
वैदिक कर्मकाण्डसम्बन्धी ग्रन्थलाई शतपथब्राह्मण भनिन्छ । शुक्लयजुर्वेदीय पारष्कर गृह्यसूत्रअन्तर्गत पर्ने यस ग्रन्थको एक स्थानमा भनिएको छ– ‘वरुणले पृथिवी र आकाशलाई समन्वय गरेका थिए ।’ मत्स्यपुराणको अवस्था पनि त्यस्तै भेटिन्छ, जसको एक स्थानमा भनिएको छ– ‘ब्रह्माले आफ्नो राज्य (ब्रह्मण्ड)लाई दुई भागमा विभक्त गरेका थिए, जसमा माथिल्लो पर्वतीय प्रदेश र तल्लो समतल भूभाग पर्दछ’ तर वरुणले कहाँको भूखण्ड र आकाशलाई समन्वय गरेका थिए र ब्रह्माको राज्य कहाँ थियो र कसरी दुई भागमा विभक्त गरेका थिए भन्ने कुराको प्रष्ट उल्लेख भने कतै भएको पाइन्न । त्यसैले यसको जानकारी खोज्न प्राचीन पर्शियन इतिहास तथा अवेस्तातिर जानुपर्ने हुन्छ । त्यस्तै कतिपय उनीहरूको अभिमत र पश्चिमी पुरातत्वविदहरूले उठाएका कुराको निष्कर्ष खोज्न पनि पूर्वीयदर्शन खासगरी पौराणिक गन्थहरूको पाना पल्टाउनुपर्ने देखिन्छ । त्यसैले आउनुस यहाँ यसैबारे छोटो चर्चा गरौँ ।
पौराणिकग्रन्थहरूमा उल्लेख भएअनुसार वर्तमान श्वेतवराहकल्पको आदिपुरुष स्वयम्भू मनु मानिएका छन् । उनका दुई पुत्र थिए, जसमा प्रियव्रत र उत्तानपाद पर्दछन् । यीमध्ये प्रियव्रतशाखामा पाँच मन्वन्तर र ३५ प्रजापतिले पृथिवीको भोग गरेका थिए भने उत्तानपादशाखामा एक मनु चाक्षुष र १० प्रजापतिले भोग गरेका थिए । उनै उत्तानपादशाखाका अन्तिम प्रजापतिको नाम दक्षप्रजापति थियो । उनका ६० बहिनी छोरीहरूमध्ये एउटीको नाम अदिती थियो, जसको विवाह मरीचिपुत्र कश्यपप्रजापतिको साथमा भएको थियो । तिनै अदितीको कश्यपप्रजापतिको तर्फबाट १२ पुत्र भएका थिए, जसमा जेठाको नाम वरुण र कान्छाको नाम सूर्य थियो । त्यतिबेला मातृसत्ताको समय भएकाले सन्तान आमाको नामबाट चिनिने गर्दथ्यो । त्यसैले उनका १२ पुत्रहरूलाई संयुक्तरूपमा १२ भाइ आदित्य भन्ने गरिन्थ्यो ।
तिनै १२ भाइ आदित्यमध्ये जेठा वरुणले छैटौँ चाक्षुष मन्वन्तरको अन्त्यमा पर्शियन क्षेत्रमा भएको जलप्रलयपछि लामो समयसम्म सुनसान रहेको मन्युपुरीमा सुषा नगरी बसाएका थिए । त्यतिबेला उनले त्यस क्षेत्रमा जमेको पाँचफिटभन्दा बाक्लो धूलकण पन्छाएका थिए भने जमेको पानीलाई नहर खनेर समुद्रसम्म पुर्याएर सुषाप्रदेश तथा मेसोपोटामिया क्षेत्रमा आदित्यहरूको बस्ती बसाएका थिए । बिस्तारै उनले निर्माण गरेका सुमेरुसभ्यतालाई उनका वंशजले विस्तार गरी प्राचीन ईरानको शाकस बन्न पुगेका थिए । पश्चिमी पुरातत्वविद् डा. फ्य्राङ्फर्ट र लेंग्डनका अनुसार वरुणले निर्माण गरेका सुमेरुसभ्यता अरू कोही नभई प्रोटोइलामाइट सभ्यताकै विकसित रूप थियो । अर्थात् प्रलयपूर्व त्यस क्षेत्रमा विद्यमान प्रोटोइलामाइट सभ्यताकै आधारमा वरुणले सुमेरु सम्यता निर्माण गरेका थिए । सुमेरु जातिले बोल्ने भाषा भएकाले होला उनीहरूको भाषालाई सुमेर भन्ने गरिएको पाइन्छ ।
जहाँसम्म प्रलयपूर्व ती प्रोटोइलामाइट जाति कहाँबाट मेसोपोटामिया क्षेत्रमा आएर बसेका थिए भन्ने प्रश्न छ त्यसबारे पुरातत्वविद्द्वय फ्य्राङ्फर्ट र लेँग्डन मौन देखिएकाले यसको उत्तर खोज्न पौराणिकग्रन्थहरूको अनुशीलन गर्नुपर्ने हुन्छ । किनभने उल्लिखित पुरातत्वविद्द्वयले जुन प्रोटोइलामाइट जाति वा सभ्यताका कुरा गरेका थिए ती अरू कोही नभएर भारतीय उप–महाद्वीपको दक्षिणपश्चिम क्षेत्रका निवासी चाक्षुष मनुकै वंशज देखिन्छन्, जसका छ जना महारथि मिलेर सिन्धुक्षेत्र (सरस्वतीतट) बाट बलुचिस्तान, ईरान हुँदै पूरा मेसोपोटामिया क्षेत्र विजय गरी राज्य स्थापित गरेका थिए ।
यसरी वरुणले प्रलयको जललाई व्यवस्थित गरी समुद्रको सीमा निर्धारण गरेका थिए भने जमिनलाई सम्याएर मानवबस्ती तथा कृषिउत्पादन योग्य बनाएका थिए । त्यसैले उनलाई कतै जलका देवता भनिएको पाइन्छ भने कतै सृष्टिकर्ता बह्मा र कतै नारायण भन्ने गरिएको पाइन्छ । यसमा अवेस्ता तथा प्राचीन पर्शियन इतिहास र जैनहरूको इतिहासलाई लिन सकिन्छ । उनीहरूका अनुसार कामका आधारमा नामकरण गरिएकाले यी नामहरू रूपमा मात्र अलग हुन्, अपितु सारमा व्यक्ति एउटै देखिन्छन् । किनभने प्रलयपछि सर्वप्रथम नयाँ संरचना तयार पारेकाले अर्थात् नयाँ सृष्टिको व्यवस्था मिलाएकाले तिनै वरुणर्लाई नै ब्रह्मा भनिएको देखिन्छ भने अर्को कारण उनी १२ भाइ आदित्यमा जेठा हुनृुसित सम्बन्धित बुझिन्छ । त्यस्तै उनलाई सृष्टिकर्ता मान्नुको कारण चाहिँ सुमेरु सभ्यताको संस्थापक हुनु रहेको पाइन्छ ।
त्यसैगरी नारायण भन्नुको अर्थ जललाई व्यवस्थित गर्ने काम गरेकाले बुझिन्छ । किनभने जल अर्थात् पानीको एउटा नाम नार हो । नारमा बस्ने वा त्यसको व्यवस्था गर्नेलाई नारायण भनिन्छ । पश्चिमी विद्वान्हरू वरुणलाई लर्ड क्रियेटर अर्थात् देवकर्ता भन्छन् भने सुमेरुजाति पनि सृष्टिकता वरुणलाई मान्दथे । उनलाई अवेस्तामा अरुज्द वा उरमज्द भनिएको छ । यसको पनि आशय अन्तत: सृष्टिकर्तासितै सम्बन्धित देखिन्छ । इलोहिम र इलाही पनि उनकै नाम हो, जसको आशय इलावर्तको उपास्यदेव रहेको बुझिन्छ ।
वरुणका कान्छा भाइ सूर्यको वंशजहरू आर्यसभ्यतामा आबद्ध भई भारतीय उपमहाद्वीपतिर छरिएर रहन लागेको पाइन्छ । वरुणसहितका अन्य ११ भाइका वंशजहरू भने पर्शिया, मेसोपोटामिया, मिश्र, प्यालेष्टाइन, अरब, चीन (तिब्बत) तर्फ फैलिन पुगेको देखिन्छ, जसले देवजाति गठन गरेका थिए । उता वरुणको समयमा सुषा नामले परिचित मन्युपुरी पछि गएर इन्द्रपुरी अमरावतीको नामले परिचित हुन पुगेको पाइन्छ ।
माथिका प्रसङ्गहरूबाट के प्रष्ट हुन आउँछ भने प्रग्वैदिक इतिहासबारे प्रष्ट हुनका लागि पौराणिक ग्रन्थहरू र प्राचीन पर्शियन इतिहास तथा अवेस्ताको समन्वयात्मक अध्ययन जरूरी देखिन्छ । किनभने पौराणिक ग्रन्थहरूमा प्रष्ट नभएका कुराहरू त्यताबाट प्रष्ट हुन आएका छन् भने त्यताबाट प्रष्ट हुन नसकेका कुराहरू पौराणिक ग्रन्थहरूबाट थाहा पाउन सकिन्छ । यद्यपि हामीमध्ये कतिलाई यो कुरा मन नपर्न सक्छ । कतिले तीन बित्ता उफ्रेर नानाभाँतीका आरोप लगाए भने पनि आश्चर्य होइन । तथापि सत्य के हो भने एकाकी अध्ययनबाट इदमित्थंको धारणा बनाउनु भनेको छेउ न टुप्पोको हुनबाहेक केही होइन ।