२४ जेठ २०८३, आइतबार

नवरात्रको पाँचौं दिन- स्कन्दमाताको पूजा आराधना गरिँदै

असोज १०, २०८२
काठमाडौं
नवरात्रको पाँचौं दिन- स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको पाँचौं दिन आज दशैँघर वा पूजा कोठामा ९ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । 

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । 

नवरात्रको पहिलो दिन असोज ६ गते दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौंको जमरा राखिएको थियो ।

त्यसैदिन घटस्थापना गरिएको स्थानमा ९ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । 

दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । यस्तै, चौथो दिन बिहीबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

नवरात्रका ९ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । 

९ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ । 

दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै ९ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्