
जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाको अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।
उक्त विध्वंसात्मक गतिविधिसँग सम्बन्धित सीसी टीभीका फुटेज, भिडियो, फोटो, भ्वाइस रेकर्डलगायत प्रमाणजन्य सामग्री उपलब्ध गराई घटनाको अनुसन्धानमा सघाउन प्रहरीले अनुरोध गरेको हो ।
साथै सुरक्षा निकायका हातहतियारसहित अन्य लुटपाट गरिएका सामग्री लुकाइ छिपाइ राखिएको जानकारी भएमा प्रहरीलाई खबर गर्न भनिएको छ ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सूचनामार्फत विध्वंसात्मक गतिविधिसँग सम्बन्धित सूचना र प्रमाणजन्य सामग्री उपलब्ध गराउने व्यक्ति वा संस्थाको पूर्ण गोपनीयता कायम गरिने जनाएको छ ।
प्रदर्शनकारीले कास्कीका सुरक्षा निकाय, सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठानलगायत व्यक्तिगत घरमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए ।
पोखरामा रहेका तीनै तहका सरकारका अधिकांश कार्यालय भवन आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भएका छन् ।