
दुई महिनामै देशको व्यापार घाटा साढे दुई खर्ब नाघेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ)मा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले देखाएको हो ।
भन्सार विभागका अनुसार भदौ महिनासम्म नेपालले कुल ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको भदौ महिनासम्म नेपालले २ खर्ब ६२ अर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको थियो ।
दुई महिनामा नेपालको निर्यात ८८ प्रतिशतले बढेको छ । भदौ महिनासम्म नेपालले कुल ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८८.५७ प्रतिशतले बढी रहेको विभागले जनाएको छ ।