३२ असार २०८३, बिहीबार

छात्रवृत्तिको विवरण नबुझाउने विद्यालयको सञ्चालन अनुमति रद्द गर्ने बालेनको चेतावनी

असोज ६, २०८२
काठमाडौं
छात्रवृत्तिको विवरण नबुझाउने विद्यालयको सञ्चालन अनुमति रद्द गर्ने बालेनको चेतावनी
फाइल फोटो

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र)ले छात्रवृत्ति विवरण नबुझाउने विद्यालयको सञ्चालन अनुमति रद्द गर्ने चेतावनी दिएका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत यस वर्ष २० हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएको जानकारी दिँदै यस्तो चेतावनी दिएका हुन् । 

'केही विद्यालयले हालसम्म विवरण बुझाएका छैनन्, उहाँहरूलाई यथाशीघ्र विवरण बुझाउन अनुरोध गर्छौं, विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझी काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ,' उनले लेखेका छन् ।

छात्रवृत्ति कार्यान्वयनको पहिलो वर्ष १३ हजार, दोस्रो वर्ष १९ हजार र यो वर्ष १ देखि १० सम्म १६९८० र ११ मा ३३०२ गरी जम्मा २० हजार २८२ जनाले करिब २ अर्ब २५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति पाएका उनले जानकारी दिएका छन् ।

'यस शैक्षिक सत्र २०८२ मा हालसम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ । जसअनुसार १६९८० जनाले छात्रवृत्ति पाएका हुन् । केही विद्यालयले हालसम्म विवरण बुझाएका छैनन्, उहाँहरूलाई यथाशीघ्र विवरण बुझाउन अनुरोध गर्छौं, विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझी काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ । प्राप्त भएको विवरणको पनि हामी अनुगमन गर्नेछौं, फरक पाइएमा कानून बमोजिम कारबाही हुनेछ। कानून निर्माणको महत्त्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानून निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं,' उनले थप लेखेका छन् ।

सबै विवरण वेबसाइटमा सार्वजनिक गरिएको पनि उनले बताएका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्