युतीय उपकरण, कपडा लगायतका करोडौं मूल्य बराबरका सामग्रीहरू लुटेर लगेका थिए ।
क्षेत्री र उनका २०/२५ जनाको समूहले लुटिएका सामान फिर्ता गराएर सम्बन्धित निकायलाई बुझाउन थालेको हो । ‘हामीले पहिला सामग्री फिर्ता ल्याइदिन माइकिङ गर्यौं, त्यसपछि सूचनाका आधारमा घर-घरमा पुगेर सामग्री मागेका हौं,’ क्षेत्रीले भने ।
उनीहरूले घरमा लगिएको सामग्रीको भिडियो समेत बनाएका उनले जानकारी दिए ।
आइतबार मात्रै यस समूहले विराटनगरका पाँच फरक-फरक स्थानबाट लुटिएका सामग्रीहरू सङ्कलन गरी भाटभटेनी सुपरमार्केटमा बुझाएको छ ।
यस्तै, उनीहरूले विराटनगर महानगरपालिकाका तीन वटा ल्यापटप पनि फिर्ता ल्याएका छन् ।
अभियानले सामान फिर्ता गराउने मात्र नभई लुटपाटमा संलग्नहरूलाई कडा चेतावनी पनि दिएको छ ।
क्षेत्रीले आफ्नो सामाजिक सञ्जालमार्फत एक सार्वजनिक आह्वान जारी गर्दै भनेका छन्, ‘अरूतिर पनि हामी आउँदैछौं । त्यसैले, आफैंले सम्मानजनक रूपमा सामान फिर्ता गरिदिनुहोला, होइन भने कानूनको कठघरामा उभिनुपर्नेछ ।’
उनले लुटिएका सामानहरू बजारका पसलहरूमा बेच्न खोजिएको सूचना आएको भन्दै कुनै पनि पसलेलाई त्यस्ता सामान खरिद नगर्न आग्रह गरेका छन् ।
साथै, कसैले सामान बेच्न खोजेको थाहा पाएमा तत्काल स्थानीय प्रहरी प्रशासनलाई खबर गरिदिन पनि उनले अनुरोध गरेका छन् ।