२८ जेठ २०८३, बिहीबार
जेनजी आन्दोलनपछिको राजनीति

कांग्रेसमा युवाविरुद्ध बुढा नेता एकजुट !

असोज ७, २०८२
काठमाडौं
कांग्रेसमा युवाविरुद्ध बुढा नेता एकजुट !

जेनजी आन्दोलनपछि पार्टीलाई बदल्ने प्रण गरेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध दोस्रो तहका नेताहरू एक ठाउँमा जुटेका छन् ।

जेनजीले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि परम्परागत दलका नेतृत्वमाथि सबैभन्दा धेरै प्रश्न उठाइएको छ । देशमा बढेको भ्रष्टाचार र बेथितिको मुख्य कारक नै प्रमुख दलका शीर्ष नेता भएको भाष्य जेनजी आन्दोलनले बनाइदियो ।

लामा र शृंखलाबद्ध आन्दोलन झेलेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू नै जेनजीको तारोमा परे । जेनजीको मुद्दा र अभियान अर्कैले हडपेको भन्दै फरक कोणबाट पनि कुरा नउठेका होइनन् ।

म्युजिकल चेयरजस्तो शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डकै वरिपरि दुई/तीन दशकसम्म सत्ता र शक्ति घुमिरह्यो । यसैले जेनजीको मुख्य निशानमा प्रमुख दलका शीर्ष नेताहरू परे । जसले नागरिक तह र दलभित्रै प्रश्न उठ्यो ।

उठ्दै आएको यही प्रश्नलाई जेनजीको आन्दोलनले उत्कर्षमा पुर्‍याइदियो, जसले आज कांग्रेस, एमाले र माओवादी तीनवटै दलभित्र नेतृत्व परिवर्तनको बहसले तीव्रता पाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता छाड्नु दुई दिनअघि मात्रै ललितपुरको गोदावरीबाट आफ्ना लागि अझै वैधानिक अनुकूलता बनाएका थिए ।

७० वर्षको उमेरहद हटाउने र नेतृत्वका लागि दुईपटकको कार्यकाल लागू नहुने निर्णय पास गराए । जेनजीको आन्दोलनपछि राजीनामा दिएर ओली १० दिन सेनाको सुरक्षामा बसे । फर्किएपछि उनी नेता र कार्यकर्तासँग संवादमा जुटेका छन् ।

यही बीचमा माओवादीमा पनि अध्यक्ष प्रचण्डले पार्टीका सबै कमिटी खारेज गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका छन् । उनको प्रस्ताव तत्काललाई क्रान्तिकारी लाग्ने खालको छ । तर, उनले विशेष महाधिवेशनमा म उठ्दिनँ भनेका छैनन् ।

जेनजीका आन्दोलनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं बहालवाला परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आन्दोलनकारीले निर्ममतापूर्वक आक्रामण नै गरे । दिनभरको लहडझहडपछि बल्ल सुरक्षाकर्मीले देउवालाई उपचारका लागि भदौ २४ गते छाउनी हुँदै लागि शिवपुरी पुर्‍याए । गर्दनमाथि १२ वटा टाँका लगाएका देउवा अझै उपचारबाट फर्किसकेका छैनन् । नियमित दैनिकीमा फर्किए पनि अब देउवाले महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्न पाउँदैनन् । आलोपालोमा प्रधानमन्त्री बन्न उनको तयारी पनि जेनजी आन्दोलनले अन्त्य गरिदिएको थियो । अर्कोतिर मंसिरमा नियमित चार वर्षे कार्यकाल सकिने भएपछि देउवामाथि अब पार्टी नेतृत्व हस्तान्तरणको घोषणा छिटो गर्न दबाब छ ।

यसअघिदेखि नै पार्टीमा नेतृत्व परिवर्तनका लागि माग गर्दै आएका महामन्त्रीद्वयलाई यसपटक थप आत्मबल प्राप्त भएको छ । यसैले उपचाररत सभापति देउवाको स्वास्थ्यलाभको काम गर्दै उनीहरूले पार्टी अब परम्परागत ढर्राबाट माथि उठ्नुपर्ने बहस थालेका छन् । भएका कमजोरीकोप्रति माफी माग्दै अब जबर्जस्त पार्टी सुधारमा लाग्ने उनीहरूको अठोट छ ।

फाइल तस्वीर

असोज ३ गते बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वयले महाधिवेशनबारे दुईवटा विकल्प अगाडि सारेका थिए । चार वर्ष पुग्ने भएपछि मंसिरमा १५ औं महाधिवेशन गर्नुपर्ने र नभए विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव उनीहरूले अगाडि सारेका हुन् ।

‘हाम्रो कार्यसमितिको नियमित समय मंसिरमा सकिँदैछ । यसैले अब कार्यकाल नथपौं । १५ औं महाधिवेशन गर्न सकिन्छ भन्ने कुरालाई हामीले बैठकमा इन्डोर्स गरेका हौं,’ महामन्त्री शर्माले लोकान्तरसँग भने, ‘महाधिवेशन गर्न नसक्दा केन्द्रीय समितिले चाहेमा विधानअनुसार नै विशेष महाधिवेशन गर्न सकिन्छ । यसमा हामी दुई महामन्त्रीको समान मत छ ।’

दुई महामन्त्रीको प्रस्तावपछि बैठकको अध्यक्षता गरेका उपसभापति पूर्णबहादुर खड्काले दशैंपछि बस्ने केन्द्रीय समितिको बैठकले एक ढिक्का भएर निर्णय गर्ने बताएका थिए ।

जेनजीको आन्दोलनपछि महामन्त्री थापाले प्रस्ट शैलीमा अब महाधिवेशनतिर जानेभन्दा अरू विकल्प नभएको बताएका छन् । ‘नियमित महाधिवेशन वा पार्टी नेतृत्वको चुनावले ग्रेसफुल एक्जिट हुन्छ,’ थापाले भनेका छन्, ‘अर्को पुरानै महाधिवेशनका प्रतिनिधिबाट विशेष महाधिवेशन विकल्प हो । महाधिवेशनले पार्टी सच्चिने मौका दिन्छ ।’

सभापति घाइते भएर उपचारमा हुँदा आफूहरू पनि उत्तिकै मानवीय हिसाबले अपडेट लिइरहेको उनी बताउँछन् । तर, अब सभापतिसँग सल्लाह गर्ने, नभए मनाएर, फकाएर अगाडि बढ्नुको विकल्प नभएको उनी बताउँछन् ।

‘हामी सभापतिसँग सोधेर, सल्लाह गरेरै अगाडि बढ्न चाहन्छौं । उहाँलाई मनाउने हो, फकाउने हो । मान्नुभएन भने अगाडि बढ्ने हो । त्योभन्दा अर्को बाटो छैन,’ भिडियो सन्देश जारी गर्दै थापाले भनेका छन्, ‘पुनर्गठनका लागि जस्तोसुकै कदम चाल्न तयार छु । पार्टीको भुइँमा बस्न तयार छु । नौजवानले आगो बालेको परिवर्तनका लागि हो । अब पुरानै ढर्रा र पाराले अनाहकमा ज्यान गुमाएकाप्रति न्याय हुँदैन ।’

घाइते सभापति उपचारबाट नफर्किँदै नेतृत्वमाथि प्रश्न उठाएको भन्दै देउवामाथि दबाब बढाउँदै आएका पुराना नेताले आक्रोश पोखेका थिए । आइतबार चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा पाँच पूर्व पदाधिकारी भेला भएका थिए । प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला र डा. प्रकाशशरण महत भेला भएका थिए । त्यसअघि छलफलमा सहभागी हुने गरेका गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार भने त्यो दिनको छलफलमा सहभागी भएनन् । उनीहरूबीच विशेष महाधिवेशनका लागि महामन्त्रीद्वयसहितले हस्ताक्षर अभियान चलाउँदै गरेको विषयमा पनि कुराकानी भएको थियो ।

यही छलफलमा सहभागी हुँदै नेता कृष्णप्रसाद सिटौला खरानी नठ्दै मौका छोप्ने महामन्त्रीद्वयको प्रवृत्ति घातक भएको बताउँछन् ।

‘सभापति घाइते हुनुहुन्छ । दशैंपछि केन्द्रीय समितिको बैठक बस्ने भनिएकै छ । यस्तो बेला हस्ताक्षर अभियान चलाउने, मौका छोप्ने प्रवृत्ति घातक हो । खासमा यतिबेला पार्टीमा एकता खोज्नुपर्ने हो, किनकि खरानी उठाइसकेको छैन । बस्ने घर छैन । डेरा छैन । यस्तो बेला पनि नेता निर्मम बन्न मिल्छ ?,’ सिटौलाले लोकान्तरसँग भने, ‘महाधिवशेनको तयारी गर्नुपर्छ । तर, यो जिम्मा आजको पनि दिनमा पनि महामन्त्रीहरूको हो । उहाँहरूले कति काम गर्नुभयो ? जिम्मेवारी पूरा भयो ?’

जेनजीले आगो बालेको र विध्वंश मच्चाएको कुरा मान्न नसकिने उनी बताउँछन् । ‘२४ गते जेनजीले आगो बालेका होइनन् । देशभरको विध्वंशमा २३ गतेका एउटा पनि जेन्जी थिएनन्,’ सिटौला भन्छन्, ‘देशैभर आगजनी र तोडफोड, लुटपाट गरिको छ । जेनजीको नाममा आगो बालेका हुन् । त्यसैले महाधिवेशनको तयारी केन्द्रीय समितिले गर्नुपर्छ । यो बेला खुशियाली मनाएर उफ्रिँदै हिँड्ने होइन । क्षतविक्षत भएको स्थितिबाट उठ्ने हो ।’

महामन्त्रीद्वयले आगोमा घ्यू थपेको भन्दै सिटौलाले आपत्ति नै जनाए । ‘यतिखेर देश रोएको छ । सारा मान्छे प्रभावित भएका छन् । सभापति फर्किनुभएको छैन । अहिलेसम्म केही भन्नुभएको छैन । मुख खोल्नुभएको छैन । फर्किएपछि उहाँले पनि केही भन्नुहोला,’ सिटौला भन्छन्, ‘तर आफ्नो पदीय जिम्मेवारी पूरा नगर्नेले आगोमाथि आगो थप्नु हुँदैन ।’

गगन र विश्वसहितका युवा नेताले एउटा अभियान थालेपछि उपचाररत देउवाले पनि आफ्नो पक्षका नेतालाई धैर्य गर्न सुझाव दिइरहेको नेताहरू बताउँछन् ।

‘उहाँले ठ्याक्कै प्रस्ट भाषामा केही भन्नुभएको छैन । तर, आफू उपचारबाट फर्किएपछि एउटा निर्णयमा पुग्छौं जस्तो सन्देश दिनुभएको छ,’ एक नेता भन्छन्, ‘उहाँलाई अब सभापति बन्न विधानले दिँदैन । ढिलोचाँडो एउटा निर्णय गर्नुहोला ।’​

विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान

पार्टीमा जबर्जस्त सुधारको माग गर्दै महामन्त्रीद्वय तातेपछि यसमा शेखर कोइराला र देउवा निकटका कतिपय युवा नेता पनि थपिन थालेका छन् ।

विशेष महाधिवशेनको पक्षमा खुलेरै शेखर निकटका नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, रामपल्टन साह र जनकराज गिरीहरू लागेका हुन् ।

विशेष महाधिवेशन गर्ने निर्णय कि केन्द्रीय समितिले लिनुपर्नेछ । कि १४ औं महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर पुर्‍याएर माग गर्नुपर्ने हुन्छ ।

अघिल्लो महाधिवेशनमा डा. शेखर कोइरालाले ४० प्रतिशत नै मत पाएका थिए । महाधिवेशनयता शेखर र गगनको सम्बन्ध चिसिएको थियो । पुन: शेखर र गगन एक ठाउँमा उभिने र देउवा पक्षका नेताले साथ दिए ४० प्रतिशत मत पुग्ने नेताहरू बताउँछन् । कुनै समूहको नाम नलिई संकटमा विशेष महाधिवेशनको माग गर्ने तयारी अनुरूप हस्ताक्षर अभियान चलाइएको नेताहरू बताउँछन् ।

null

कांग्रेस मामिलाबारे बोल्दै आएका राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले लामो समयदेखि पार्टीमा उठेको रुपान्तरण र पुस्तान्तरणको मागलाई टुंगोमा पुर्‍याउन जेनजीले थप दबाब दिएको बताए ।

‘युवा पुस्तामा नेतृत्व आउनुपर्‍यो, पार्टी रुपान्तरण हुनुपर्‍यो भनेर गगन र विश्वले लामो समयदेखि इस्यु उठाउँदै आउनुभयो । किनकि कांग्रेसमा पुराना नेता असफल हुँदै गएपछि प्रश्न उठ्दै गएको थियो,’ वाग्ले भन्छन्, ‘जेनजीले पनि लोकप्रियता खस्किएको, भ्रष्टाचारमा रुमल्लिएको र सुशासन नभएको तथा पुस्तान्तरण नभएको भन्दै आन्दोलन छेडे । यसको सन्देश पार्टीमा नयाँ नेतृत्व नै भन्ने हो । त्यसैले कांग्रेस पुनर्गठनमा यसपटक दबाब पुगेकाले हस्तक्षेप गर्ने नेतालाई शक्ति मिलेको छ ।’

लोकप्रिय र भिजनरी नेतृत्व स्थापित गर्ने उपयुक्त अवसर गगन र विश्वको पुस्तालाई भएको उनी बताउँछन् ।

‘कांग्रेसमा युवा नेताको प्रमुख एजेन्डा कांग्रेस पुनर्गठन हो । पुस्तान्तरणसहितको नेतृत्व स्थापित गर्नुपर्छ । लोकप्रिय, भिजनरी, जनता र युवाको विश्वास जित्ने नेतृत्व स्थापित गर्ने उपयुक्त अवसर आएको छ,’ वाग्ले भन्छन्, ‘यसपटक पनि कांग्रेस पुनर्गठन नभए, युवा पुस्ताको भावनाअनुसार नेतृत्व स्थापित नभए गम्भीर प्रश्न खडा हुन्छ ।’

यसपटक दृढ देखिएका महामन्त्रीद्वय चुके पुन: अवसर आउन कठिन हुने उनी बताउँछन् ।  

‘महामन्त्रीद्वय यसपटक दृढ देखिन्छन् । विगतमा पनि मुद्दा उठाएका थिए । यसपटक निर्णायक रूपमा हस्तक्षेप गर्ने अवसर छ । पार्टी पुनर्गठन गर्ने, रुपान्तरण गर्ने र नेतृत्वमा पुग्ने गरी हस्तक्षेप गर्नुपर्ने ठाउँमा उनीहरू छन्,’ वाग्ले भन्छन्, ‘महामन्त्रीका लागि अन्तिम अवसर हो । यो अन्तिम परीक्षा र अवसर समेत हो । पछाडि नपाउन सक्छन् । यसैले सबैसँग समन्वय गरेर निर्णायक बन्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्