०६ साउन २०८३, बुधबार

नेपाल एयरलाइन्सले पहिलोपटक चीनको ग्वाङ्जाओमा सिधा उडान गर्दै

भदौ ३०, २०८२
काठमाडौं
नेपाल एयरलाइन्सले पहिलोपटक चीनको ग्वाङ्जाओमा सिधा उडान गर्दै

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक काठमाडौं–ग्वाङ्जाओ–काठमाडौं सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता मनोज साहका अनुसार निगमले लामो तयारीपछि चीनको यो महत्वपूर्ण सहरलाई आफ्नो गन्तव्यमा समेट्ने निर्णय गरेको हो ।

निगमले पहिलो उडान असोज ९ गते गर्नेछ भने दोस्रो उडान असोज १२ गते हुनेछ । त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते पनि उडान हुने तय भएको छ । नियमित तालिका अनुसार निगमले हरेक आइतबार, मंगलबार र शनिबार काठमाडौं–ग्वाङ्जाओ उडान गर्नेछ ।

साहले भने, 'चीनतर्फको यो नयाँ गन्तव्य सुरु भएपछि राष्ट्रिय ध्वजाबाहक रोज्ने यात्रु सहज हुनेछन् ।'

काठमाडौं–ग्वाङ्जाओ उडानको भाडादर एकतर्फी ३० हजार र दोहोरो ५० हजार तोकिएको निगमले जनाएको छ ।

हाल निगमसँग रहेका दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, यूएईको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र वैङ्लोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा नियमित उडान भइरहेको छ ।

निगमले काठमाडौँबाट कोरिया र अष्ट्रेलियामा समेत सिधा उडान गर्ने तयारी गरे पनि ती गन्तव्यका लागि भने अनुमति पाउन बाँकी रहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्