२८ असार २०८३, आइतबार

चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि ‘ट्राफिक वाक’

असोज १२, २०८२
काठमाडौं
चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि ‘ट्राफिक वाक’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलको संयुक्त आयोजनामा चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि आइतबार ‘ट्राफिक वाक’ कार्यक्रम भएको छ । 

‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित काठमाडौंको रानीपोखरीबाट रणोद्धिप, भद्रकाली, सिंहदरबार हुँदै रामशाहपथसम्म विभिन्न जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गर्दै जनपद प्रहरी ट्राफिक प्रहरी र महानगर प्रहरी बलको विशेष र्‍याली भएको थियो । 

र्‍याली प्रदर्शनपश्‍चात् काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । 

कार्यक्रमका काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वलाई सुरक्षित र दुर्घटनारहित बनाउनका लागि ट्राफिक नियमको पालना गरेर सभ्य समाजको निर्माण गर्नमा सबैले प्रतिबद्ध रहनुपर्ने बताए । त्यसका लागि आजको कार्यक्रम लाभदायी हुने समेत उल्लेख गरे । 

कार्यक्रमका हृदयरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले देशको वर्तमान परिवेशमा पनि चाडपर्वको समयमा यस्तो कार्यक्रम आयोजना गरिनु समाजका लागि प्रशंसनीय रहेको बताए । 

साथै, उनले चाडपर्वको बहानामा कोही कसैले पनि मादक पदार्थ सेवन गर्ने, तीब्र गतिमा सवारी गुडाउने तथा लागूपदार्थको सेवन गर्ने कार्य गर्नु हानिकारक हुने बताए । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अहिलेको परिस्थितिमा विभिन्न अभावसँग जुध्दै ट्राफिक व्यवस्थापनमा खटिरहेको र सडक प्रयोगकर्ताको सुरक्षित यात्राका लागि ट्राफिक प्रहरी प्रतिबद्ध रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्