१५ असार २०८३, सोमबार
जेनजी आन्दोलनपछिको विकासक्रम

शीर्ष नेताका निवासमा सम्पत्ति शुद्धीकरण विभागको मुचुल्का, के भेटियो प्रमाण ?

असोज ९, २०८२
काठमाडौं
शीर्ष नेताका निवासमा सम्पत्ति शुद्धीकरण विभागको मुचुल्का, के भेटियो प्रमाण ?

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन दलका शीर्ष नेताका घरमा पुगेर मुचुल्का उठाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पुगेर विभागको टोलीले मुचुल्का उठाएको हो ।

विभागले नेपाली कांग्रेसकै केन्द्रीय सदस्य एवं पूर्व ऊर्जामन्त्री दीपक खड्काको बूढानीलकण्ठस्थित निवासको समेत मुचुल्का उठाएको छ ।

गत भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा देउवा, प्रचण्ड र खड्काको घरमा पैसाका थुप्रो जलेको भनेर भिडियो बाहिरिएको थियो । खड्काको घरबाट पैसा फालेको भिडियो समेत सार्वजनिक भएको थियो ।

बूढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली रुपैयाँ (हजार/पाँच सयका नोट) जलेको टुक्राहरू भेटिएका थिए ।

देउवा निवास बुढानीलकण्ठ

देउवाको घरमा पैसा राख्ने सुरुङ समेत भेटिएको दाबी प्रत्यक्षदर्शीले गरेका थिए । तर, देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गर्दै पैसा राख्ने सुरुङ नभएर अन्डरग्राउन्ड पानी ट्याङ्की पुरेको दाबी गरेका थिए ।

प्रचण्डको निवासमा पैसा राख्न प्रयोग गरिने सेफहरू फोडिएको र डढेको भनेर भिडियो भाइरल बनेका थिए । सामाजिक सञ्जालमा जलेको नोटका तस्वीरहरू सार्वजनिक भएका थिए ।

विभागका एक उच्च अधिकारीका अनुसार देउवा, ओली, प्रचण्ड र खड्काको घरमा पुगेर मुचुल्का गर्दा केही डढेका नोटबाहेक केही भेटिएको छैन ।

‘हाल मुचुल्का गरेका प्रमाणले सम्पत्ति शुद्धीकरणमा दोषी करार गर्न सकिँदैन,’ स्रोतले भन्यो, ‘अब उहाँहरूलाई बयान लिने, उहाँहरूको अन्य जायजेथा सम्पत्ति, सार्वजनिक पदमा बसेका बेला आम्दानी भएका सम्पत्ति, बैंक खातामा जम्मा भएका विवरण लगायत संकलन गर्ने/नगर्नेबारे माथिल्लो तहसँग समन्वय भइरहेको छ ।’

सुशीला कार्कीले प्रधानमन्त्री हुनुअघि नेताहरू भ्रष्ट रहेको र सत्तामा पुगेपछि खुलमखुला भ्रष्टाचार हुँदै आएको भनेर दिएको अभिव्यक्ति र हालै नेताहरूका घर/घरमा सम्पत्ति शुद्धीकरणको टोली पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

जेनजीका अगुवाहरूले पनि नेताहरूको अवैध सम्पत्ति राज्यको नाममा ल्याउन सके हाल विध्वंश बनाइएका सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायतका सरकारी भवनहरू पुनर्निर्माण गर्न पुग्ने बताइरहेका छन् ।

अर्थमन्त्री रामेश्वर खनालले अब विभागलाई अनुसन्धान अगाडि बढाउन कसरी निर्देशन दिन्छन् ? त्यसले पनि थप अनुसन्धानको बाटो खुल्ने विभागका अधिकारी बताउँछन् ।

‘नेताका घरमा पैसाको उड्दा समेत छानबिन नहुने, तर उजुरीकै भरमा अन्यको सम्पत्ति शुद्धीकरणमाथि छानबिन गर्नु न्यायिक हिसाबले पनि बराबर नहुने देखिएपछि माथिकै निर्देशनमा मुचुल्का उठाउन गएका हौं,’ विभागका एक अधिकृतले लोकान्तरसँग भने, ‘साँच्चिकै नेताहरूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्ने हो भने सरकारले बोल्ड निर्णय लिनुपर्छ र त्यही अनुसार टोली परिचालन गर्नुपर्छ ।’

ओली निवास बालकोट

ती अधिकृतका अनुसार सम्पत्ति शुद्धीकरणको अनुसन्धान सामान्य छैन । यसका लागि त्यही अनुसार अनुसन्धान टोली आवश्यक पर्छ । बैंक तथा वित्तीय संस्थाले पनि मागेको विवरण उपलब्ध गराउनुपर्छ ।

नेता र उनीहरूको तीनपुस्तेका नाममा राखिएका जग्गा जमिनको विवरण मालपोत र नापीले दिएर विभागलाई सहयोग गर्नुपर्छ ।

स्रोतले भन्यो, ‘बाहिर आक्रोशित भीडको मुख थुन्न तत्कालका लागि मुचुल्का गर्न पठाउने, तर अनुसन्धान गम्भीर ढंगले नहुने हो भने राम्रो हुँदैन । मुचुल्का अघि बढेपछि त्यसको अनुसन्धान टुंगोमा नपुर्‍याए त्यसले आगामी दिनमा विभागले गर्ने अन्य अनुसन्धान समेत प्रभावकारी हुँदैन ।’

ती अधिकृतका अनुसार मुचुल्का तयार गरेर विभागले अर्थ मन्त्रालयलाई जानकारी गराएको छ ।

विभागका महानिर्देशक कृष्णप्रसाद मैनालीले मुचुल्काको बारेमा अर्थसचिव घनश्याम उपाध्यायलाई जानकारी गराएका छन् । विभागको आगामी अनुसन्धान कसरी अगाडि लैजाने भन्नेबारे अर्थमन्त्री खनालबाट आदेश भएपछि अघि बढ्न उपाध्यायले मैनालीलाई सुझाएका छन् ।

अर्थमन्त्री खनालले यो सरकार भ्रष्टाचार नियन्त्रणका लागि निर्मम भएर लाग्ने बताए । उनले भने, ‘जेनजीको माग पूरा गर्न भ्रष्टाचार नियन्त्रणको कमिटमेन्ट अनुसार काम गर्छौं ।’

अर्थमन्त्री खनालले नेताहरू माथिको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान ६ महिनाभित्रै टुंगोमा पुर्‍याइने बताए ।

‘पहिला हामी प्रमाण संकलन गर्छौं । प्रमाणले पुग्यो भने उहाँहरूमाथि कारबाही अघि बढ्छ । प्रमाणविनै कारबाही गर्ने कुरो आउँदैन । ६ महिनाभित्र कारबाहीको टुंगो लगाउँछौं ।’

salt training

कमेन्ट गर्नुहोस्