२७ असार २०८३, शनिबार
जेनजी आन्दोलन

सर्वोच्चलाई लयमा फर्किनै सकस, न्याय सेवा सहज हुन कम्तीमा ३ महिना लाग्ने

भदौ ३१, २०८२
काठमाडौं
सर्वोच्चलाई लयमा फर्किनै सकस, न्याय सेवा सहज हुन कम्तीमा ३ महिना लाग्ने

भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटबाट सर्वोच्च अदालतका अधिकांश भौतिक संरचना ध्वस्त भएका छन् ।

सर्वोच्च अदालतको भवनमा भएको आगजनीका कारण भवन पूर्णरूपमा जलेर ध्वस्त भएको छ । भवन नै ध्वस्त भएका कारण इजलासहरू पूर्णरूपमा ठप्प छन् ।

चालु मुद्दा तथा अभिलेख मिसिल, सूचना प्रविधि प्रणाली समेतमा क्षति पुगेको हुनाले अदालतको काम कारबाही पूर्णरूपमा ठप्प छ । सर्भरमा नै क्षति पुगेकाले सर्वोच्च मात्र नभएर देशभरका सम्पूर्ण अदालतहरूको पनि सुनुवाइ प्रभावित भएको छ ।

आइतबारदेखि सर्वोच्च अदालत परिसरमा मुद्दाको पेशीका लागि तारेख तोकिएका सेवाग्राहीहरूलाई पालमुनि कर्मचारीहरूले तारेख दिने काम गरिरहेका छन् ।

null

सोमबार सर्वोच्च अदालत पुग्दा तारेख लिनका लागि सेवाग्राही तथा वारेस लिएका कानून व्यवसायी लाइनमा बसेका थिए ।

null

एउटा पालमुनि तारेख दिने काम भइरहेको थियो । दोस्रो पालमुनि बन्दी प्रत्यक्षीकरणको रिट दर्ता हुने भनेर कर्मचारी खटिएको भएपनि इजलास नै व्यवस्थित नहुँदा कुनै पनि बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छैन ।

सोमबार एकजना रिट लिएर त्यहाँ पुगेको भएपनि खटिएका कर्मचारीले उच्च अदालत पाटन जान सुझाएका थिए । तेस्रो पालमुनि हेल्प डेस्क सञ्चालन गरिएको थियो ।

null

भवनमा आगजनी भएपनि केही फर्निचरसहितका सामग्रीहरू निकाल्ने काम भने सोमबार पनि जारी थियो ।

सर्वोच्च अदालतको एनेक्स भवनमा सामान्य क्षति मात्र भएकाले त्यहाँ रहेका अभिलेख सुरक्षित छन् ।

त्यही एनेक्स भवनमा मुख्य रजिस्ट्रार विमल पौडेलको कार्यकक्ष स्थापना गरिएको छ भने न्यायाधीशहरूको समेत अस्थायी च्याम्बर तयार गर्ने काम अगाडि बढेको छ ।

एनेक्स भवनमा इजलास व्यवस्थित गरेपछि बन्दी प्रत्यक्षीकरण र अत्यन्त जरुरी निवेदनमाथि सुनुवाइ गर्ने तयारी रहेको मुख्य रजिस्ट्रार पौडेलले बताए ।

उनका अनुसार, सर्वोच्च अदालत र मातहतका १७ वटा अदालतमा ठूलो क्षति भएको छ । ‘मातहतका ती सबै अदालतबाट क्षतिको विवरण संकलन गर्न परिपत्र गरिएको छ,’ पौडेलले लोकान्तरसँग भने, ‘सर्वोच्च अदालतमै के कति क्षति भएको छ, त्यसको यकिन विवरण अहिले संकलन हुनसकेको छैन । केही दिन समय लाग्छ ।’

null

उनका अनुसार, ५१ थान ४ पाङ्ग्रे गाडी पूर्ण रूपमा आगजनीबाट नष्ट भएका छन् भने झन्डै २ सय जति २ पाङ्ग्रे सवारीसाधन पनि जलेको हुन सक्ने उनले बताए ।

’५१ थान चारपाङ्ग्रे सवारी साधन पूर्ण रूपमा जलेर नष्ट भएको छ । त्यसमध्ये केही श्रीमानहरूले चढ्ने गर्नुभएको गाडीदेखि कर्मचारीले चढ्ने गाडी समेत जलेका छन्,’ मुख्य रजिस्ट्रार पौडेलले लोकान्तरसँग भने, ‘सरकारी गाडीबाहेक कानून व्यवसायीदेखि कर्मचारी समेतको निजी गाडी पनि जलेको छ ।’

त्यसैगरी, झन्डै २ सयको संख्यामा २ पाङ्ग्रे सवारी साधन जलेको उनको अनुमान छ । मिसिल, अभिलेखसहित अन्य क्षतिको विषयमा प्रवक्तासँग  नै सोध्न उनले आग्रह गरे ।

null

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला ठ्याकै क्षतिको यकिन विवरण अहिलेसम्म संकलन भइनसकेको  बताउँछन् ।

‘चालु अवस्थामा रहेका विगत ६ वर्षदेखिका झन्डै २६ देखि २७ हजारको हाराहारीमा मिसिल फाइलमा क्षति भएको छ । त्यसमध्ये फैसला लेख्न बाँकी रहेका झन्डै ४ हजार जति फाइल पनि जलेर नष्ट भएका छन्,’ प्रवक्ता कोइरालाले लोकान्तरसँग भने, ’२५ देखि २६ हजार चालु अवस्थाका फाइलमध्ये ५ प्रतिशत मात्र बचेका छन् ।’

कति कम्प्युटर, प्रिन्टर, ल्यापटपसहित अन्य सामग्री नष्ट भएको हो, त्यस विषयमा समेत विवरण संकलन गर्न सबै शाखालाई निर्देशन दिइएको उनले बताए ।

सर्वोच्च अदालतको भवनको एउटा भागमा बस्न नमिल्ने भनेर रेड स्टिकर लागेको उनले बताए । त्यसैगरी, अर्को भवनमा समेत येल्लो स्टिकर लागेको उनले बताए ।

सर्वोच्च अदालतको आईटी सिस्टम पनि जलेको हुनाले नष्ट भएका फाइलहरू प्राप्ति हुन सक्ने वा नसक्ने विषयमा यकिन थाहा हुन सकेको छैन ।

‘सर्भर सञ्चालनमा आए नष्ट भएका कतिपय फाइल तथा मिसिल त्यहीँबाट प्राप्त गर्न सकिन्छ,’ प्रवक्ता कोइरालाले लोकान्तरसँग भने, ‘नभए मुद्दाका पक्षहरू, कानून व्यवसायीदेखि सरकारी वकिलसम्म समेत रहेको फाइलबाट मिसिल पुन:प्राप्तिको काम गर्छौं । तर, त्यसमा भने बढी समय लाग्न सक्छ ।’

null

अहिले सर्वोच्च अदालतका सबै कम्प्युटर, प्रिन्टर, ल्यापटप समेत जलेर नष्ट भएको हुनाले मातहतका अदालतबाट झिकाएर काम सञ्चालन गर्ने सर्वोच्च अदालत प्रशासनको तयारी छ ।

मुख्य रजिस्ट्रार पौडेलले लोकान्तरसँग भने, ‘यसअघि सर्वोच्चबाट  मातहतका अदालतहरूमा स्रोतसाधन दिने गरिएको थियो । तर, अहिलेको विषम परिस्थितिमा मातहतका अदालतहरूबाट मगाएर भए पनि काम अगाडि बढाउने तयारी भएको छ ।’

सर्वोच्च अदालतले अहिले तत्काल पेशी तारेख लिन नआउन सूचना नै जारी गरेको छ ।  सर्वोच्च अदालत नियमित रूपमा सञ्चालनमा आएको मितिले ३० दिनसम्म म्याद, हदम्याद, तारेख समेत नगुज्रिने भनेर सूचना प्रकाशित गरेकाले सेवाग्राहीहरूलाई तत्काल त्यसैका लागि सर्वोच्च अदालत नगए पनि हुने भएको छ । छठपछि मात्रै  सर्वोच्च अदालतले आफ्नो नियमित सुनुवाइ गर्न सक्ने स्थिति छ ।

सर्वोच्च अदालत परिसरमै भेटिएका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले सर्वोच्चको ८० प्रतिशत संरचना जलेर नष्ट भएको बताए । त्यसबाहेक नेपाल बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसन, केही अन्य अदालतसहित कानून व्यवसायीका ल फर्म समेत प्रदर्शनकारीको आगजनीबाट नष्ट भएको उनले बताए ।
null

‘आगजनीबाट न्यायालयलाई अपूरणीय क्षति भएको छ,’ पौडेलले लोकान्तरसँग भने, ‘अब न्यायालय लयमा फर्किन केही समय त लाग्छ ।’

सर्वोच्च अदालतमै भेटिएका सर्वोच्च अदालत बार एसोसिएसनका पूर्व सदस्य समेत रहेका अधिवक्ता विकास भट्टराईले सर्वोच्च अदालतमा गरिएको आगजनीका कारण देशभरका न्यायालय अवरुद्ध भएको बताए ।

‘सर्वोच्च अदालतमा भएको आगजनीका कारण वेबसाइट बन्द भएको छ । देशभरका सबै अदालतको दैनिक पेशी सूचीदेखि साप्ताहिक पेशी सूची तोक्ने सर्वोच्च अदालतको सर्भर नै ठप्प भएको हुनाले सबै अदालतको सुनुवाइ स्थगित भएको छ,’ भट्टराईले लोकान्तरसँग भने, ‘न्याय प्राप्त गर्नुपर्ने देशभरका सेवाग्राही न्याय पाउनबाट वञ्चित भएका छन् ।’

आगजनी नभएका अदालतमा पनि सर्भर सञ्चालन हुन नसकेका कारण सुनुवाइ स्थगित भएको हो । देशभरका सबै अदालतको पेशी सर्वोच्च अदालतकै सर्भरबाट सञ्चालित रहेकाले अन्य अदालतहरू पनि प्रभावित हुन पुगेको हो ।

त्यसैगरी, सर्वोच्च अदालतको चालु अवस्थाका विचाराधीन  ८० प्रतिशत मिसिल जलेर नष्ट भएको हुनाले अब ती मिसिल प्राप्ति गर्ने पनि चुनौती थपिएको उनको कथन छ ।

 ‘मुद्दाका पक्षबाट मिसिल झिकाउने काम सर्वोच्चले गर्नसक्छ, तर त्यसमा धेरै समय लाग्ने हुनाले विचाराधीन ती मिसिलहरूको व्यवस्थापन कसरी गर्ने हो भन्ने कुराको चुनौती थपिएको छ,’ भट्टराईले थपे, 'मिसिल प्राप्त गर्न महिनौं लाग्छ । त्यसकारण अब सेवाग्राहीले न्याय पाउन महिनौं कुर्नुपर्ने अवस्था आएको छ ।'

हेर्नुहोस्, थप तस्वीरहरू :

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

null

salt training

कमेन्ट गर्नुहोस्