०८ साउन २०८३, शुक्रबार
प्रधानमन्त्री कार्की–मोदी फोनवार्ता

नेपालमा शान्ति र स्थिरता पुनर्स्थापित गर्ने सरकारको प्रयासमा दृढ समर्थन– मोदी

असोज २, २०८२
काठमाडौं
नेपालमा शान्ति र स्थिरता पुनर्स्थापित गर्ने सरकारको प्रयासमा दृढ समर्थन– मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्ति र स्थिरता पुनर्स्थापित गर्ने सरकारको प्रयासमा आफ्नो दृढ समर्थन रहेको बताएका छन् । 

बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग फोन संवादपछि मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने नेपालको प्रयासमा भारतको दृढ समर्थन रहेको बताएका हुन् । 

उनले भोलि अर्थात् असोज ३ गते मनाइने संविधान दिवसको शुभकामना पनि दिएका छन् । 'नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो । हालै भएको दुःखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई पुनः पुष्टि गरें,' उनले लेखेका छन्, 'साथै, मैले भोलि राष्ट्रिय दिवस (संविधान दिवस)मा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरें ।'

फोन वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएकी थिइन् । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गरिन् । 

साथै उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराएकी थिइन् । 

छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत मन्त्रालयले जनाएको छ ।

यसअघि गत भदौ २८ गते भारतको मणिपुरमा आयोजित सभामार्फत् पनि मोदीले कार्कीलाई शुभकामना दिएका थिए । प्रधानमन्त्री कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेर पनि बधाई दिइसकेका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते पूर्वप्रधानमन्याधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्