२४ जेठ २०८३, आइतबार
सरकारको काम र चुनावी तयारीबारे वार्तालाप

हामी चुनावमा जादैनौं भनेर अड्डी लिए भने दलहरूको भविष्यमा प्रश्न चिह्न लाग्छ– मन्त्री सिन्हा [अन्तर्वार्ता]

'आन्दोलनको समयमा धेरै कुरा विचार गर्नुपर्ने भएकाले पहिला आयोगले छानबिन गरोस् भनिएको हो'
असोज १२, २०८२
काठमाडौं
हामी चुनावमा जादैनौं भनेर अड्डी लिए भने दलहरूको भविष्यमा प्रश्न चिह्न लाग्छ– मन्त्री सिन्हा [अन्तर्वार्ता]

सर्वोच्च अदालतको काबिल न्यायाधीशको परिचय बनाएका अनिलकुमार सिन्हा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा तीन मन्त्रालयको जिम्मेवारीमा छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सरकारमा कानून मन्त्रालयको समेत जिम्मेवारी लिएका सिन्हा अध्यादेशमार्फत देश चलाउने कुराको विरोधी हुन् । मन्त्री सिन्हा मूलधारका राजनीतिक दलको सहभागिताविना चुनाव हुन नसक्ने धारणा राख्छन् । 

के सरकारले मूलधारका राजनीतिक दललाई चुनावमा भाग लिने वातावरण बनाएको छ ? के कस्ता अध्यादेशहरू आउँदैछ ? यी लगायत समसामयिक विषयमा आइतबार मन्त्रिपरिषद् बैठक शुरू हुनुअघि सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लोकान्तरका लागि सुशील पन्त र अजय अनुरागीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :​

तपाईंलाई न्याय क्षेत्रमाइन्टिग्रिटी भएको न्यायाधीशको रूपमा आममान्छेले चिन्थे । अपर्झट बनेकोसरकारमा मन्त्री बन्ने अवसर आयो । प्रस्ताव आइसकेपछि तपाईंलाई यो डिसिजन गर्न कति समय लाग्यो?कुन परिस्थितिमा मन्त्री बन्नुभयो?

सबैभन्दा पहिले त देशको घटनाक्रम यसरी विकसित भयो कि जेन-जीको एउटा शान्तिपूर्ण आन्दोलन शुरू भएको थियो । उहाँहरूले सानो एजेन्डाबाट शुरू गर्नुभएको हो । उहाँहरूलाई सुशासन चाहिएको थियो । भ्रष्टाचारमुक्त सरकार हुनुपर्‍यो भन्नुभएको थियो । परिवर्तन खोजिराख्नुभएको अवस्था थियो ।

परिवर्तन पनि फेरि सबै सकारात्मक परिवर्तनको कुरा थियो । कुनै राजनीतिप्रेरित परिवर्तन उहाँहरूले माग्नुभएको थिएन । यस्तो बेलामा उहाँहरूप्रति जुन प्रकृतिबाट व्यवहार भयो, त्यो व्यवहारले मलाई पनि एकातिर त साह्रै दुःख लाग्यो, अर्कोतिर केही क्रोध पनि आयो ।

त्यही बेलामा यी घटनाक्रमहरू भए । धेरै जनाले सहादत पनि प्राप्त गर्नुभयो । नेपालकै सम्पत्तिहरू नष्ट भएर गए । जेन-जीको एउटा उद्देश्य लिएर हिँडेको समूहले विध्वंश गरेको मान्न म तयार छैन । त्यो बीचमा भीडभाडमा दुई-चार जना पर्नुभयो होला, उहाँहरू पनि आवेशमा आएर, उत्तेजनामा केही गर्नुभयो होला । तर, आपराधिक प्रवृत्ति, आपराधिक मनसाय उहाँहरूले व्यक्त गर्नुभएको जस्तो मलाई लागेको थिएन ।

अब यस्तो अवस्थामा एकाएक सम्माननीय प्रधानमन्त्रीज्यूको नियुक्ति भयो । सम्माननीय सुशीला कार्कीज्यूसँग मैले न्यायपालिकामा प्रवेश गर्दाखेरि नै शपथ लिएको हुँ । त्यो शपथलाई धेरै महत्त्वको रूपमा हेर्ने गरेको छु । उहाँको अगाडि लिएको शपथलाई नै हृदयंगम गरेर मैले आफ्नो पूरै कार्यकाल काम गरेँ ।

null

सम्पूर्ण काम गर्दा मैले निस्वार्थ भावले काम गरेको छु । कतिपय अवस्थामा मेरो भनाइ वा कदमले कसैलाई दुःख लागेको हुन सक्छ ।

मुद्दामा जीत–हार स्वाभाविक हुन्छ । कसैले जित्छ, कसैले हार्छ । सबैलाई चित्त बुझाउने काम सधैं सम्भव हुँदैन । तर, मैले कहिल्यै पनि व्यक्तिगत स्वार्थ राखिनँ, राख्ने प्रयत्न पनि गरिनँ ।

त्यस्तो प्रवृत्ति भएका व्यक्तिहरूलाई मैले छेउमा पनि आउन दिइनँ । न्यायपालिकामा काम गर्न पाएको अनुभवले मलाई ठूलो सन्तुष्टि दिएको छ ।

बीचमा केही घटना भए— हड्ताल जस्ता कुराहरू, जसलाई मैले न्यायपालिकामा हुन नहुने कुरा भनें । जनताले दुःख पाए, त्यो पनि सत्य हो । ती विषय आफ्नै ठाउँमा छन् ।

त्यसैबीच, सम्माननीयज्यूले एक–दुई पटक फोन गरेर तथा सन्देश पठाएर भन्नुभयो— 'तपाईंले केही जिम्मेवारी लिनुपर्छ, हाम्रो टीमलाई सहयोग गर्नुहोस् । जेन–जीले उठाएका महत्त्वपूर्ण विषयहरूलाई कार्यान्वयनमा कसरी लैजाने भन्नेबारे योगदान गर्नुपर्छ ।'

बिहान कुरा भएको थियो, बेलुकादेखि नै मलाई 'अब तपाईंले जिम्मेवारी लिनुपर्छ' भन्नुभयो ।

मलाई कुन किसिमको जिम्मेवारी दिने भन्ने प्रस्ट थिएन । त्यसैले मैले अनुरोध गरें— 'मैले बुझ्ने, अनुभव भएको क्षेत्रमा मात्र जिम्मेवारी दिनुहोस् । नबुझेको क्षेत्रमा जिम्मेवारी लिन मलाई असहज हुन्छ ।'

त्यसपछि उहाँले उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था र कानून मन्त्रालय हेर्न प्रस्ताव गर्नुभयो ।

'तपाईं मन्त्रिमण्डलमा बसेर यो चुनौती लिनुस्' भन्नुभयो । त्यसपछि नै जेन–जीका मुद्दालाई 'गुड कज' ठान्दै त्यही भावनाअनुसार काम गर्ने मनसायले म यो पदमा प्रवेश गरेको हुँ ।

सरकारको मुख्य उद्देश्य त फागुन २१ मा चुनाव गर्ने भन्ने नै हो । तर,बाहिर अझै पनि संशय छ— सरकारले पहल गरे पनि फागुनमै चुनाव हुन्छ भन्ने विश्वास धेरैमा देखिँदैन । तपाईंहरूले कसरी आश्वस्त पार्न सक्नुहुन्छ?

यो अत्यन्तै महत्त्वपूर्ण विषय हो । चुनाव भन्नाले केवल मतदान गराउने मात्र होइन, जनताले त्यसलाई आत्मसात पनि गर्नुपर्छ ।

संविधानले बहुदलीय प्रणालीलाई अपनाएको हुँदा दलहरूको समर्थन आवश्यक छ । दललाई बाहिर राखेर, निषेध गरेर वा प्रतिबन्ध लगाएर कसैले चुनाव गर्छु भन्छ भने त्यो लोकतन्त्रमा सम्भव हुँदैन ।

अहिलेसम्म सबै दलहरूले पछिल्ला घटनालाई 'यो हुन नहुने कुरा भयो' भनेर स्वीकार गरेका छन् । उनीहरूले पनि अर्को निकास भनेको द्वन्द्व होइन भन्ने बुझेका छन् । मैले देखेअनुसार सबै दलहरू देशलाई माया गर्छन् । विवाद आउनुको कारण केही व्यक्तिको कार्यशैली वा काम गर्ने तरिका मात्र हो ।

मलाई लाग्छ, तत्कालै एउटै धारमा आउन कठिन भए पनि आन्तरिक छलफलका आधारमा प्रमुख दलहरू चुनावमा सहभागी हुनेछन् । जेन–जी आन्दोलन उठ्नुको पछाडि के कारण थियो भन्ने स्वीकार गरेर उनीहरू स्वःस्फूर्त रूपमा यसमा सामेल हुनेछन् ।

सरकार बनाउने कुरा भएकाले, उनीहरूका लागि पनि यो अवसर हो । जेन–जीका माग सम्बोधन मात्र होइन, राजनीतिक दलहरूको भविष्य पनि यसैसँग गाँसिएको छ । यदि उनीहरूले आन्दोलनलाई उपेक्षा गरेर चुनावमा सहभागी नहुने अड्डी लिए भने भविष्यमा उनीहरूको अस्तित्वमै प्रश्न उठ्छ ।

त्यसैले मलाई विश्वास छ, प्रमुख दलहरू अन्ततः चुनावमा आउनेछन् । तर, तयारी भने ठूलो चुनौती हो । धेरै पूर्वाधार जलेका छन् । सवारी साधनको अभाव छ । प्रहरीहरूको मनोबल पनि घटेको छ । प्रहरी भित्रैका केही कार्यका कारण सम्पूर्ण संगठन बदनाम भएको छ । यी सबै अवस्थाबाट माथि उठाएर हामीले चुनाव गर्नुपर्नेछ ।

null

चुनाव गराउने जिल्ला प्रशासन र निर्वाचन कार्यालयहरू नै जलेका छन् नि!

यो ठूलो चुनौती हो । तर, चुनौती भए पनि विकल्प छैन । तोकिएको समयमा चुनाव गर्नैपर्छ ।

तपाईंले भन्नुभयो,दलहरू आउँछन् । तर,अहिलेसम्म सरकारबाट दलहरूलाई औपचारिक आह्वान भएको देखिँदैन । प्रधानमन्त्रीको सम्बोधनमा पनि त्यस्तो अपिल थिएन नि!

हरेक कामको आफ्नै समय हुन्छ । अहिले उपचारको समय हो । राजनीतिक दलहरूले के गर्दैछन् भन्ने कुरा अझै प्रस्टसँग सार्वजनिक भएको छैन । त्यसैले पहिले जेन–जी आन्दोलनका माग सम्बोधन गर्ने वातावरण बनाउनुपर्छ । यसका पनि आ–आफ्ना चरण हुन्छन् ।

त्यसपछि अरू काममा लागिन्छ । जस्तै, म अहिले आपूर्ति हेर्दैछु । दशैं नजिकिएको छ । आपूर्ति सुनिश्चित गर्नुपर्‍यो । यति ठूलो दुर्घटनापछि पनि आजसम्म आपूर्ति प्रणाली बिग्रिएको छैन । त्यो मेरो प्राथमिकता हो ।

अस्ति त्यत्रो हाइवे बन्द हुँदा पनि इन्धन आपूर्ति रोकिएन । ग्यासमा पनि समस्या आएन । पहिलेदेखिको स्टकले मात्र धानेको होइन, सीमित स्टक हुँदाहुँदै हामीले व्यवस्थापन गर्‍यौं । थप दुई दिन बन्द भएको भए ठूलो समस्या आउँथ्यो । त्यसैले हामीले प्राथमिकता तत्काल आपूर्ति र समन्वयमा राख्यौं ।

दलहरूसँग वार्ताको वातावरण बनाउन पनि यही प्राथमिकताअनुसार अघि बढिरहेका छौं । राष्ट्रपतिज्यूले दलहरूसँग वार्ता गर्नुभयो । अब अर्को तहमा फेरि वार्ता हुन्छ । त्यसैले वातावरण बनाइरहेको छौं । वार्ताबाट भागिएको होइन ।

अहिले फेरि नेताहरूलाई समात्ने, पासपोर्ट जफत गर्ने जस्ता हल्ला आएका छन् । यसले निर्वाचनको वातावरण झन् वातावरण बिग्रिँदैन ?

मैले माहोल बनाउनुपर्छ भनेको कारण त्यही हो । छलफलको वातावरण बनाऊँ । यदि कसैले भ्रष्टाचार गरेको छ भने त्यसलाई छुट्याएर हेर्नुपर्छ । तर, सरकारले उठाएको कुनै कदमले वातावरण बिग्रने डर पनि हुन्छ । त्यसैले हामी प्रचारमुखी काममा नलागी जनतामुखी काममा केन्द्रित छौं । तर, यस्ता कुरा धेरै प्रचारमा आएनन् । यी विषयमा जनता वा अन्यसँग प्रत्यक्ष संवाद गर्ने वातावरण बनाउन अझ सकिएको छैन, किनकि म अहिले प्रारम्भिक काममै व्यस्त छु । यही कारणले भेटघाटलाई केही समय रोकेर पहिले यी काम सकाउने प्रयत्नमा छु ।

कानून मन्त्रीको हैसियतले अध्यादेशमार्फत निर्वाचन ऐन संशोधन गर्नुभयो,जसले मतदाता अद्यावधिक गर्ने बाटो खोल्यो । अब थप अध्यादेश आउँछन्? अध्यादेशमार्फत नै शासन सञ्चालन हुन्छ कि भन्ने आशंका पनि छ नि !

म देश अध्यादेशमार्फत चलाउनुपर्छ भन्ने विचारको घोर विरोधी हुँ । त्यो पक्षमा म छैन । तर, चुनाव गर्न कानूनी व्यवस्थामा संशोधन अनिवार्य थियो । अहिले अध्यादेशबाहेक उपाय थिएन । चुनाव मात्र गरेर हुँदैन, त्यससँग सम्बन्धित अरू व्यवस्था पनि हुन्छन् । त्यसैले हामी अहिले अध्ययन गरिरहेका छौं । तीन–चार दिन मात्र भयो, तर कुन–कुन ठाउँमा संशोधन गर्नुपर्छ भन्नेबारे अध्ययन भइराखेको छ । जहाँ आवश्यक हुन्छ, त्यहाँ एड-हक आधारमा अस्थायी व्यवस्था गर्न सकिन्छ ।

त्यसो भए निर्वाचनसँग सम्बन्धित अध्यादेश मात्रै ल्याइन्छ?

मुख्यत: हो । तर, चुनाव भन्नाले भोट मात्र होइन, सहज वातावरण बनाउन बाटोघाटो जस्ता आधारभूत व्यवस्थाहरू पनि आवश्यक हुन्छन् । त्यसैले खाली एउटा विषय मात्र नभई, समष्टिगत रूपमा कुन–कुन ठाउँमा संशोधन गर्दा चुनाव सहज हुन्छ भन्ने कुरा अध्ययन भइराखेको छ । दशैंपछिको हप्तामा यस बारेमा थप जानकारी दिन सक्नेछु ।

null

यो सरकारको प्राथमिकता चुनाव हो कि नेताहरूको सम्पत्ति छानबिन?पूर्वप्रधानमन्त्रीप्रचण्डले त झुटा मुद्दा लगाउन सरकारले षड्यन्त्र गरिरहेको छ भन्ने आरोप लगाउनुभयो नि?

उहाँहरूले राजनीतिक रूपमा आफ्नो कुरा राख्नुभएको होला । त्यो राजनीतिक शब्दावली वा दस्तावेजमा राखिने कुरा हो । तर, अहिलेको सरकारले झुटा मुद्दा लगाउँदैन ।

तपाईंहरू ढुक्क हुनुस्— कसैलाई लक्षित गरेर झुटा मुद्दा हालिँदैन । तर, कसैले भ्रष्टाचार वा अपराध गरेको छ भने त्यसमा विनामुलाहिजा कानूनी प्रक्रिया अघि बढ्छ ।

छानबिन आयोग बन्छ?

छानबिन आयोगको विषयमा प्रक्रिया चलिरहेको छ । छलफल भइराखेको छ । एउटा आयोगले अहिले क्षतिको विषयमा छानबिन गरिरहेको छ । अब अर्को आयोग बनाउने कि नबनाउने भन्ने प्रश्न छ, किनकि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्थाहरू पहिले नै छन् । त्यसैले धेरै निकाय बनाउन उचित हुन्छ कि हुँदैन भन्ने कुरा पनि विचार गर्नुपर्छ । तथापि, हामीले यो विषयलाई गम्भीरतापूर्वक लिइरहेका छौं । तर, यसैमा लक्षित भएर मात्र आयोग बनाउने भन्ने होइन ।

nullसंवैधानिक निकायका पदाधिकारी हटाउनेबारे पनि कुरा भएको हो कि?

अहिले त्यसबारे मन्त्रिपरिषदबाट निर्णय हुन बाँकी छ ।

अस्ति गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई लिएर बाहिर टीकाटिप्पणी भइरहेको छ । खासगरी त्यो तोडफोडमा संलग्नलाई पक्राउ नगर्नू,आयोगको क्षेत्राधिकार हो भनिएको छ नि!

हो, अहिलेको स्थिति के छ भने आयोगले छानबिन शुरू गरिसकेको छ । त्यही भएर दुईवटा समानान्तर तरिकाबाट छानबिन गर्नुभन्दा एउटै निकायमार्फत अगाडि बढ्नु उपयुक्त हुन्छ ।

सबैजना नेपाली नै भएकाले भागेर विदेश जाँदैनन् । विदेशीको संलग्नता भए भागिसकेको अवस्थामा पनि समात्ने कानूनी व्यवस्था छ । तर, नेपालीहरू भोलि कानूनको दायरामा आउँदाखेरि छानबिन पूरा भएपछि मात्र कारबाही गर्नु राम्रो हुन्छ । त्यसैले हतारमा कुनै कदम चाल्नु हुँदैन ।

सबैभन्दा पहिले आधारभूत जानकारीहरू आउनु पर्छ । त्यसपछि सम्बन्धित निकायले थप छानबिन गर्ने बाटो खुल्छ । शुरूमा नै एकैचोटि कारबाही गरेर पछि छाड्नुपर्ने अवस्था आउनु राम्रो होइन । अहिले आन्दोलनको संवेदनशील समयमा धेरै कुरा विचार गर्नुपर्ने हुन्छ ।

यदि नियोजित अपराध भएका छन् भने त्यसको छुट्टै तरिकाले छानबिन हुन्छ । प्रहरीले पहिलेका अपराधबारे छानबिन गरिरहेका व्यक्तिहरू त्यहाँ संलग्न देखिए भने त्यसअनुसार कारबाही हुन्छ । तर, अन्य सबै विषयमा आयोगले छानबिन गरेपछि मात्र हामी अघि बढ्छौं ।

salt training

कमेन्ट गर्नुहोस्