२९ असार २०८३, सोमबार

गण्डकी प्रदेशमा फरार ३९९ कैदीबन्दी फक्राउ

भदौ ३०, २०८२
पाेखरा
गण्डकी प्रदेशमा फरार ३९९ कैदीबन्दी फक्राउ

गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत र म्याग्दीका कारागारबाट फरार एक हजार १९५ कैदीबन्दीमध्ये सोमबार साँझसम्म ३९९ कैदीबन्दी पक्राउ परेका छन् । 

गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तुलबहादुर कार्कीका अनुसार अझै ७९६ कैदीबन्दी फरार छन् । कास्की कारागारबाट ७७३ कैदीबन्दी भागेकामा २२५ जना पक्राउ परेका छन् । 

तनहुँ कारागारबाट भागेका ३२७ कैदीबन्दीमध्ये ११५ जना, पर्वत कारागारबाट भागेका १९ जनामध्ये नौ जना र म्याग्दी कारागारबाट भागेका ७६ मध्ये ५० जना पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट भागेका ८३ थुनुवामध्ये एक जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताए । 

पोखराको सराङकोटस्थित बाल सुधारगृहबाट भागेका १०६ जनामध्ये १८ जना पक्राउ परेका छन् । बाल सुधारगृहबाट भागेका ८८ जना अझै फरार छन् ।  

फरार कैदीबन्दीमध्ये केही आफैं फर्किएको र केहीलाई खोजतलास गरी नियन्त्रणमा लिइएको हो । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले कारागारबाट भागेका कैदीबन्दीलाई आफैं फर्कन आग्रह गरिएको बताए ।

‘टोल छिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी र थुनुवा देखेमा प्रहरीमा खबर गर्न भनेका छौं’, उनले भने । कारागार व्यवस्थापन विभागले कैदीबन्दी आफैं कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर पक्राउ गर्ने योजना बनाएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्