३२ असार २०८३, बिहीबार

गण्डकीका ४६१ कैदीबन्दी अझै फरार, ७३४ जना कारागार फर्किए

असोज ६, २०८२
पाेखरा
गण्डकीका ४६१ कैदीबन्दी अझै फरार, ७३४ जना कारागार फर्किए

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकीका विभिन्न कारागारबाट भागेका ११ सय ९५ कैदीबन्दीमध्ये आइतबारसम्ममा सात सय ३४ कैदीबन्दी कारागार फर्किएका छन् । 

चार सय ६१ कैदीबन्दी अझै फरार रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये तीन सय ८१, तनहुँ कारागारबाट भागेका तीन सय २७ मध्ये दुई सय ७६, म्याग्दी कारागारबाट भागेका ७६ मध्ये ६७ जना र पर्वत कारागारबाट भागेका १९ मध्ये १० जना कैदीबन्दी कारागार फर्किएका हुन् । 

कास्की कारागारबाट भागेका तीन सय ९२, तनहुँ कारागारका ५१, म्याग्दी र पर्वत कारागारका नौ/नौ जना अझै पक्राउ पर्न नसकेको सूचना अधिकारी कार्कीले बताए ।

कतिपय कैदीबन्दी आफैं कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको उनको भनाइ छ । भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । 

‘जेनजी’ आन्दोलनका क्रममा चारवटै कारागारमा रहेका कूल १२ सय ८१ कैदीबन्दीमध्ये ११ सय ९५ जना भागेका थिए । प्रदेशका अन्य केही कारागार कार्यालयबाट पनि कैदीबन्दी भाग्न खोजे पनि कडा सुरक्षा व्यवस्थाका कारण उनीहरू भाग्न सकेका थिएनन् ।  

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको  डीएसपी बस्नेतले बताए । 

उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए । यस्तै कास्कीको सराङकोटमा रहेको बाल सुधारगृहबाट भागेका एक सय छ जना बाल बन्दीमध्ये ४६ जना सुधारगृहमा फर्किएको जनाइएको छ । कारागार र प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई आफैं कारागार फर्कन शुरूदेखि नै आग्रह गरेका छन् ।     
     
टोलछिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी वा थुनुवा देखेमा कारागार कार्यालय र प्रहरीमा खबर गर्न अनुरोध गरिएको डीएसपी बस्नेतले बताए ।

कारागार व्यवस्थापन विभागले कैदीबन्दी आफैं कारागार नफर्किएमा विशेष सुरक्षा अपरेसन सञ्चालन गरेर उनीहरूलाई फर्काउने योजना बनाएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्