०३ असार २०८३, बुधबार
नेतृत्वदायी पद नै रिक्त

पीडाका बीच प्रहरी वृत्ति विकासको चिन्ता: कहिले हुन्छ शीर्ष पदमा बढुवा ?

असोज २, २०८२
काठमाडौं
पीडाका बीच प्रहरी वृत्ति विकासको चिन्ता: कहिले हुन्छ शीर्ष पदमा बढुवा ?

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले अवकाश पाएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) चन्द्रकुवेर खापुङ नेतृत्वमा पुगे ।

खापुङ आईजीपी बनेसँगै हाल नेपाल प्रहरीमा चार एआईजी, चार प्रहरी नायब महानिरीक्षक (डीआईजी), चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लगायत पदहरूमा दरबन्दी खाली भएको छ ।

मानव स्रोत विकास विभागका एआईजी दानबहादुर कार्कीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेसँगै उक्त विभाग डीआईजीले नेतृत्व गरेका छन् ।

सीआईबीमै पनि डीआईजीकै नेतृत्व छ । त्यस्तै, प्रशासन विभाग र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पनि डीआईजीले नेतृत्व गरिरहेका छन् ।

विभागीय नेतृत्वले संगठनको नीति निर्माण गर्ने र आईजीपीको सहयोगीको रूपमा काम गर्ने हो ।

तर, अहिले प्रदर्शनकारीको आक्रमणमा परेर प्रहरी कार्यालयहरू थिलोथिलो भएका छन् । प्रहरी आफैं पनि कहाँ बस्ने भन्ने टुंगो नभएका बेला ‘रिक्त ठाउँमा बढुवा गरिदेऊ’ भनेर हिम्मत गर्ने अवस्थामा आईजीपी खापुङ छैनन् । संगठनको मनोबल उच्च राख्ने र वृत्ति विकासका समेत ध्यान दिनुपर्ने जिम्मेवारी खापुङमा छ । छोटो कार्यकाल (आगामी कात्तिक २७ सम्म) का खापुङले पहिला ध्वंश भएका प्रहरीका युनिटहरूलाई ठड्याउनु चुनौतीको रूपमा रहेको छ ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले सहसचिव डुण्डुराज घिमिरेलाई सचिवमा बढुवा गर्‍यो ।

निजामती कर्मचारीतर्फका खाली दरबन्दीमा तत्कालै पूर्ति गरेको यो सरकारले सुरक्षा निकाय खास गरी प्रहरीमा पनि खाली रहेको दरबन्दी पूर्ति गर्नेमा प्रहरी मुख्यालय आशावादी बनेको छ ।

‘निजामतीतर्फ खाली रहेको एउटा सचिव पदमा यो सरकारले तत्कालै पूर्ति गरिदिएपछि हाम्रो संगठनको दरबन्दी पनि पूर्ति हुनेमा आशावादी छौं,’ प्रहरी मुख्यालयका एक उच्च अधिकृतले भने, ‘यसका लागि आईजीपीसाबले गृहमन्त्रीलाई कन्भिन्स गर्न सक्नुपर्छ ।’

केपी ओलीको सत्ता उलटपुलट हुनुभन्दा एक हप्ता अघिसम्म पनि आकांक्षी डीआईजीहरूले एआईजीमा बढुवा हुन राजनीतिक ‘लबिइङ’ गरिरहेका थिए । अहिले एक हिसाबले राजनीतिक शून्यता जस्तै छ ।

सरकारमा राजनीतिक छायाँ छैन । यो अवस्थामा बढुवा आकांक्षीका कार्यसम्पादन मूल्यांकन र बढुवा समितिले दिएको अंकको आधारमा बढुवा सिफारिश गर्नेबाहेक अर्को विकल्प छैन । अब खराब आचरण र विवादमा मुछिएका प्रहरी सोर्सफोर्समा बढुवा हुने सम्भावना कम भएको छ ।

वरिष्ठताअनुसार २०८१ मंसिर र पुसमा एसएसपीबाट डीआईजीमा बढुवा भएका अधिकृत अब हुने एआईजी बढुवाका दाबेदार मानिन्छन् । डीआईजीहरू क्रमश: सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक बढुवाका मुख्य दाबेदार हुन् ।

यी सबै राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरी २०५८ सालमा प्रहरी सेवामा प्रवेश गरेका वरिष्ठ प्रहरी अधिकारी हुन् । राठौर प्रहरी प्रधान कार्यालयको प्रबन्ध शाखा, चतुर्वेदी मधेश प्रदेश, श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख छन् ।

२०८१ पुस २८ मा डीआईजीमा बढुवा भएकाहरू क्रमश: ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि आफूलाई बढुवाका दाबेदार मान्छन्  । यी पाँचैजना २०५४ चैत १८ मा इन्स्पेक्टरमा भर्ना भएका अधिकृत हुन् । हाल कार्की कोशी, भट्ट लुम्बिनी, आचार्य गण्डकी, पौडेल बागमती प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छन् ।

आईजीपी खापुङले पहिला प्रहरी बस्ने ठाउँ, तिनले लगाउने लत्ता कपडा र चढ्ने गाडीको व्यवस्थापन गर्ने र सँगसँगै खाली रहेका दरबन्दी पूर्ति गर्नेतर्फ आफ्नो ध्यान अगाडि बढेको बताए । उनले लोकान्तरसँग भने, ‘सरुवा–बढुवा नियमित प्रक्रिया हुन्, खाली रहेका दरबन्दीलाई पूर्ति गर्नुपर्छ, अहिले त प्रहरीको मनोबल र मनोभावनालाई जागृत गराउनु नै मुख्य अभिभारा छ ।’

salt training

कमेन्ट गर्नुहोस्