२४ असार २०८३, बुधबार

झण्डै दुई महिना लगाएर भित्रिने अमेरिकन स्याउ आउनै छाड्यो, नेपाली बजारमा चिनियाँको वर्चश्व

असोज २, २०८२
काठमाडौं
झण्डै दुई महिना लगाएर भित्रिने अमेरिकन स्याउ आउनै छाड्यो, नेपाली बजारमा चिनियाँको वर्चश्व

एक वर्ष अघिसम्म झन्डै दुई महिना लगाएर नेपाली बजारमा अमेरिकाको ‘फुजी स्याउ’ भित्रिने गरेको थियो । तर, एक वर्षयता नेपाली बजारमा अमेरिकी फुजी स्याउ देखिन छोडेको छ । 

भन्सार विभागकै तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०८०/८१ मा ८३ लाख ८८ हजार रुपैयाँ बराबरको ४० टन अमेरिकी फुजी स्याउ नेपाल भित्रिएको देखिन्छ । उक्त आर्थिक वर्ष नेपालमा थाइल्याण्ड, टर्की, न्युजिल्यान्ड , चीन र भारतबाट स्याउ भित्रिएको थियो । तर, गत असार मसान्तसम्म (आव २०८१/८२)को तथ्याङ्क हेर्दा नेपालमा अमेरिकी फुजी स्याउ भित्रिएको देखिन्न ।

गत आर्थिक वर्षमा नेपालमा सबैभन्दा बढी चीनबाट र केही भारत, भुटान र थाइल्याण्डबाट मात्रै स्याउ भित्रिएको देखिन्छ । यसअघि नेपालमा टर्की, इन्डोनेसिया, थाइल्यान्ड, न्युजिल्यान्ड  र अस्ट्रेलियालगायत राष्ट्रबाट स्याउ आयात हुने गरेको देखिन्थ्यो ।

अहिले नेपाली बजारमा अमेरिकी फुजी स्याउ आउन छोडेको फलफूल बजार व्यवसायी संघ कुलेश्वका पूर्वअध्यक्ष नारायण धिताल बताउँछन् । चीनबाटै फुजीलगायत थुप्रै स्याउहरू आउने गरेको उनले बताए ।

केही वर्ष अघिसम्म रोयल डेलिससजस्तै अमेरिकी फुजी स्याउ करिब करिब ५० दिन लगाएर नेपाल भित्रिने गरेको उनले स्मरण गरे । तर, पछिल्लो समय अमेरिकी स्याउ आउन छोडेको उनले सुनाए ।

२०७२ सालमा गएको भूकम्पपछि नेपालमा अमेरिकाबाट फुजी स्याउ भित्रिन थालको व्यवसायीहरू बताउँछन् । त्यसअघि मारवाडी समुदाय, कूटनीतिक नियोग र डिपार्टमेन्ट स्टोरहरूले भारतको कलकत्ता हुँदै नेपालमा अमेरिकी फुजी स्याउ भित्र्याउने गरेका थिए । 

करिब ५०औं दिनमा नेपाली उपभोक्तासम्म आइपुग्ने फुजी स्याउ हेर्दा भर्खरै बोटबाट टिपेजस्तो ताजा देखिनुका साथै निकै रसिलोसमेत हुन्थ्यो ।

अमेरिकी फुजी स्याउले नेपाली उपभोक्तालाई आकर्षित गरे पनि महँगो पर्ने भएकोले सीमित समूहका लागि मात्रै यस्तो स्याउ भित्रिँदै आएको थियो । अहिले पनि केही स्थानमा अमेरिकी फुजी स्याउ पाइने गरेको व्यवसायीहरू बताउँछन् तर, भन्सारको तथ्याङ्कमा भने पछिल्लो समय अमेरिकाबाट स्याउ भित्रिएको देखिन्न । 

नेपाली बजारमा चीनको फुजी, झोले, डेलिसस, चिनीको डल्लो, निसाको डल्लो र सान्सीको डल्लो स्याउहरू छ्यापछ्याप्ती पाइन्छन् । यसका साथै न्युजिल्यान्डको मी. एप्पल ब्रान्डमा फुजी, भारत सिमलाको रेड गोल्ड र रोयल डेलिसस, कास्मीरको चकलेटी र डेलिसस, जुम्लाको अर्गानिक रोयल रेड र गोल्डेन डेलिससलगायत स्याउ पनि बजारमा पाइन्छन् । 

पछिल्लो २/३ वर्षयता नेपालमा चीनकै स्याउको दबदबा कायम रहेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमरबहादुर बानियाँ बताउँछन् । नेपालमा चीनबाट आउने स्याउको गुणस्तर र सहज उपलब्धताले बजारमा अन्य राष्ट्रबाट आउने स्याउलाई रोकेको उनको भनाइ छ । ‘अहिले अमेरिकी फुजी स्याउ आउँदैन, पहिले आउँथ्यो । अहिले सबै चीनबाटै आउँछ,’ उनले भने, ‘अहिले नेपाली बजारमा केही स्वदेशी र बाँकी चीनकै स्याउ पाइन्छ भन्दा फरक पर्दैन ।’

नेपालमा वार्षिक ७/८ अर्बसम्मको स्याउ बाहिरबाट आयात हुने गरेको छ । जसमा ९५ प्रतिशत चीनबाटै आयात हुन्छ । ५ प्रतिशत भारतलगायत अन्य राष्ट्रहरूबाट आयात हुने गरेको छ । अमेरिकी स्याउको स्थान पनि पछिल्लो समय चीनले ओगटेको छ । 

नेपालमा पनि व्यावसायिक रूपमा फुजी स्याउको उत्पादन शुरू भएको छ । तर, बजारमा प्रतिस्पर्धा गर्ने गरी अझै राम्रोसँग उत्पादन हुन नसकेको व्यवसायीहरूको भनाइ छ । 

अमेरिकी स्याउको आयात : 

नेपालमा आर्थिक वर्ष २०८०/८१ मा ८३ लाख ८८ हजार रुपैयाँ बराबरको ४४ टन अमेरिकी फुजी स्याउ नेपाल भित्रिएको भन्सार विभागको तथ्याङमा देखिन्छ । त्यस वर्ष नेपालमा थाइल्यान्ड, टर्की, न्युजिल्यान्ड , चीन र भारतबाट स्याउ भित्रिएको देखिन्छ । 

त्यसअघि आर्थिक वर्ष २०७९/८० मा अमेरिकाबाट ५० लाख ३४ हजार रुपैयाँ बराबरको २० टन स्याउ नेपाल भित्रिएको थियो । यस वर्ष स्वीजरल्याड बाट पनि २७ लाख २० हजार रुपैयाँ बराबरको ३५ टन स्याउ नेपाल भित्रिएको थियो । 

आर्थिक वर्ष २०७८/७९ मा कुल ४४ लाख १३ हजार रुपैयाँ बराबरको १९ टन अमेरिकी फुजी स्याउ नेपाल भित्रिएको थियो र त्यसअघि आर्थिक वर्ष २०७७/७८ मा अमेरिकाबाट १ करोड २१ लाख ४७ हजार रुपैयाँ बराबरको ५८ टन फुजी स्याउ आयात भएको थियो । यस वर्ष टर्की, इन्डोनेसिया, भारत र चीनबाट स्याउ नेपाल भित्रिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्