
काठमाडौं उपत्यकाको जनजीवन विस्तारै सामान्य बन्दै गए पनि सडकमा ट्राफिक व्यवस्थापन सहज हुन सकेको छैन ।
सडकमा चहलपहल बढेको छ । पसलहरू खुलेका छन् । तोडफोड र आगजनी भएका प्रहरी कार्यालयहरू स्थानीयको सहयोगमा पुनर्निर्माण भइरहेका छन् । तर, ट्राफिक व्यवस्थापन भने पुरानै अवस्थामा फर्किन सकेको छैन ।
जेनजी पुस्ताका नाममा भएको प्रदर्शनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय नै जलाइयो ।
ट्राफिकका पोशाक, सिठ्ठी, जुत्ता र सवारीसाधन समेत जलाइएपछि अहिले यदाकदा बाहेक अधिकांश ठाउँमा ट्राफिक प्रहरी छैनन् ।
कलंकी, बल्खु, माइतीघर, थापाथली, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, गोंगबुलगायत केही मुख्य चोकमा सादा पोशाकमै भएपनि फ्लोरोसेन्ट ज्याकेट लगाएर ट्राफिक प्रहरीले ड्युटी गरिरहेका छन् ।

केही छिटपुट पोशाक बचेकाले कतिपय भने पोशाकमै ड्युटी गरिरहेका भेटिन्छन् ।
सडकमा राखिएका सीसीटीभी मात्रै नभएर काठमाडौं उपत्यका प्रहरी कार्यालय र ट्राफिक कार्यालयका सीसीटीभी मनिटरिङ कक्षसमेत जलाइदिएपछि अहिले प्रविधिमार्फत हुँदै आएको ट्राफिक व्यवस्थापनको कम समेत रोकिएको छ ।
पछिल्ला तीन/चार दिनदेखि सडकमा ट्राफिक नियमको पालना भइरहेको छैन । मनपरी ढंगले सवारी हाँक्ने क्रम बढेको छ । दुर्घटना भएपनि त्यसको रेकर्ड अभिलेख राख्ने डायरी समेत अहिले ट्राफिक प्रहरीसँग छैन ।
कारबाहीका क्रममा ट्राफिक प्रहरीले लिएका सवारी चालक अनुमति पत्र (लाइसेन्स) र ब्लु बूक समेत जलेका छन् ।
केही चोकमा भोलेन्टियरका रूपमा सर्वसाधारण ट्राफिक व्यवस्थापनमा लागेका छन् । काठमाडौं र ललितपुरमा महानगर प्रहरीले सडकमा सवारी व्यवस्थापनको काम गरिरहेका छन् ।
‘हाम्रा सबै युनिटहरू जलाइएका छन्, लगाउने कपडा पनि छैन, सडकमा फुक्ने सिट्ठी समेत छैन,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले लोकान्तरसँग भने, ‘अहिले सादा पोशाकमै भएपनि शहरका मुख्य चोकमा ट्राफिक प्रहरीले जसोतसो सवारी व्यवस्थापन गर्दै आएका छन् । हामी विस्तारै उठ्छौं, सडकको जाम टुलुटुलु हेरेर बस्दैनौं ।’

ट्राफिकले आफ्नो एफएमबाट समेत सर्वसाधारणलाई ट्राफिक नियमबारे सचेत गराउँदै आएको थियो । प्रदर्शनकारीले एफएमको भवन समेत जलाइदिएका छन् ।
भदौ २४ गते देखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको वेबसाइट अपडेट भएको छैन । सामाजिक सञ्जाल फेसबुक र ट्वीटर पेजमा भने सूचनाहरू अपडेट भइरहेका छन् ।
दुर्घटना हुँदा घटनास्थलमा पुग्न आवश्यक सवारीसाधन समेत जलेपछि अहिले ट्राफिक प्रहरीहरू निकै ठूलो समस्यामा छन् ।
प्रहरी मुख्यालयले केही थान मोटरसाइकल ट्राफिक युनिटहरूमा वितरण गरे पनि त्यसले न्यूनतम् समाधानबाहेक केही हुने छाँटकाँट छैन ।

मुख्य चोकमा राखिएका ट्राफिक आइल्यान्ड समेत जलाइएको छ । सडक विभागले जलाइएका, फुटाइएका र बिगारिएका ट्राफिक लाइटको विवरण ट्राफिक प्रहरीसँग मागेको छ ।
विभागका प्रवक्ता एवं उप–महानिर्देशक प्रभातकुमार झाले प्रदर्शनकारीले अधिकांश ट्राफिक लाइटहरू तोडफोड गरेकाले अहिले धेरै ठाउँमा लाइटहरू बल्ने अवस्थामा नरहेको बताए ।
उनले भने, ‘अहिले केही ठाउँमा मात्रै ट्राफिक लाइट बलेका छन्, बाँकी तोडफोड र फुटाइएका कारण बलेका छैनन्, हामीले ट्राफिक कार्यालयसँग विवरण मागेका छौं ।’
उनले विवरण आएपछि मर्मत गरेर चल्नेलाई तत्काल सञ्चालन गर्ने बताए ।
काठमाडौं उपत्यकाका ट्राफिक प्रमुख एसएसपी अधिकारीका अनुसार सडकमा राखिएका कोन, डोरी र आइल्यान्डहरू जलाइदिएका कारण सवारी जाम बढेको छ ।

उनले भने, ‘सीसीटीभी समेत जलेपछि सडकको मनिटरिङमा समस्या भएको छ । कोन र आइल्यान्ड महानगरपालिकाले सहयोग गर्ने भनेकाले हामी अब फूल फ्लेजमै सडकमा उपस्थित हुन्छौं ।’
प्रदर्शनकारीले उपत्यका ट्राफिक कार्यालयसँगै सातदोबाटो, गौशाला, कोटेश्वर, बानेश्वर, गोंगबु, बालाजु, कलंकी, कालीमाटी, स्वयम्भू लगायतका ट्राफिक युनिटहरू जलाएका थिए ।
यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय निरीक्षण गरेका छन् ।
गृहमन्त्रीसामु काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारी लगायतले कार्यालयको पछिल्लो अवस्थाको बारेमा ब्रिफिङ गरेका थिए ।
भवन पुनर्निर्माण तथा अत्यावश्यक अन्य काममा सरकारले सहयोग गर्ने भन्दै अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।
